इङ्ल्यान्डका पूर्व कप्तान रोनी प्रशिक्षकको भूमिकामा
![इङ्ल्यान्डका पूर्व कप्तान रोनी प्रशिक्षकको भूमिकामा](https://annapurnapost.prixacdn.net/media/albums/roni-englang-footballer_20190807014525_NtIgxHZs5W.jpg)
लन्डन : इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान वेन रोनी प्रशिक्षकको भूमिकामा देखिने भएका छन्। ३३ वर्षीय रोनीलाई प्रशिक्षणको जिम्मेवारी सुम्पन इङ्ल्यान्डको च्याम्पियनसिप क्लब डर्बी काउन्टीले छलफल अघि बढाएको समाचारमा जनाइएको छ। रोनी हाल मेजर लिग सकर क्लब डीसी युनाइटेडमा आबद्ध छन्।
डीसी युनाइटेडसँग रोनीको सम्झौता अझै दुई वर्ष बाँकी छ। उनी अघिल्लो वर्षमात्र डीसी युनाइटेडमा आबद्ध भएका हुन्। रोनी आफैं पनि खेलाडी जीवन छाडेर प्रशिक्षकको भूमिकामा सक्रिय हुने योजनामा छन्। उनको भावना बुझेरै डर्बी काउन्टीले पनि छलफल अघि बढाएको हुन सक्ने अनुमान गरिएको छ।
रोनी र डर्बी युनाइटेडबीचको कुराकानी कति अगाडि बढ्यो भन्ने विषयमा भने केही खुलाइएको छैन। इङ्ल्यान्डकै पूर्वखेलाडी फ्रांक लाम्पार्ड यसअघि डर्बी काउन्टीका प्रशिक्षक थिए। तर, ४१ वर्षीय लाम्पार्ड यही सिजन डर्बी काउन्टी छाडेर इङ्लिस प्रिमियर लिग क्लब चेल्सीको प्रशिक्षक बनेका छन्।
गत साता खेलिएको मेजर लिग सकर अलस्टार खेलका क्रममा पनि रोनीले आफू प्रशिक्षकको भूमिकामा सक्रिय हुन इच्छुक रहेको बताएका थिए। ‘भविष्यमा मैले सक्रिय हुन चाहेको क्षेत्र पनि प्रशिक्षण नै हो। मेरा लागि त्यो भूमिका उपयुक्त पनि हुनेछ’, सञ्चारकर्मीद्वारा सोधिएको एक प्रश्नको जवाफमा रोनीले भनेका थिए।
त्यतिबेला उनले हाल आफू खेलाडीको भूमिकामै रमाइरहेको धारणा पनि व्यक्त गरेका थिए। ‘अहिले म खेलाडीकै भूमिकामा रमाएको छु तर, उपयुक्त समय आएपछि प्रशिक्षणमा सक्रिय हुनु नै मेरो लक्ष्य हो। हेरौं, समयले कहाँ पुर्याउँछ’, उनले भनेका थिए। डीसी युनाइटेडसँग रोनीले सन् २०२१ सम्मका लागि सम्झौता गरेका छन्।
डीसी युनाइटेडमा आबद्ध हुनुअघि रोनीले लगातार १३ वर्ष इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेलेका थिए। त्यसपछि उनी एक वर्ष एभर्टनमा आबद्ध भएका थिए। आफ्नो समयका चर्चित खेलाडी रोनीले एभर्टनबाटै सिनियर लेभलको व्यावसायिक फुटबल सुरु गरेका थिए।
डर्बी काउन्टीका अध्यक्ष मेल मोरिसले पनि रोनीसँग छलफल भइरहेको बताएका छन्। ‘रोनीसँग छलफल भइरहेको छ। उनी क्लबमा आउने विषयमा म आशाबादी छु। यस विषयमा थप केही बोल्न चाहन्न। अहिले हाम्रो सम्पूर्ण ध्यान टोलीलाई प्रभावकारी बनाउने कार्यमै केन्द्रित छ’, हडर्सफिल्ड टाउनविरुद्घको खेलअघि उनले भनेका छन्, ‘चलायमान विश्व फुटबलमा कुनै पनि निर्णय हुनुअघि त्यस विषयमा धेरै बोल्नु उपयुक्त हुँदैन।’
यसैबीच, डर्बी काउन्टीसँग थप छलफल गर्न रोनी पनि अमेरिकाबाट लन्डनतर्फ प्रस्थान गरिसकेको बताइएको छ। डर्बी काउन्टीमा आबद्घ भएमा रोनी खेलाडी र प्रशिक्षक दुबैको भूमिकामा सक्रिय हुनेछन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)