नेपाली थांका बनाउँदै चिनियाँ

नेपाली थांका बनाउँदै चिनियाँ

बेइजिङ : चीनको राजधानी बेइजिङमा नेपाली थांका चित्र कोर्ने १० दिने कार्यशालाको सोमबार समापन भएको छ। कार्यशालामा चिनियाँहरूले नेपाली थांका चित्र कोर्न सिके। बेइजिङको एक मात्र नेपालीद्वारा सञ्चालित नेपाली हस्तकलाको पसल नेपाल क्राफ्टले थांकाप्रति रुचि भएकाहरूलाई यस किसिमको वातावरण बनाइदिएको थियो। अगस्त १० देखि भएको प्रशिक्षणमा चीनका विभिन्न सहरबाट आएका थांका र बौद्ध धर्ममा रुचि भएकाहरूको सहभागिता थियो।

‘थांका बनाउन गाह्रो रहेछ,’ फाइन आर्टमा स्नातक उत्तीर्ण गरेकी चाङ युफैको प्रतिक्रिया थियो, ‘हेर्दा सरल लागे तापनि पूर्ण आकार दिन निकै ध्यान दिनुपर्ने रहेछ। त्यसमाथि नेपाली थांकाको अरू गुणबारे पनि जान्ने अवसर मिल्यो। यहीँ बसेर जान्ने मौका पाएकोले निकै भाग्यमानी महसुस गरेँ।’ उनी चाङ थ्येनचीनदेखि आएकी हुन्। बेइजिङलगायत थ्येनचिन र छाङछुन सहरका नेपाली थांका तथा बौद्ध धर्ममा रुचि भएका १० जनाले हाल मण्डल बनाउने तालिम लिए। छाङछुनका च्याङ मिनलाई बौद्ध धर्मप्रति झुकाव भएकोले थांकाप्रति लगाव भएको बताए। ‘म पनि एक कलाकार नै हो, त्यसमाथि नेवारी थांकाले मलाई निकै आकर्षित गरेको छ र बुद्ध धर्मप्रति पनि आस्था छ।’

थांका सिकाउन गुरु नेपालबाटै झिकाएको नेपाल क्राफ्टका प्रोप्राइटर सुवर्ण डंगोलले बताए, ‘पसल चलाएको त ८/९ वर्ष भइसक्यो, यस अवधिमा कतिपय ग्राहक तथा थांकाप्रति रुचि भएकाहरूले यहीँ थांका बनाएको हेर्ने इच्छा राखेका थिए, कतिपय आर्टिस्ट तथा बौद्ध धर्मावलम्बीहरू थांका बनाउने तरिका पनि सिक्न चाहिरहेका थिए, बल्ल जुर्‍यो।’

बेइजिङसम्म आएर थांका चित्रकला सिकाउने गुरु हुन्, पाटन, गाबहालका अग्रिम शाक्य। दुई दशकदेखि परम्परागत नेवारी पौभा बनाउँदै आएका उनी भन्छन्, ‘प्रायः तालिममा आएकाहरू सबै चित्रकलालाई पेसा बनाएका या अध्ययन गरिरहेकाहरू छन्, यसले सिकाउन पनि सहज भएको छ।’ नेपाली, नेवारी थांका मौलिक रहेको र त्यसबारे जान्न इच्छुकलाई जानकारी दिन पाउँदा उनी हर्षित छन्।

खनिज पदार्थ नै पिसेर परम्परागत तरिकाले थांकामा स्टोन कलर (खनिज रङ) बाट ३० बाई ३० सीएम साइजमा मण्डल बनाउन सिके। नेपाल क्राफ्टका सुवर्ण खुसी हुँदै भन्छन्, ‘धेरै अगाडिदेखि यस्तो तालिम गर्न चाहिरहेको हो, सुरु गर्ने भनिसक्दा पनि अलमलमै थियो। मेरी श्रीमतीले राम्रो साथ दिएकी छन्।’ विगत १२/१३ वर्षदेखि चीनलाई कर्मथलो बनाएका सुवर्णले चिनियाँसँग नै घरजम गरेका छन्। दुवै जनाले नेपाली हस्तकलाको पसल खोलेर नेपाली संस्कृतिको प्रचारप्रसार गर्दै आइरहेका छन्। सुवर्णकी श्रीमती स तानफिङले भनिन्, ‘यहाँ केही चिनियाँहरूले नेवारी थांकालाई निकै महत्त्व दिएका छन्, उनीहरूले नेपालबाट बहुमूल्य थांका ल्याई घरमा सजाउने गरेका छन्। हामीले एक कदम बढेर यहीँ नेवारी थांकाको कार्यशालासँगै प्रचारप्रसार गर्न खोजेका हौं।’

तिब्बती थांका विश्व प्रसिद्ध छ। यसैगरी नेवारी पौभा पनि हाल विश्वमा थांकाको रूपमा नै प्रचलित छ। थांकामा बौद्ध धर्मसँग सम्बन्धित देवदेवीलगायतका चित्र तथा कथा कोरिएका पाइन्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.