छोराछोरीलाई कस्तो आशीर्वाद ?
कुनै समय अभिभावकले आफ्ना बालबालिकालाई यसरी आशीर्वाद दिने चलन थियो– डाक्टर, इन्जिनियर हुनू, धेरै पढ्नू तर हलो जोतेर नखानू । पढेन भने यसले भोलिपर्सि हलो जोतेर खान्छ, गोठालो हुन्छ भन्ने मान्यता थियो । कृषि पेसालाई महत्त्वको पेसा नसोच्ने चलन थियो। हिजो पढेपछि कार्यालयमा घुम्नेकुर्सीमा जागिर खानु, पाइलट हुनुलाई कूल घरानाको मान्यता मानिन्थ्यो । आज त्यस्तो परिवेश छैन । बालबालिकाले चाहे धेरै खर्च गरेर पढून् वा नपढून्, कुन पेसा व्यवसाय गरेमा जीवनस्तर उँभो लाग्छ भन्नेतिर अभिभावकको ध्यान जान थालेको छ । हिजोआज कुनै पनि काम सानोठूलो हुँदैन । मान्छे सानो–ठूलो हुने कुरा उसको सीप र सिकाइमा भर पर्ने विषय हो ।
नेपालजस्तो विकासोन्मुख राष्ट्रमा यस्तो सोचाइ रहनु पक्कै पनि स्वरोजगारको बाटो खुलेको हो कि भन्ने अड्कल गर्न सकिन्छ । किनभने, केन्द्रमा उच्च शिक्षा अध्ययन गरेर गाउँमा गई कतिपयले कुषि तथा पशु व्यवसाय गरी मनग्गे आम्दानी गरेका छन् । कतिपय अवस्थामा ग्रामीण परिवेशमा के शिक्षक, के कार्यालयमा काम गर्ने हाकिम, सबैले कृषिलाई पनि महत्त्व दिँदै कुखुरापालन, बाख्रापालन, सुँगुरपालन, गाईपालनलगायत अन्य पेसा गरी भरपूर आम्दानी गरेका छन् ।
१०/२० वर्ष अगाडिसम्म सँगुरपालनलगायत अन्य हलो जोत्ने कार्य, लुगा सिउने कार्य अन्य जातिले प्रयोग गर्ने कार्य आज सबै जातिले आफ्नो सीप र क्षमताका आधारमा गर्ने प्रचलन बढ्दो छ । बरू कार्यालयमा काम गर्दाभन्दा अन्य कार्यबाट बढी लाभान्वित हुने गरेका छन् । आफू बाँच्न र परिवारलाई खुसी राख्न नयाँ व्यवसाय अपनाएको देख्न सकिन्छ । पछिल्लो समयमा कृषिमा बढी सफलता प्राप्त हुन थालेको देखिन्छ ।
नेपालमा पछिल्लो समय विकसित भएका व्यवसायमा सिलाइबुनाइ, तरकारी खेती, पशुपालन आदि छन् । यसैगरी व्यापार व्यवसायमा विभिन्न हातेतानको विकास, ढाकाका कपडा उत्पादन, पश्मिनाको बिक्रीवितरण, दुग्ध व्यवसाय विभिन्न हेन्डिक्राफ्टका सामग्री हस्तकला कार्य, ताम्रपत्र निर्माण, मूर्ति निर्माण, थान्का व्यवसाय फस्टाएको देखिन्छ । यस्ता कार्यले विभिन्न सीप, सिकाउनुका साथै आत्मनिर्भर बनाएको देख्न सकिन्छ । हिजोआज राम्रो र स्तरीय कार्यभन्दा पनि कुन कार्यबाट बढी आम्दानी गर्न सकिन्छ । त्यस्ता पेसा व्यवसायमा मानिसको ध्यान जान थालेको छ ।
विदेशी लगानीकर्ता नेपालमा आएर कमाएर जान्छन्, हामी आफ्नै देशमा लगानी गरेर किन नकमाउने ?
गाउँदेखि सहर जहाँ जुन कुनामा गएर अध्ययन गर्ने हो भने कुनै घर नछुट्ला कि विदेश नगएको कुनै घर छैन । अब त झन् बिहे पनि विदेशमा गर्न पाए बालबालिका पनि उतै उत्पादन गर्न पाए हुन्थ्यो भन्ने धारणा आएको छ । विदेशका हरेक कुनामा नेपालीको अनुहार देखिन्छ । एकातिर त्रिभुवन विमानस्थलबाट उड्न पाए कस्तो होला भन्ने छ भने अर्कोतिर बाहिर गएर कमाउन पाए आर्थिक अवस्था सुध्रिन्थ्यो कि भन्ने छ ।
छिमेकीका छोराछोरीले अमेरिका गएर घर ठड्याएले पैसाको दुःख छैन भन्ने गुनासो पनि सुन्न थालिएको छ । जब देश छोडेर हिँड्छन् तब थाहा हुन्छ पैसा कमाउन कति दुःख गर्नुपर्छ भन्ने कुरा । बाहिर जति दुःख गरे पनि नबोली काम गर्नुपर्छ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान आदि उत्कृट देशमा गएमा इज्जत प्रतिष्ठा बढ्छ भन्ने छ । त्यहाँ पुगेका मानिसले खान र सुत्ने समय पनि पाउँदैनन् ।
विदेशबाट फर्किएका कतिपय भन्छन्– विदेशमा दिइने समय लगानी, मेहनत, आफ्नै देशमा खर्च गरेमा विदेशमा जत्तिकै कमाइ गर्न सकिन्छ । हामीमा यो छ कि पाएपछि एकैचोटि कमाऔं यो त अन्य देशमा पनि सम्भव देखिँदैन । त्यसैले अरूको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशका मेहनत गरेको देखिन्छ । काम भनेको सानो र ठूलो हुँदैन तर आफूले सुरु गरेको व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने चिन्तन हुन जरुरी छ । हिजोआज नेपालमै स्नातकोत्तर पास गरी गाउँमा गई पशुपालन सञ्चालन गरेको उदाहरण पनि देख्न सकिन्छ ।
दिनप्रतिदिन वैदेशिक रोजगारमा जानेमध्ये कतिपय कि त ज्यान सिध्याउँछन्, कि त परिवार नै माया मारेर उतै बस्छन् कि त आफूले कमाएको सम्पत्ति गुमाएर आउँछन् कि त म्यान पावर कम्पनीहरूको फन्दामा परेर मर्नु न बाँच्नुको अवस्थामा पुग्छन् । कि त घरजग्गा सबै गुमाएर सुकुम्वासी भएका छन् । त्यस्तै वैदेशिक रोजगारका नाममा धेरै चेलीको इज्जत लुटिएको र ज्यान जोखिममा परेको सुनिन्छ ।
वैदेशिक रोजगारका नाममा विदेशमा पुगेर यस्ता तमाम समस्या भोग्नुभन्दा स्वदेशमै बसेर विदेश जाने पैसा लगानी गरे केही न केही पेसा व्यवसाय गरी सफलता हात पार्न सकिन्छ । विदेशी लगानीकर्ता नेपालमा आएर कमाएर जान्छन्, हामी आफ्नै देशमा लगानी गरेर किन नकमाउने ? अबका अभिभावकले आफ्ना सन्ततिलाई पक्कै पनि नयाँ तरिकाले आशीर्वाद दिनेछन्– जोस, जाँगर बटुल्नू, सीप विकास गर्नू, स्वदेशमै उद्योग र व्यवसाय गर्नू, आफ्नो, परिवार र समाजको जीवन बदल्नू।
प्रतिक्रिया दिनुहोस !