पहिरोले परिवार विस्थापित
बैतडी : बैतडीको सुर्नया गाउँपालिका–८ मल्लोढोलेमा पहिरो खस्दा एक घरपरिवार पूर्ण रूपमा विस्थापित भएको छ। गाउँ नै पहिरोको जोखिममा परेको छ। सतबाँझ श्रीभावर सडकखण्डअन्तर्गत ढोल्यामोडदेखि वडा कार्यालयसम्म खनिएको सडकमा पहिरो खस्दा स्थानीय अम्मरबहादुर बोहराको घरमा क्षति पुगेको स्थानीय प्रेमबहादुर बोहराले जानकारी दिए। ‘सडकमाथिबाट ठूलो पहिरो खसेको छ। एक परिवार पूर्ण रूपमा विस्थापित भएका छन्, अरू घर पनि जोखिममा परेका छन्’, उनले भने।
पहिरो खस्दा बोहराको घरभित्र रहेका अन्नपात नष्ट हँुदा बोहरा परिवार छिमेकीको घरमा बसिरहेको छ।
यस्तै, रामबहादुर बोहरा, वीरपल बोहरा, धौलसिंह बोहरा, जहरे बोहरा, घुम्रा बोहराको घर पहिरोको उच्च जोखिममा छ। सोही ठाउँको पूरै दलित बस्ती पनि पहिरोको जोखिममा रहेको स्थानीय भानबहादुर बोहराले बताए। उनले भने, ‘सडकबाट ठूलो पहिरो खसेको छ। ६० घरपरिवार पहिरोको जोखिममा छन्। भिरालो जमिन भएकाले पानी पर्नेबित्तिकै पहिरो बग्न सुरु हुन्छ।’
पहिरोले बगायो खानेपानी
बैतडीको दोगडाकेदार गाउँपालिका–८ बिसौना दलित बस्तीका बासिन्दालाई समस्या भएको छ। केही दिनअघि डोलमा खसेको पहिरोले खानेपानी पाइप बगाएपछि बिसौना दलित बस्तीमा खानेपानी अभाव भएको स्थानीय रामदत्त जोशीले बताए। उनले भने, ‘गाउँमा आउने खानेपानी पहिरोले बगाएपछि खोलाको दूषित पानी प्रयोग गर्न बाध्य भएका छौं।’
पहिरोले खानेपानी पाइप बगाएपछि ५० भन्दा बढी परिवार प्रभावित भएको जोशीले बताए। डोलबस्तीमा प्रत्येक वर्ष पहिरो खस्ने र घर तथा खेतीयोग्य जमिन बगाउने गरेको स्थानीय लोकेन्द्र चन्दले बताए। उनले भने, ‘पहिरोले यस वर्ष खानेपानी र गौराखलो बगाएको छ। प्रत्येक वर्ष खेतीयोग्य जमिन बगाउँदै आएको छ।’
डोलबस्तीमा २०१९ सालदेखि पहिरो खस्न थाले पनि बस्ती व्यवस्थापन हुन नसकेको उनले बताए। उनले भने, ‘राजा वीरेन्द्रको पालामा बस्ती सार्नुपर्ने निर्णय भए पनि कार्यान्वयन नहुँदा समस्या आएको हो।’
प्रतिक्रिया दिनुहोस !