रवि लामिछाने र युवराज कँडेलको बयान सकियो, थुनछेक बहस हुँदै
![रवि लामिछाने र युवराज कँडेलको बयान सकियो, थुनछेक बहस हुँदै](https://annapurnapost.prixacdn.net/media/albums/yuvraj-kadel_20190826053635_LnRwzBseEm.jpg)
काठमाडौं : चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान लिइ सकेको छ । अभियुक्त रूकु कार्कीको भने अदालतले आइतबार बयान लिएको थियो ।
चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार थुनछेक बहसपछि उनीहरुलाई साधारण तारिकमा रिहा गर्ने, धरौटीमा रिहा गर्ने वा पर पक्षका लागि थुनामा राख्ने भन्ने बारे निर्णय हुनेछ ।
अनुसन्धानबाट प्राप्त प्रमाणको आधारमा आइतबार लामिछाने, कँडेल र रुकुविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको हो। प्रहरीले १० दिनको म्यादमा हिरासतमा राखेर अनुसन्धान पूरा गरेपछि आइतबार अदालतमा मुद्दा दर्ता भएको हो।
पत्रकार पुडासैनी साउन २० गते राति नारायणगढको कंगारु होटलमा मृत अवस्थामा फेला परेका थिए। गत वर्ष भाद्र १ गतेदेखि लागु भएको मुलुकी ऐनमा व्यवस्था भए अनुसार आत्महत्या दुरुत्साहनको मुद्धा प्रमाणित भएमा पाँच वर्षसम्म कैद हुने कानुनी प्रवधान छ।
लामिछाने, कँडेल र कार्की साउन ३० गते राजधानीबाट पक्राउ परेका हुन्। पुडासैनीले आत्महत्याअघि कार्की, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि उनीहरु पक्राउ परेका हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)