सुध्रिएन कोसी अस्पताल
विराटनगर : विराटनगरस्थित कोसी अस्पतालमा बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङले आकस्मिक छड्के अनुगमन गरेको छ। शाखा अधिकृत मोहनलाल पनेरु नेत्रृत्वको टोली अस्पताल छिर्दा त्यहाँको अवस्था अस्तव्यस्त भेटिएको हो। अस्पतालमा चिकित्सकबाट लापरबाही हुने गरेको जनगुनासो त्यहाँको वातावरणले पुष्टि गरेको टोलीको भनाइ छ। बहिरंग विभागमा बिरामी उपचारको पर्खाइमा हुँदा विभागहरु प्रायः चिकित्सकविहीन् थिए। त्यहाँ एक/दुई जना मात्रै चिकित्सक भेटिए।
आकस्मिक कक्षमा समेत चिकित्सक थिएन। बिरामीले समयमा उपचार नपाएको गुनासो गरिरहँदा चिकित्सक भने निजी स्वास्थ्य संस्था र क्लिनिकमा व्यस्त रहेको पाइयो। सरकारी अस्पतालमा एकै पटक ठूलो संख्यामा चिकित्सक अनुपस्थित भेटिएपछि अनुगमन टोली नै आश्चर्यमा परेको थियो। टोलीले अस्पतालमा सुधार गर्नु पर्ने धेरै कुरा रहेको जनाएको छ।
खासगरी चिकित्सक र कर्मचारीको लापरबाही र मनपरी रोक्न आवश्यक रहेको टोलीको सुझाव रहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रशासन कार्यालयका प्रवक्ता उमेश पाण्डेले बताए। उनका अनुसार ६० जना चिकित्सक कार्यरत अस्पतालमा एकै पटक ३९ जना चिकित्सक अनुपस्थित रहेका थिए। अस्पतालमा सरकार र अस्पताल विकास समितिबाट नियुक्ती पाएका विशेषज्ञसहित ६० जना चिकित्सक कार्यरत छन्। २५ जनालाई अस्पताल विकास समितिले नियुक्ती दिएको छ। नेपाल सरकारले १४ जनालाई करारमा राखेको छ।
चिकित्सकले अस्पतालको बहिरंग विभागमा बिहान ९ देखि दिउँसो २ बजेसम्म दैनिक काम गर्नुपर्ने नियम छ। तर ११ बजे आउने चिकित्सक १ नबज्दै निजी क्लिनिक पुग्ने गरेको अनुगमन टोलीले जनाएको छ। टोलीले सरकारी तलव खाएर निजी संस्थामा सेवा दिने गरेका चिकित्सकका कारण अस्पतालमा बिरामीले समयमा उपचार नपाएको, टाढाबाट उपचारका लागि आउने विरामीले पीडा भोग्नु परेको, उपचारमा सहुलियत हुँदाहुँदै सरकारी अस्पतालमा चिकित्सक नभेटिँदा बिरामीले निजी क्लिनिक र स्वास्थ्य संस्थामा महँगो पैसा तिरेर उपचार गराउन बाध्य हुनु परेको टोलीले जनाएको छ।
अस्पतालमा दैनिक १२ सयभन्दा बढी बिरामी उपचार र स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन्। चिकित्सकले राम्रो सेवा नदिएको गुनासोसँगै यसअघि साउन १३ गते पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा अनुगमन गरेको थियो। अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत कृष्णलाल यादव आफैं बिरामी बनेर पुगेका थिए। त्यसबेला पनि अस्पतालको बहिरंग विभागमा ९० प्रतिशत चिकित्सक अनुपस्थित रहेका थिए।
अधिकृत यादवले अस्पतालमा देखिएका बेतिथीका बारेमा मन्त्रालयमा जानकारी गराइएको र कारबाही प्रक्रिया अघि बढेको बताए। अस्पतालका बारेमा गुनासो आउने क्रम नरोकिएपछि प्रशासन कार्यालयले पनि मन्त्रालयले अनुगमन गरेको दुई साता वित्न नपाउँदै छड्के अनुगमन गरेको हो। तर अस्पतालमा पुरानो बेतिथी कायमै रहेको र सरकारी चिकित्सक एवं कर्मचारीको मनोमानी रहेको पाइएको जानकारी सहायक प्रजिअ पाण्डेले दिए। उनका अनुसार अनुगमनका बेला प्राप्त नतिजाले सरकारी चिकित्सक नसुध्रिएको पुष्टि भएको उनको भनाइ छ।
अस्पतालमा देखिएको बेथिती र भद्रगोल अवस्था तथा चिकित्सकको लापरबाही बारे अनुगमन टोलीबाट जानकारी पाएको पाण्डेले बताए। अनुपस्थित कर्मचारीमध्ये १६ जना अधिकृत स्तरका छन्। अनुगमनका बेला अनुपस्थित चिकित्सक र कर्मचारी बारे अस्पतालले जवाफ पठाएपछि कारबाही अघि बढाइने उनले जानकारी दिए। अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले अस्पतालमा नर्सिङ स्टाफसहित छ सय कर्मचारी कार्यरत छन्। बुढाथोकीले अस्पतालमा जानीजानी लापरबाही गर्ने कर्मचारीमाथि निगरानी बढाइएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !