आफ्नै भाइले वृद्ध दम्पत्तिको हत्या गरेको खुलासा
बागलुङ : जिल्लाको पश्चिम बोबाङका वृद्ध दम्पति हत्यामा आफ्नै भाइको संलग्नता रहेको खुलेको छ।
भदौ २५ गते राति ढोरपाटन नगरपालिका ८ बोबाङको नौथरका ६८ वर्षीय भानबहादुर कामी र उनका ६० वर्षीया श्रीमती बीमा कामीको हत्या भएको थियो। प्रहरीले विभत्स हत्या गरेको अवस्थामा उनीहरुको शव फेला पारेको थियो। हत्याको आशंकामा ६१ वर्षीय मसाने बिक पक्राउ परेका हुन्।
भानबहादुरको शव घर नजिकैको मकै बारीमा र श्रीमति बीमाको शव घर भित्रै रक्ताम्मे अवस्थामा फेला परेको थियो। घटनापछि स्थानीय दिएको सूचना र प्रहरीले गरेको ६ दिनको अनुसन्धानबाट हत्यामा भाइ नै संलग्न भएको खुलेको जिल्ला बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए। घटनाबारे सूचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय गलकोट र जिल्ला सदरमुकामबाट समेत छुट्टाछुट्टै दुई टोली घटनास्थल पुगेर अनुसन्धान गरेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा स्थानीयले आफन्तबाटै हत्या भएको आंशका रहेको बताएका थिए। ‘अनुसन्धानका क्रममा भाइको घरमा एक कछौडी भात र मासु पकाएको तर नखाएको अवस्थामा फेला पा¥यौ’, भट्टले भने, ‘अन्ततः यही भात र मासु नै हत्यारा पत्ता लगाउने महत्वपूर्ण कडी बन्यो।’
मसानेले प्रहरीसँगको बयानमा भनेका छन्,‘मेरो जेठी बुहारीसँग दाइको छोराको लसपस भएको कुरा आइरहेकाले सम्झाउन भनेको तर प्रमाण देखा भने पछि त्यो दिन रिसले आँखा देखिन, अनी पालैपालो खुकुरी र बञ्चरोले हानिदिए।’
झगडाका क्रममा घरमै रहेकी भाउजूलाई खुकुरी झिकेर तीन पटक प्रहार गरेको र भाउजू चिच्याएपछि के भयो भन्दै गोठबाट आउँदै गरेका दाइलाई ढोकाको छेउमा दाउरासँगै रहेको बञ्चरोले प्रहार गरेको मसानेले बयानमा उल्लेख गरेका छन्।
मृतक भानेका छोरा र मसानेका बुहारीको अवैध सम्वन्ध भएको चर्चा चलेपछि स्थानीयले गाउँ भेला गरेर केही दिन मिलाएका थिए। तर, मसानेले त्यही बिषयमा निरन्तर रिसिवी साँधेर झगडा गर्ने गरेको स्थानीय बताउँछन्।
प्रतिक्रिया दिनुहोस !