विषादी अवशेषको सीमा निर्धारण
![विषादी अवशेषको सीमा निर्धारण](https://annapurnapost.prixacdn.net/media/albums/tarakari-bisadi-Nuwakot_20190610024112_JUbW9BvaoZ.jpg)
काठमाडौं : सरकारले दैनिक उपभोग हुने कृषिजन्य वस्तुमा जीवनाशक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गरेको छ। सरकारले निर्धारण गरेको यो सीमाभित्र रहेर विषादी प्रयोग गरी कृषिजन्य वस्तु उत्पादन र आयात गर्नुपर्ने भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालभित्र उत्पादन भएका र भारतसहित तेस्रो मुलुकबाट आयात हुने १० प्रकारका कृषिजन्य वस्तुको विषादी अवशेषको सीमा निर्धारण गरेको हो। अन्य मुलुकमा पनि दैनिक उपभोग्य वस्तुमा विषादी अवशेषको सीमा तोक्नुपर्ने व्यवस्था छ। नेपालले बल्ल तरकारी, फलफूल र चियामा तोकेको हो।
विभागकी महानिर्देशक डा.मनिता वैद्य जोशीका अनुसार फलफूलतर्फ केरा र स्याउ, तरकारीतर्फ करेला, भन्टा, बन्दा, काउली, भिण्डी, आलु, गोलभेंडा र चियामा यस्तो सीमा तोकिएको छ। ‘तोकिएको विषादीको परिमाण मात्रै प्रयोग गर्न पाइनेछ। सीमाभन्दा बढी प्रयोग भएका विषादीयुक्त तरकारीको बजारीकरण र आयातनिर्यात गर्न पाइने छैन्’, महानिर्देशक जोशीले भनिन्।
विभागले स्याउमा २७ र केरामा ४२ प्रकारका जीवनाशक विषादी अवशेषको अधिकतम सीमा तोकेको छ। यस्तै करेलामा एक, भान्टामा २१, बन्दामा ३५, काउलीमा १३, भिण्डीमा तीन, आलुमा ५५, गोलभेंडामा ७४ र चियामा १९ प्रकारको विषादीको अवशेषको अधिकतम मात्राको सीमा तोकिएको छ।
जोशीका अनुसार खाद्य गुणस्तरसम्बन्धी नियमन गर्ने अन्तर्राष्ट्रिय संस्था कोडेक्सले तयार पारेको आधारसँग मिल्ने गरी सीमा तोकिएको हो। विश्व व्यापार संगठन (डब्लूटीओ) सदस्य राष्ट्र भएकाले तोकिएको सीमाका बारेमा ६५ दिने सूचना (नोटिफिकेसन) अन्तर्राष्ट्रिय वेवमा प्रकाशित गरिसकिएको छ।
सरकारले निर्धारण गरेको यो सीमाभित्र रहेर विषादी प्रयोग गरी कृषिजन्य वस्तु उत्पादन र आयात गर्नुपर्ने भएको छ।
कोडेक्सले निर्धारण गरेको सीमाभित्र रहेर सीमा तोकिएकाले विश्व व्यापार संगठन सदस्य राष्ट्रबाट यो सूचनामाथि कुनै पनि प्रकारको दाबी नपरेकाले विभागले राजपत्रमा प्रकाशित गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई प्रस्ताव गरेको छ। मन्त्रालयले यो विषयमा राजपत्रमा प्रकाशित गरेपछि भदौ १५ गतेबाट राष्ट्रिय विषादी अवशेषको सीमा कार्यान्वयनमा आउने विभागले जनाएको छ। यसअघि विभागले पाउडर दूध, गेडागुडी, पिउने पानीसहित केही खाद्य वस्तुका पनि यस्तो सीमा तोेकेको थियो।
सीमा नतोकिँदा निर्यातकर्ता मुलुकले नेपालमा तरकारी तथा फलफूल निर्यात गर्दा विभिन्न प्रकारको झन्झटिलो प्रक्रिया पूरा गर्नुपरेको थियो। ‘सीमा तोकिएपछि निर्यातकर्तालाई पनि सहज हुन्छ’, जोशीले भनिन, ‘निर्यातकर्ता मुलुकले अबदेखि नेपालको विषादी अवशेषको सीमाबारे जानकारी लिएर त्यहीअनुसार तरकारी, फलफूल र चिया निर्यात गर्न पाउनेछन्।’
वैज्ञानिकरूपमा विषादी अवशेषको सीमा नतोकिएका कारण हालसम्म नेपालमा किसानले तरकारीलगायत खाद्यान्न, फलफूल र चियामा आफूखुसी परिमाणमा विषादीको प्रयोग गर्दै आएका छन्। भारतसहित तेस्रो मुलुकबाट आयात हुने यस्ता वस्तुको पनि वैज्ञानिकरूपमा नियमन गर्न सकिएको थिएन।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)