बैतडीमा रामेश्वरम् र विश्वनाथ ज्योतिर्लिङ्ग स्थापना
बैतडी : बैतडीमा विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना हुने भएको छ। मानसखण्ड पूराणमा उल्लेख भए पाटन नगरपालिका ६ को चौखुडामा रामेश्वरम् र पाटन ३ को वनारसी धाममा विश्वनाथ ज्योर्तिलिङ्ग स्थापना गर्न लागिएको हो।
नेपालका प्रथम ऐतिहासिक जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले अध्ययन र अनुसन्धान गरेअनुसार ज्योतिर्लिङ्ग स्थापना गर्ने कार्य सुरु गरिएको रामेश्वर धाम संरक्षण समितिका संयोजक कमल बोहराले जानकारी दिए।
पातालभुवनेश्वर धामबाट बग्ने रामगंगा नदी (बगडी ) र सरयु नदी (सुर्नया)को संगम स्थलमा पाटन ६ चौखुडामा ज्योर्तिलिङ्ग स्थापना गरिने बोहराले बताए। यस्तै पौराणिक सरयु (सुर्नया) नदीको किनार पाटन नगरपालिका ३ स्थित बनारसी धाममा विश्वनाथ ज्योर्तिलिङ्ग स्थापना गरिने बोहराले बताए।
दुवै ठाउँमा ज्योर्तिलिङ्ग स्थापनाका लागि मन्दिर निर्माण गर्न जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यको उपस्थितीमा शिलान्यास समेत गरिएको छ। विश्वनाथ धाममा मन्दिर निर्माणका लागि धनीदत्त भट्ट र रामेश्वर धाममा मन्दिर निर्माणका लागि रामसिंह बिष्टको अध्यक्षतामा समिति समेत गठन गरिएको छ।
बैतडीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि ज्योर्तिलिङ्ग स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले बताए। पुराणमा लेखिएका कुराहरुको बारेमा जानकारी नहुँदा र यहाँका धार्मिक स्थलहरुको प्रचारप्रसार नहुँदा प्रसिद्ध धामहरु ओझेलमा परेका उनको भनाई छ।
उनले भने, 'हाम्रो समीपका तीर्थहरुको बारेमा जानकारी नहुँदा हामी लाखौं खर्च गरेर तीर्थाटन गरिरहेका छौं। आफ्नै आगनको तीर्थको हेला गरिरहेका छौं। त्यसैले पुराणमा उल्लेख गरिएका तीर्थहरुको खोजी गर्दा रामेश्वरम् र विश्वनाथ बैतडीमै भेटाएको छु। यी ठाउँमा ज्योतिर्लिङ्ग स्थापनाका लागि पहल सुरु गरेका छौं।'
यहाँका तीर्थहरुको महिमाका बारेमा पूराणहरुमा उल्लेख गरिएको भएपनि प्रचारप्रसारका अभावमा ओझेलमा परेका जगद्गुरुको भनाई छ।
प्रतिक्रिया दिनुहोस !