राजश्व संकलन निराशाजनक

राजश्व संकलन निराशाजनक

हेटौंडा : प्रदेश ३ मा प्रहरीले संकलन गर्ने राजस्व वर्षेनी घट्दै गएको छ। ३ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार ३ आर्थिक वर्षको बीचमा राजस्व संकलनमा ४० प्रतिशत बढी गिरावट आएको छ।

आर्थिक वर्ष २०७३/७४ मा ३ नम्बर प्रदेश अन्तर्गत उपत्यका बाहेक १० जिल्लाबाट प्रहरीले २८ करोड ६५ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। प्रदेश प्रहरी प्रमुख शेरबहादुर बस्नेतले आर्थिक वर्ष २०७४/७५ मा १३ करोड ५८ लाख ७४ हजार र २०७५/७६ मा १२ करोड ९३ लाख १० हजार पाँचसय मात्र राजस्व संकलन भएको जानकारी दिए।

वर्षेनी प्रहरीले उठाउने राजस्व घट्दै जानुमा सडक प्रयोगमा आएको सचेतना मुख्य कारण भएको उनको भनाइ छ। ‘सवारी नियम सम्बन्धमा विद्यालय सम्पर्क कार्यक्रम र समुदाय सचेतना कार्यक्रमले पनि सकरात्मक प्रभाव पारेको छ’, बस्नेतले भने, ‘हामीले राजस्व संकलनलाई मात्र प्राथमिकता नदिइ चालकमा सचेतना र प्रशिक्षण कक्षा सञ्चालन गरेका छौं।’

राजस्व संकलन घट्दै गए पनि वर्षेनी सवारी दुर्घटनासँगै मृतकको संख्या भने बढ्दो छ। आर्थिक वर्ष २०७३/७४ प्रदेशभित्र सवारी दुर्घटनामा परी ४ सय ७७ जनाको मृत्यु भएकोमा २०७४/७५ मा ४ सय ७० र २०७५/७६ मा ४ सय ७९ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ।

३ आर्थिक वर्षमा २ हजार १ सय ८ वटा सवारी दुर्घटना भएको प्रदेश कार्यालयले जनाएको छ। यस अवधिमा सवारी दुर्घटनामा परी ४ हजार ६ सय जना घाइते भएका थिए। यहाँका १० जिल्लामध्ये प्रदेश राजधानी रहेको मकवानपुरमा जघन्य अपराधका घटना, लागुऔषध उत्पादन र कारोबार सबैभन्दा बढी हुने गरेको प्रहरी तथ्यांक छ। प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा मकवानपुरमा २ सय ५८ वटा जघन्य अपराधका घटना भएका छन्। दोस्रो नम्बरमा रहेको चितवनमा २ सय ११ र धादिङमा १ सय ३ वटा घटना भएका छन्। कार्यालयको तथ्याङ्क अनुसार रसुवामा सबैभन्दा कम ११ वटा घटना भएका छन्। लागुऔषध उत्पादन र कारोबारमा पनि मकवानपुर पहिलो नम्बरमा रहेको छ।

मकवानपुरबाट आर्थिक वर्ष २०७५/७६ मा ३ हजार ६ सय २४ किलो ७ सय ग्राम गाँजा, चरेश, खैरो हिरोइन र अफिम प्रहरीले बरामद गरेको छ। दोस्रो नम्बरमा रहेको धादिङबाट १ हजार ७ सय ५८ किलो र चितवनबाट १ हजार ४ सय १६ किलो यस क्षेत्रमा उत्पादन भएको लागुऔषध गाँजा, चरेश, खैरो हिरोइन र अफिम बरामद गरेको प्रदेश प्रहरी प्रमुख बस्नेतले बताए। कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ मा रामेछापमा भने लागुऔषध बरादमको परिणाम शुन्य रहेको छ। आर्थिक वर्ष २०७५/७६ मा लागुऔषध सम्बन्धी प्रदेशका १० जिल्लामा ३ सय ९ वटा मुद्दा दर्ता भएकोमा ४ सय ८५ जना पक्राउ परेका छन्। तीमध्ये ३९ जना विदेशी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.