व्यापारीको हत्या गर्न भारतबाट सार्पसुटर

व्यापारीको हत्या गर्न भारतबाट सार्पसुटर

विराटनगर : विराटनगरका खाद्यान्न व्यापारी जितु भनिने जितेन्द्र रायको हत्या गर्न भारतबाट सार्पसुटर झिकाइएको खुलेको छ । तर प्रहरीले अगाडि नै सार्पसुटरलाई पक्राउ गर्न सकेका कारण योजना भने सफल हुन पाएन । त्यही योजनामा नेपाल आएका भारतीय सार्पसुटर कुनालकुमार सिंहसहित पाँच जनाविरुद्ध शुक्रबार जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै मुद्दा दर्ता गरेको हो। 

भारत सितामढी थान बैरगानिया ग्राम पञ्चायतका २२ वर्षीय सिंहसहित अन्य चारविरुद्ध संगठित रूपमा हातहतियार खरखजनासहित आपराधिक षडयन्त्र उद्योग’ मा मुद्दा दर्ता गरिएको छ । अन्यमा विराटनगर महानगरपालिका– ८ का ३१ वर्षीय मन्नुकुमार गुप्ता, सर्लाही गोडैता नगरपालिकाका ५० वर्षीय हरिनारायण झा, मोरङको कटहरी गाउँपालिका–५ का ४३ वर्षीय मन्नुकुमार साह रौनियार र महोत्तरी जलेश्वर नगरपालिका–४ का २५ वर्षीय टिंकुकुमार झा रहेका छन्।

मुद्दा दर्ता गरिएकामध्ये मुन्नुकुमार साह रौनियार र टिंकुकुमार झा फरार छन् । उनीहरुलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । अरु तीन जना यस अघि नै पक्राउ परिसकेका छन्।  

मुद्दा दर्ता भएपछि शुक्रबारनै प्रतिवादीहरूमध्ये सिंहको बयान लिन सुरु गरिएको छ । अन्यको बयान आइतबार हुने र प्रतिवादीको बयान सकिए सोही दिन थुनछेक बहस हुने अदालतका श्रेस्तेदार ईश्वरमणि ओझाले जानकारी दिए । उनका अनुसार थुनछेक बहसपछि न्यायाधीश कृष्णमुरारी शिवकोटीको इजलासले आदेश दिनेछ। 

पक्राउ परेका मुख्य अभियुक्त गुप्ताले पाँच लाख भारतीय रुपैयाँको सुपाडी दिएर विराटनगरमा खाद्यान्नको कारोवार गर्ने व्यापारी जितु भनिने जितेन्द्र रायलाई हत्या गर्न सार्पसुटर ल्याएको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।

 प्रहरीले सिंहलाई गत जेठ २७ गते २ थान पेस्तोल र त्यसमा लाग्ने ७ राउण्ड गोलीसहित विराटनगरस्थित एक होटलबाट पक्राउ गरेको थियो । पुरानो लेनदेन र रिसईबीका कारण गुप्ताले व्यापारी रायको हत्या गर्न खोजेको खुल्न आएको एसपी अधिकारीको भनाइ छ। 

पक्राउ परेका गुप्ता जवरजस्ती करणी मुद्दामा कैद भुक्तान गरेर छुटेका व्यक्ति हुन् । जवरजस्ती करणी मुद्दामा रायले फसाएका कारण हत्याको योजना बनाएको बयान उनले अनुसन्धानका क्रममा दिएको प्रहरीको भनाई छ । झा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरेका व्यक्ति हुन् । पुरानो रिसाईबीलाई लिएर गुप्ताले व्यापारी रायको हत्या गर्ने योजना झालाई सुनाएपछि झाले भारतबाट सार्पसुटर झिकाएको अदालतमा दर्ता गरिएको अभियोगपत्रमा उल्लेख छ।  गुप्ता पनि खाद्यान्नको कारोबार गर्ने विराटनगरका व्यापारी हुन् । एसपी अधिकारीले यस घटनामा जोडिएर फरार रहेका दुई जनाको खोजी भइरहेको बताए। 

यसरी बनेको थियो योजना 

प्रहरीका अनुसार व्यापारी राय हत्याको योजना भारतको सितामढीमा बनेको खुलेको छ । हत्या गर्ने योजना गुप्ताले सबैभन्दा पहिला सर्लाहीका हरिनारयण झालाई सुनाएका थिए । झा र गुप्ताको चिनजान कैद जीवन विताउँदा सुनसरी स्थित झुम्का कारागारमा भएको प्रहरीले जनाएको छ। 

प्रहरीकाअनुसार भारू पाँच लाख रूपैयाँ दिने हो भने सार्पसुटर झिकाएर काम फत्ते गरिदिने बचन झाले गुप्तालाई दिएको र त्यही योजना अनुसार उनीहरु अघि बढेको देखिन्छ । गुप्ता पाँच लाख दिन तयार पनि भए । त्यही योजना अनुसार नै हत्या गर्नकै लागि सार्पसुटर नेपालमा झिकाएको खुलेको एसपी अधिकारीले बताए ।  प्रहरीका अनुसार गत जेठको अन्तिम साता व्यापारी रायको हत्याको योजना बनेको खुलेको छ। 

हत्याको योजना बनेपछि २ थान पेस्तोल र ७ राउण्ड गोली लिएर सार्पसुटर कुनाल कुमार सिंह नेपाल आएका थिए । उनलाई कटहरीका मन्नुकुमार साह रौनियारले सहयोग गरेको प्रहरीले जनाएको छ । सिंह जेठ २६ गते बिहान सितामढीबाट नेपालको गौर आएका थिए।
सोही दिन बस चढेर साँझ विराटनगर बसपार्कमा आएको प्रहरीले जनाएको छ। 

प्रहरीकाअनुसार होटलमा बसेपछि भोलिपल्ट जेठ २७ गते बिहान ६ बजे व्यापारी रायको हत्या गर्न भन्दै पुग्छन् । त्यसदिन व्यापारी राय घरमा हुँदैनन् । राय घरमा नभेटिएपछि पुनः होटलमा फर्किएर उनीहरू गजलमा मस्ती गर्ने योजना बनाएर मदिराको नशामा नाचगानमा व्यस्त हुन्छन् । नाच्ने क्रममा सार्पसुटर कुनाल कुमार सिंहको कम्मरमा भिरेको अवस्थामा पेस्तोल देखिएको भन्दै होटलका कर्मचारीले प्रहरीलाई जानकारी गराउँछन् । प्रहरीको टोलीले पेस्तोलसहित उनलाई पक्राउ परेपछि रौनियार भने त्यहींबाट फरार भएका हुन् । पक्राउ परेकाहरुलाई गत मंगलबार नै प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक पनि गरिसकेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.