बाबुरामले मार्क्सवाद पोलपाल गरेर खरानी घसे : भीम रावल
धनगढी : नेकपाका सुदूरपश्चिम प्रदेश इञ्चार्ज तथा पूर्व उप-प्रधानमन्त्री भीम रावलले डाक्टर बाबुराम भट्टराईले मार्क्सवाद पोलपाल गरेर त्यसको खरानी घसेको आरोप लगाएका छन्।
नेकपा सुदूरपश्चिम प्रदेशले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले यस्तो बताएका हुन्। भदौ ७ गते टीकापुरमा भएको थारु सम्मेलनमा प्रमुख अथितिका रुपमा सम्बोधन गरेका डाक्टर भट्टराईले अब माक्सवादको औचित्य नरहेको बताउँदै थारु समुदायलाई घर÷घरबाट उठेर विद्रोह गर्न उक्साएका थिए।
डाक्टर भट्टराईले चार वर्ष अघिको टीकापुर घटनाको पुनरावृत्ति गराउन खोजेको भन्दै त्यही दिन नेता रावलले ट्वीट गरेपछि दुबै नेताहरुबीच 'ट्वीट वार' सुरु भएको थियो। 'उनले जवाहरलाल नेहरु विश्वविद्यालयमा छँदा माक्सवादका कुरा गर्ने, अहिले कम्युनिस्ट प्रगतिशिलताका कुरा गरेर अरुलाई अर्ति उपदेश दिनु हास्यास्पद हो भएको बताए।
उनले संविधान जारी भएकै दोस्रो दिनदेखि बाबुरामले माक्सवादलाई पोलपाल गरेर त्यसको खरानी घसेको आरोप लगाए । 'बाबुराम जातीय राज्यका पछि लाग्नु भएको छ, नेपालमा जातका आधारमा के अब १२४ राज्य बनाउने हो र?' रावलले प्रतिप्रश्न गरे। उनले थारु समुदायका लागि बाबुरामले गरेको योगदान देखाउन चुनौती दिए।
'नेकपाले थारु समुदायलाई कांग्रेससँग मिलेर कमैया मुक्त गर्यो, धेरैजना नेकपाबाट स्थानीय तहमा जितेका छन्, नेकपाको पार्टीमा थारुको उल्लेख्य सहभागिता छ, नेकपाको जिल्ला अध्यक्षमै एकपटक थारु थिए, तर बाबुरामले के दिए थारुलाई ? मेरो चुनौती हो पुष्टि गरुन बाबुरामले,' नेता रावलले भने।
उनले टीकापुरमा आएर थाहरुलाई उक्साएर सामाजिक सद्भाव भडकाउने, जातिय दंगा फैलाउन खोज्नेलाई थारु समुदायले अब भने चिन्नुपर्ने बताए।
पत्रकार सम्मेलनमा नेता रावलले आफ्नै दलका प्रधानमन्त्रीको सिंगापुरबाट गरिएको भिडियो कन्फरेन्सको पनि विरोध गरे । 'देशको सीमाना बाहिर गएर राज्य चलाएको मलाई थाहा छैन, न हाम्रो संविधानमा पनि त्यस्तो व्यवस्था छ, त्यो गैरकानुनी हो,' नेता रावलले भने.
उनले देशको गोपनीयतालाई दाउमा राखेर सीमाना बाहिर गएर भिडियो कन्फरेन्सबाट मन्त्रीपरिषद्को बैठक चलाउनु कानुन विपरित भएको पनि बताए। 'एकातिर कार्यबाहक प्रधानमन्त्री र कार्यबाहक अध्यक्षको जिम्मेवारी पनि दिनु, अर्कोतर्फ भीडियो कन्फरेन्स गर्नु द्विविधायुक्त कुरा भएन?' नेता रावलले भने।
पार्टीको बरियतामा भएको हेरफेर, प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीचको सीत युद्धका बारेमा नेता रावलले नेकपा विशाल पार्टी भएकाले समुद्रका छिटा उछिट्टिएझैं त्यो पनि सामान्य भएको तर्क गरे।
प्रतिक्रिया दिनुहोस !