चमेरो महिमा

चमेरो महिमा

पोखरा : चमेरो स्तनधारी प्राणी हो। स्तनधारीमा उड्न सक्ने एक मात्र प्राणी पनि हो चमेरो। चमेराको बासस्थान रूख, गुफा हुन्। यीमध्ये कुनै प्रजाति रूखमा झुन्डिएर बस्छन् त कुनै गुफामा झुन्डिएर बस्छन्। पोखराको बाटुलेचौरका दुई गुफामध्ये एकमा धेरै चमेरो बस्छन्। त्यसैले यस गुफाको नाम नै चमेरो गुफा राखिएको छ। अर्को गुफाको नाम महेन्द्र गुफा हो।

विश्वमा १४ सय ६ प्रजातिका चमेरा पाइन्छन्। नेपालमा पछिल्लो तथ्यांक अनुसार ५६ प्रजातिका चमेरा पाइने चमेरामा अनुसन्धान गरिरहेका युवा सञ्जीव बानियाँले बताए। पृथ्वीको खाद्यचक्र, पारिस्थितिक प्रणाली, वातावरण सन्तुलनका लागि चमेरो निकै महŒवपूर्ण प्राणी हो। चमेराले कीराहरू खाएर बालीनाली जोगाउन सहयोग पुर्‍याउँछ। राति सक्रिय हुने चमेराले रातमा कीरा खान्छ र बालीनालीलाई नोक्सान हुनबाट जोगाउँछ। बालीनाली र वनस्पतिका लागि मात्र होइन मानवका लागि हानिकारक विषालु कीरा पनि चमेरोले खाइदिन्छ। यसैले चमेरा स्पेस कन्ट्रोल गर्ने प्राणीको रूपमा पनि चिनिन्छ।

चमेरोको बारे अनुसन्धान र संरक्षको क्षेत्रमा लामो समय काम गरिरहेका मेक्सिकोका पर्यावरणविद् डा. रोड्रिगो मेडेलिनका अनुसार एउटा चमेरोले एक रातमा दुई हजारदेखि ६ हजारसम्म कीरा खाएर बाली संरक्षणमा महŒवपूर्ण भूमिका खेल्छ। चमेरोले बाली नाली संरक्षण मात्र गर्दैन, लोप हुने अवस्थाका ट्रपिकल र सबट्रपिकल क्षेत्रका जंगल, वनस्पतिको संरक्षण पनि गर्छ। चमेरोले फलफूल, जंगलमा पाइने विभिन्न वनस्पति, रूखका फल खाएर बीउ छरेर संरक्षणमा सघाउने उनी बताउँछन्।

चमेरो मानव जीवनका लागि निकै उपयोगी प्राणी हो। यसले पर्यावरण संरक्षणमा मात्र होइन, हाम्रो खाद्यान्न, फलफूलका बोटहरूको संरक्षणमा पनि महŒवपूर्ण भूमिका खेल्छ। संसारमा पाइने चमेरामध्ये ७० प्रतिशत मांसाहारी र ३० प्रतिशत चमेरा शाकाहारी रहेको बताइन्छ। मांसाहारी चमेराले कीरा, फट्यांग्रा, माछा, भ्यागुता पनि खान्छ। फलाहारी चमेरोे फलफूल खाएर जीवन निर्वाह गर्छ। चमेरोको खुट्टा अति सानो हुन्छ। उसको शरीर, पखेटा र खुट्टाका कारण जमिनबाट उडान भर्न सक्दैन। त्यसैले चमेरो रूख, गुफालगायतमा ठाउँमा टाउको तल पारेर बस्ने गर्छ। यसरी बस्दा आफूलाई हुने असुरक्षा पनि उसले सजिलै थाहा पाउँछ र सुरक्षित उपाय खोज्छ।

आकारमा मांसाहारी चमेरोको तुलनामा फलाहारी चमेरो अलिक ठूलो हुन्छ। चमेराको बासस्थान विनाश हुँदै जाँदा र वातावरण अनुकूल नहुँदा चमेराहरूको बसाइ बढी मात्रमा गुफामा बढ्न थालेको छ। चमेरोको मल प्रांगारिक मलका लागि उत्कृष्ट मानिन्छ।

चमेरोले अन्धकारमा बाटो पहिल्याउनका लागि सुन्ने क्षमताको पनि प्रयोग गर्छ। आँखा मात्र होइन राति उडान भर्दा सुन्ने तीक्ष्ण क्षमतालाई पनि उसले उपयोग गर्छ। चमेरोेले विभिन्न किसिमको अल्ट्रासोनिक वेभ्स निकाल्छ। यसले आफ्नो सिकार पत्ता लगाउन र सिकार गर्न सहयोगी हुन्छ। चमेरोले सय किलोहर्जदेखि दुई सय किलोहर्जसम्मको फ्रिक्वेन्सीहरू पत्ता लगाउँछ। जसलाई हामीले सुन्न सक्दैनौं। उसले उड्दा निकाल्ने आवाज पनि हामीले सुन्न सक्दैनौ।

अँध्यारोमा सिकार गर्दा चमेरोले उडेको समयमा अल्ट्रा सिग्नल पठाउँछ। यसले सिकार गर्न सहज हुन्छ। अगाडि कुनै वस्तु छ भने उक्त सिग्नल फर्केर आउँछ। यसरी उसले अगाडि कुनै अवरोध नभएको निर्धारण पनि गर्न सक्छ। चमेरोको पखेटाहरू मानिसको हात र पाखुरासँग मिल्दो हुन्छ। चमेरोहरू बिभन्न रङका हुन्छन्। विशेषत यिनीहरू कालो र खैरो रङका हुन्छन्। पहेलो चम्किलो, चाँदी, सुन्तलालगायतका विभिन्न रङका चमेरा पनि पाइन्छन्।

चमेरो ४१ वर्षसम्म बाँचेको रेकर्ड छ। चमेरा जातिमा विश्वकै सबैभन्दा ठूलो प्रजाति जायन्ट गोल्डेन क्राउन्ड फ्लाइङ फक्स हो। अहिलेसम्म फेला परेको विश्वकै सबैभन्दा सानो प्रजातिको चमेरो भने बम्ल्बेबी ब्याट हो। वनजंगल जोगाउन, बीउबिजन परागसेचन फूलहरूको फर्टिलाइजेसन गर्न मद्दत गर्ने चमेरा जाडो मौसममा न्यानो स्थान खोज्दै बसाइसराइसमेत गर्छन्। एक दिनमा दुई सय ५० माइल्स उड्ने अनुसन्धानबाट देखिएको छ। ७० माइल्स प्रतिघण्टा उडान गर्न सक्ने चमेरो १० हजार फिट उचाइसम्म उडान भर्न सक्ने बताइन्छ।

पछिल्लो समयमा पोखरामा चमेराको बासस्थान जोखिममा पर्दै गएको छ। विशेष गरी रूखमा बस्ने चमेराको बासस्थान बजार क्षेत्रमा बस्ती विकाससँगै जोखिममा पर्दै गएका हुन्। तीन वर्ष अघिसम्म वन विज्ञान अध्ययन संस्थान पोखरामा अध्ययनरत विद्यार्थीका लागि अध्ययन र अनुसन्धानका लागि महŒवपूर्ण रहेको पोखराको छिनेडाँडाको चमेरोको बासस्थान अहिले त्यस क्षेत्रमा घर बन्ने क्रम बढेसँगै रूख कटान भएपछि बसाइ सरेका छन्।

सहरका बिजुलीको तारमा बस्ने क्रममा पनि चमेरा मर्ने गरेको चमेरामा अनुसन्धान गरेका युवा विद्यार्थी वसन्त शर्मा बताउँछन्। अध्ययनको क्रममा पर्वत जिल्लाको कुश्माको गुप्तेश्वर गुफा नजिकै बाँसघारीमा नेपालका लागि हालै नयाँ प्रजातिको ताइलोकपेरिस प्रजातिको चमेरा फेला पारेको पनि उनले सुनाए। यो प्रजातिको चमेरा बाँसमा बस्ने गर्छन्। त्यसैले यसलाई नेपालमा बाँसेचमेरा नाम दिइएको शर्माले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.