नेपाल–चीन सैन्य अभ्यास

नेपाल–चीन सैन्य अभ्यास

काठमाडौं : नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास बुधबार काठमाडौंमा सुरु भएको छ। यसलाई सगरमाथा फ्रेन्डसिप संयुक्त तालिम २०१९ भनिएको छ। यो अभ्यास भदौ २४ सम्म चल्नेछ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले चिनियाँ जनमुक्ति सेनासँगको सैन्य अभ्यास सुरु भएको पुष्टि गरे। ‘नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच नियमित सैन्य तालिम हो’, सैनिक प्रवक्ता पाण्डेले अन्नपूर्णसँग भने, ‘सैन्य कूटनीतिलाई दरिलो बनाउन नेपाली सेनाले अन्य मुलुकका सेनासँग पनि संयुक्त रूपमा विभिन्न तालिम गर्दै आएको छ।’

नेपाली सेनाको विशेष बाहिनी महाराजगन्जमा औपचारिक रूपमा सैन्य अभ्यास सुरु गरिएको हो। विशेष बाहिनीसँगै भक्तपुरको नगरकोटमा हुने तालिम सञ्चालन हुनेछ। दुवै मुलुकका महासेनानीको नेतृत्वमा २२/२२ जना सहभागी छन्। अभ्यास अवलोकन गर्न चिनियाँ जनमुक्ति सेनाको पर्यवेक्षक टोली भदौ २० मा काठमाडौं आउने स्रोतले बताएको छ। नेपाली सेनाका तर्फबाट पर्यवेक्षक टोलीसमेत सहभागी हुनेछ।

सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित छ। आतंकवादबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई दृष्टिगत गरी दुवै देशका विशेष सेनाले २०७४ देखि सैन्य अभ्यास गर्दै आएका छन्। पहिलो र दोस्रो संस्करणको सैन्य अभ्यास पनि प्रतिआतंकवाद युद्धकला र विपद् व्यवस्थापनलगायतमा केन्द्रित थियो। गत वर्ष असोज १ देखि १२ सम्म चीनको सिचुआन प्रान्तस्थित छेन्दुमा सैन्य अभ्यास भएको थियो। महासेनानीको नेतृत्वमा दुवै मुलुकका १६/१६ जना सैनिक अधिकारी सहभागी भएका थिए। २०७४ वैशाख ३ देखि १२ गतेसम्म पहिलो पटक काठमाडौंमा संयुक्त सैन्य अभ्यास भएको थियो।

एसियाली मुलुक आतंकवादीको निसानामा परेको अवस्थामा यो अभ्यास उपयोगी रहने ठहर दुवैतर्फका सेनाको छ। यो क्षेत्रमा आतंकवादीले गतिविधि बढाइरहेका छन्। बंगलादेशमा सन् २०१६ र श्रीलंकामा गत अप्रिलमा आतंकवादी आक्रमण भएपछि चिन्ता थपिएको छ। आतंकवादको सम्भावित चुनौतीलाई ध्यानमा राखेर सैनिक संगठनले द्विपक्षीय र बहुपक्षीय सैन्य अभ्यास गर्दै आएका छन्।

नेपाल–चीन सैन्य अभ्यासबारे जापान, कोरिया, भारत, अमेरिका र युरोपेली मुलुकले असहजता प्रकट गर्दै आएका छन्। नेपाली सेनाले चीनसँगको संयुक्त सैन्य अभ्यास नियमित र सामान्य भएको बताउँदै आएको छ। यसप्रति अमेरिकासहित पश्चिमा मुलुकका दूतावासका अधिकारीले असन्तुष्टि जनाउँदै आएका छन्। नेपालले अमेरिकी सेनासँग पनि सैन्य अभ्यास गर्दै आएको छ। भारतीय सेनासँग पनि प्रत्येक वर्ष सैन्य अभ्यास हुँदै आएको छ।

गत वर्ष बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाको सहभागितालाई लिएर विवाद भएको थियो। त्यसपछि अन्तिम समयमा प्रधानमन्त्री केपी ओलीले नेपाली सेनालाई रोकेका थिए। बिम्स्टेक सदस्य राष्ट्रबीच गत वर्ष भदौ २५ देखि ३१ गते (सेप्टेम्बर १०–१६) सम्म भारतको पुणेमा सैन्य अभ्यास भएको थियो। प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठनभित्र सैन्य अभ्यासको विषयले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्री ओलीले नेपाली सेनालाई उक्त सैन्य अभ्यासमा सहभागी नहुन निर्देशन दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.