नेपाल–भारत बैठक : तितो मेट्ने पहल

नेपाल–भारत बैठक : तितो मेट्ने पहल

काठमाडौं : नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमार्फत दुई मुलुकबीचको सम्बन्धमा रहेको तिक्तता मेट्ने पहल भएको छ। काठमाडौंमा बुधबार सम्पन्न बैठकमा नेपाल र भारतबीच थाती रहेका समग्र विषयमा छलफल भएको हो।

नेपाल–भारतका समग्र विषय समेटिएका विभिन्न ८० बुँदामा माइनुट भएको परराष्ट्र सचिव शंकरदास बैरागीले बैठकपछि जानकारी दिए। माइनुटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले हस्ताक्षर गरेका छन्।

दुई पक्षबीच कार्यान्वयन भएका विषयमा सन्तुष्टि जाहेर गर्दैै बाँकी विषयमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेर प्रक्रिया अघि बढाउने सहमति भएको छ। दुई पक्षबीच रामायण र बुद्धिस्ट सर्किट तत्काल विकास गर्ने, दुईपक्षीय व्यापार सहज गर्न सीमा क्षेत्रमा पूर्वाधार र उपकरण थपिने, सीमामा बस्नेलाई डुबानको अनुभव नै हुन नदिने गरी काम गर्ने लगायतका विषयमा सहमति भएको छ। यस्तै खाद्य गुणस्तर र सुरक्षामा सहकार्यसम्बन्धी सहमति भएको छ। नेपालले हवाई मार्ग प्रवेशका लागि भारतसँग थप रुट माग्ने भएको छ।

दुईदिने भनिएको बैठक एकै दिनमा सफलतापूर्वक सम्पन्न भएको दाबी परराष्ट्र मन्त्रालयले गरेको छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय पक्षबाट विदेशमन्त्री जयशंकरले नेतृत्व गरेका थिए।

बैठकमा नेपाल र भारतबीच पाँच फरकफरक ‘क्ल्सटर’ बनाएर तीन दर्जनभन्दा बढी संयन्त्रले तयार पारेको विभिन्न विषयमा छलफल भएको थियो।

यसअघि प्रधानमन्त्रीस्तरीय भ्रमणका समयमा भएका समझदारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए।

छलफल राजनीति, सीमा सुरक्षा/सीमांकन, व्यापार/पारवहन, ऊर्जा/जलस्रोत र शिक्षा, संस्कृति र पर्यटनका साथै दुईपक्षीय सम्बन्ध र चासोका विषयमा केन्द्रित रहेको परराष्ट्रको विज्ञप्तिमा जनाइएको छ। बैठकमा १९५० को शान्ति तथा मैत्री सन्धिका विषयमा पनि छलफल भएको थियो। नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन ईपीजीकै सचिवालयमार्फत दुवै देशका प्रधानमन्त्रीलाई तत्काल बुझाइने भएको छ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार नेपाली पक्षले ईपीजी प्रतिवेदन समीक्षासँगै पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, माथिल्लो कर्णाली, गण्डक, सीमामा हुने डुबानलगायतका विषयलाई विशेष महŒव दिएको थियो।

यसअघि सहमति भएर अलपत्र परेका मुद्दामा पनि छलफल भएको छ। तर, ती सहमति के गर्ने भन्ने विषयमा निर्णय लिइएको छैन। सहमति रद्द गर्दा त्यसबाट पर्न आउने असरको आंकलन दुवै पक्षबाट हुन नसक्दा निर्णय हुन ढिलाइ भएको छ।

भारतले नेपाली सीमा नजिकसम्म साना पानीजहाज ल्याउन प्रयोग गरिरहेको ‘क्यानल’ को विषममा छलफल भएको सहभागीले बताए। बैठकमा दोस्रो सीमापार अन्तरदेशीय प्रसारण लाइन (न्यु) बुटवल–(न्यु) गोरखपुर निर्माणका विषयमा छलफल भएको छ। बैठकमा मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन, चौथो चरणको हुलाकी राजमार्ग र भूकम्प पुनर्निर्माणमा भएका प्रगतिबारे दुवै देशका उच्च अधिकारीले खुसी व्यक्त गरेका थिए।साथै कोसी उच्च बाँध र सुनकोसी कमला डाइभर्सन विवादलाई विज्ञ टोली गठन गरेर भए पनि समाधान गर्ने विषयमा छलफल भएको थियो।

आयोग गठनको २२ वर्षपछि २०७१ साउनमा तेस्रो बैठक बसेको थियो। दुई पक्षबीच त्यसपछिका सहमति र २०७३ कात्तिकमा दिल्लीमा भएको आयोगको चौथो बैठकले अघि बढाएको विषयमा छलफल भएको छ। परराष्ट्र सचिव र राजदूतको निगरानी संयन्त्रले गरेको कामको समीक्षा बैठकमा भएको छ।

संयमित जयशंकर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वास पात्र मानिएका एस जयशंकर विदेशमन्त्री भएपछि पहिलोपटक नेपाल आएका हुन्। नेपालमा जयशंकरको छवि खासै राम्रो छैन। २०७२ असोज १ मा विदेश सचिवका रूपमा नेपाल आउँदाको जस्तो हाउभाउ यसपटक देखिएन। त्यतिबेला उनले संविधान केही दिन रोक्न र सहमतिमा जारी गर्न पहल गरेका थिए। त्यो सम्भव नभएपछि भारतले आर्थिक नाकाबन्दी लगाएको थियो। त्यसैले उनीप्रति धेरै नेपाली नकारात्मक छन्।

बंगलादेशबाट आएका जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शंकरदास बैरागी, भारतका लागि राजदूत निलाम्बर आचार्य र भारतीय राजदूत मञ्जिवसिंह पुरीले स्वागत गरेका थिए। उनको यो भ्रमण नेपाल–भारतबीचको सम्बन्धमा रहेको तिक्तता चिर्न उपयोगी हुने बताइएको छ। जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

दुई चेक हस्तान्तरण, एक सहमति

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले यसअघि प्रतिबद्धता जनाएको २ अर्ब ४५ करोडको चेक बुधबार हस्तान्तरण गरेको छ। उक्त चेक भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ। भारतले एक खर्ब (२५ अर्ब अनुदान र ७५ अर्ब ऋण) सहयोग गर्ने घोषणा गरेबमोजिम रकम उपलब्ध गराएको हो। दूतावासका अनुसार हुलाकी मार्ग स्तरोन्नति तथा निर्माणका लागि नेपाललाई १ अर्ब २९ करोड रकम हस्तान्तरण गरिएको छ।

तराईको सडक स्तरोन्नतिका लागि भारतले नेपाललाई आठ अर्ब रुपैयाँ सहयोग गर्ने बाचा गरेको थियो। सोहीअनुरूप जयशंकरले किस्ताका रूपमा उक्त रकम हस्तान्तरण गरेका हुन्।

यसैबीच नेपाल र भारतबीच खाद्य सुरक्षा तथा गुणस्तरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। खाद्य प्रविधि तथा गुणस्तर विभागका महानिर्देशक मतिना जोशी वैद्य र भारतको खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरणका महानिर्देशक राजीवकुमार जैनबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो। यसले दुवै मुलुकको गुणस्तरमापनलाई मान्यता दिनेछ।

प्रधानमन्त्री ओली र जयशंकर भेट

भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्दै आपसी सम्बन्धबारे छलफल गरेका छन्। भेटमा दुईपक्षीय हित र समझदारीका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताए।

प्रधानमन्त्री ओली र विदेशमन्त्री जयशंकरले एक्लाएक्लै भेट गरी संविधान जारी गर्दाताकाको तिक्तता मेट्ने काम गरेका छन्। जयशंकरले ट्विट गर्दै नेपाल र भारतबीच गहन छलफल भएको प्रतिक्रिया दिएका छन्।

जयशंकर काठमाडौं उत्रेलगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। दुई पक्षबीच सीमा सुरक्षा, सहकार्य, विकास, राजनीतिक स्थायित्व, विमानस्थल सुरक्षा, विकास परियोजनालगायतमा छलफल भएको थियो।

भेटमा प्रधानमन्त्रीले ओलीले नेपाल राजनीतिक स्थायित्व कायम गर्दै विकास प्रक्रियामा अघि बढेको बताएका थिए। नेपालले विकास प्रक्रियामा छिमेकको साथ र सहयोगको अपेक्षा गरेको प्रधानमन्त्रीको भनाइ थियो। भारतीय सहयोगमा अघि बढ्ने भनिएका परियोजनामा ढिलाइ हुन नदिन सहकार्य गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो।

जयशंकरले नेपाल भारतको प्राथमिकतामा रहेको र यहाँको राजनीतिक स्थायित्वसँगै विकास भारतको चाहना रहेको स्पष्ट पारेका थिए। प्रधानमन्त्री ओलीले भारतको उच्च नेतृत्वलाई आफूहरूले स्वागत गर्न तयार रहेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमणको अपेक्षासमेत गरेको सन्देश पठाएका छन्। जयशंकरले कश्मीर मामिलामा नेपालको समर्थन खोजेका थिए। तर प्रधानमन्त्री ओलीले नेपाल असंलग्न परराष्ट्र नीतिमै रहेकोमा जोड दिएका थिए।

दिगो विकासमा सधैं सहयोगी : मोदी

विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएका थिए। मोदीको सन्देशमा नेपालको दिगो विकास र लोकतन्त्र रक्षाका लागि भारत सधैं सहयोगी रहने उल्लेख छ। भारतले नेपाली जनताको चाहनाअनुरूप राजनीतिक नेतृत्वले मुलुकलाई स्थायित्व दिएर अघि बढाएको हेर्न चाहेको सन्देशमा छ।

ज्ञवाली ४० मिनेटसम्म होटलमै

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमन्त्री जयशंकरलाई होटलमा ४० मिनेट प्रतीक्षा गर्नुपरेको थियो। प्रधानमन्त्री केपी ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बालुवाटारमा भेटवार्ता भइरहँदा ज्ञवाली बैठक स्थल होटल द्वारिकाजमा पुगिसकेका थिए। बैठक आयोजक भएका कारण ज्ञवाली समकक्षीलाई होटलमा लामो समय कुर्न बाध्य भएका हुन्।

भारतीय  विदेशमन्त्री एस जयशंकर र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली। तस्बिर : सुनीता डंगोल

प्रधानमन्त्री ओली र विदेशमन्त्री जयशंकरको शिष्टाचार भेट लम्बिँदा ज्ञवालीले केही समय कुर्नुपरेको थियो।

परराष्ट्रमन्त्रीको रात्रिभोज

भारतीय पाहुनाको सम्मानमा परराष्ट्रमन्त्री ज्ञवाली दिएको रात्रिभोज दिएका छन्। समारोहमा भारतीय विदेशमन्त्री जयशंकर, नेपालका पूर्वपरराष्ट्रमन्त्री विभिन्न दलका नेता, ईपीजीका सदस्यको उपस्थिति थियो। बैठकमा भएका सहमतिमा बिहीबार हस्ताक्षर गरेर पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी परराष्ट्र मन्त्रालयको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.