मूल्यको आशमा अलैँची किसान

मूल्यको आशमा अलैँची किसान

भोजपुर : ०७२ सालमा भोजपुरका गाउँगाउँमा उत्पादन हुने अलैँचीको मूल्य प्रतिमन ८५ हजारदेखि एक लाख १० हजार रुपैयाँसम्म पुग्यो। त्यतिबेला व्यापारी घरदैलोमै अलैँची किन्न आउँथे। किसान अन्न फल्ने खेती मासेर धमाधम अलैँची रोप्न थाले। तर पछिल्लो वर्षदेखि मूल्य घट्न थालेपछि किसान निराश बने। मिहिनेत र लगानी बालुवामा पानी हाले जस्तै भयो।

भोजपुर नगरपालिका भैंसीपंखा जिमीगाउँका दुर्ज राई पनि सयौँ मुरी धान फल्ने १९ रोपनी खेत मासेर लगाएको अलैँचीले उचित भाउ नपाउँदा निराश बने। तर, राम्रो भाउ पाउने आशामा उनी अझै अलैँची नै स्याहारिरहेका छन्। ‘विगतमा जे भयो, आउने वर्ष राम्रो भाउ पाइएला कि भन्ने अझै आशा छ’, उनले भने। रातदिनको मिहिनेत र लगानीले उत्पादन गरेको अलैँचीले मूल्य नपाए पनि किसानलाई विगत झैं यो वर्ष पनि उचित भाउ पाउने आशा मरेको छैन।

अर्का कृषक प्रेमकुमार राई पनि यो वर्ष अलैँचीको राम्रो भाउ पाउनेमा आशावादी देखिन्छन्। दुई वर्षअघि ४९ हजार प्रतिमन अलैँची बेचेका उनले गत वर्ष १९ हजारमा बिक्री गर्न बाध्य भए। उनको लगानी पनि उठेन। उनले भने, ‘भाउ नभएपछि ज्याला दिनै सरसापट गरेर चलाउनु पर्‍यो। के गर्नु अलैँचीको आम्दानीले धान्न छाडिहाल्यो। मिहिनेत मात्रै धेरै जान्छ, मूल्य छैन।’

अन्तर्राष्ट्रिय बजारमै नेपालबाट निर्यात गरिने अलैँचीको मूल्यमा आएको गिरावटले आम्दानीभन्दा श्रम ज्यादा हुने गरेको किसान सुनाउँछन्। अलैँची उत्पादनअनुसार मूल्य नभएपछि सिजनका बेला ३५÷३६ दिनसम्म लगातार बगानमा अलैँची टिप्ने, छोडाउने, सुकाउने, ओसार्ने, गोड्मेल गर्ने, पानी लगाउने काममा श्रमिकलाई दिइने ज्याला मात्रै दुई लाखसम्म लाग्ने गरेको अलैँची कृषकको गुनासो छ।

अलैँची खेती विस्तार गर्ने उद्देश्यले जिल्लाका ४ स्थानीय तहका २२ वटा वडामा अलैँची जोन कार्यक्रम लागू गरिएको थियो। कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र भोजपुरले यो वर्ष अलैँचीको नर्सरीको ब्लक राख्न ३ हेक्टर क्षेत्रफल जमिन थपेको छ। जसमा सामूहिक नर्सरी उत्पादन गर्ने, निःशुल्क तालिम दिने, प्राविधिक ज्ञान, सिपको परामर्श गरिरहेको केन्द्र प्रमुख डोमी चौधरीले बताए। कार्यक्रमअन्तर्गत यो वर्ष केन्द्र किसानलाई ११ वटा आधुनिक भट्टी, ५ वटा मेसिनरी सामान र अलैँचीका लागि विषादी ८५ तथा ५० प्रतिशत अनुदानमा वितरण गरेको छ। यसबाहेक कार्यक्रमअन्तर्गत किसानका लागि २० वटा साना सिँचाइ योजना पनि ल्याइएको प्रमुख चौधरीले बताए।

भाउ नपाएपछि गाउँ पस्दैनन् व्यापारी

अलैँचीको भाउ ओरालो लाग्दा किसानलगायत ठेकेदार पनि बढी मारमा परेको देखिन्छ। गत वर्षको तुलनामा यो वर्ष अलैँचीको भाउमा भारी गिरावट आएपछि राम्रो भाउको मौकामा बसेका ठेकेदारले पनि गाउँगाउँबाट उठाएका अलैँचीका बोरा गोदाममै त्यतिकै थन्क्याउनु परेको छ। ‘राम्रो भाउ पाइन्छ भनेर गाउँगाउँबाट अलैँची उठाइयो अहिले भाउ घट्दा कसरी बाहिर ढुवानी गर्ने भन्ने दोधारमा छौँ।’ एक अलैँची ठेकेदार मणिकुमार राईले भने, ‘एक्कासी अलैँचीको भाउमा आएको भारी गिरावटपछि गोदाममा बोराकाबोरा अलैँची त्यतिकै थन्क्याउनुपर्ने समस्या छ।’

अलैँचीले भाउ नपाएपछि अलैँचीको ठेक्का, ढुवानी गर्ने ठेकेदार गाउँ पस्न छाडेको टेम्केमैयुङ गाउँपालिका छिनामखुका अलैँची कृषक सुमन प्रधान बताउँछन्। ‘अलैँचीले भाउ पाउन छोडेपछि यो पेसालाई निरन्तरता दिने कि अर्कै पेसा अँगाल्ने भन्नेमा द्विविधा भएको छ। अझै पनि गाउँका ६÷ ७ घरको ३० मनभन्दा बढी अलैँची थन्किएका छन्। भाउ घटेपछि अलैँची ठेकेदार पनि गाउँ पस्न छाडिसकेका छन्’, प्रधानले भने, ‘अलैँचीको भाउ घट्नुमा बाहिरी बजारबाटै विवाद भएको हो वा नेपाल सरकारकै कमीकमजोरी भएको हो भन्ने पनि छ।’

कृषि ज्ञान केन्द्र भोजपुरको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३÷७४ मा जिल्लामा कुल एक सय ५५ मेट्रिक टन अलैँची उत्पादन भएको थियो। उत्पादन भए पनि अन्तर्राष्ट्रिय भाउमा आएको उतारचढाव र गुणस्तरीय अलैँची उत्पादन हुन नसक्नु जस्ता कारणले अलैँचीले राम्रो भाउ नपाइरहेको केन्द्रका नायब सुब्बा जानकी भट्टराईले बताए। उनका अनुसार विगतमा अलैँचीको मूल्य एक्कासी खस्किएपछि अलैँची किसान, ठेकेदारले सस्तोमै अलैँची बेचविखन गर्नुपर्ने समस्या खेप्नुपरेको थियो। कृषि ज्ञान केन्द्रका अनुसार पकेट क्षेत्रहरू दोभाने, खावा, ओख्रे, तिम्मा, श्यामशिला, षडानन्दा नगरपालिका, कोट, सिद्धेश्वर, चम्पे, बोखिम, भैंसीपंखा, बोया, गोगने, खार्ताम्छा, कुदाककाउले, हेलौछालगायत जिल्लाको करिब ६ सय ६० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिन्छ।

बादरले हैरान

उत्पादनमा आएको कमी एकातिर अर्कोतिर पछिल्लो केही महिनायता सोही जिमीगाउँका अलैँची कृषकलाई बाँदर आतंकले पनि सताएको छ। विशेष गरी खोलाबगरका क्षेत्रमा बाँदरले अलैँची सखाप पार्न थालेपछि कृषक चिन्तित बनेका हुन्। वर्षदिनसम्म गोडेको, मलजल, स्याहारसुसार गरेको अलैँची बाँदरले बगानमै आएर गुबोसहित खाने र बोटको बिचबाटै च्यातिदिने गरेकाले दुःख दिएको कृषकको गुनासो छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.