रोकिएन गाई तस्करी
![रोकिएन गाई तस्करी](https://annapurnapost.prixacdn.net/media/albums/Gai-Goru-cow-taskari-taplejhung_20190831011325_TEKtEwu8oS.jpg)
राजविराज : सीमावर्ती भारतीय बजारतर्फ राष्ट्रिय जनावर गाईको तस्करीले निरन्तरता पाएपछि नेपालमा गाईगोरुको अभाव हुँदै गएको छ।
गाईको दूध खान–बेच्न वा गोरुलाई जोत्ने गाडा चलाउने कामका लागि नभई मासुका लागि चौपाया भारत र बंगलादेशतर्फ अवैध निकासी हुन थालेको भन्सार कार्यालयका कर्मचारी बताउँछन्।
सरकारले गाई निकासीमा प्रतिबन्ध लगाए पनि थारा गाईलाई गोरुसँगै भारततर्फ लैजाने र भारतीय व्यापारीले खरिद गर्दासमेत कतैबाट उजुरी नआएको प्रहरीको भनाइ छ। रोकथाम गर्ने निकायलाई थामथुम गरेर दैनिक अवैध निकासी हुने गरेको राजविराजका अरुण तिवारीले बताए।
खुला सीमाको फाइदा उठाउँदै भारततर्फ तस्करी गरिएको प्रतिबन्धित गाई प्रहरीले फाटफुट रूपमा बरामद गरे पनि ठूलो संख्यामा हुने निकासीतर्फ आँखा चिम्लिएको गौ संरक्षण अभियानकर्ताको आरोप छ।
सीमानाकामा प्रहरी, प्रशासनले अनुगमन नगर्दा जिल्लामा गाईको अवैध व्यापार फस्टाएको गौ संरक्षण अभियान राजविराज–६ का खुसीलाल यादवले बताए। जिल्लाका कतिपय सहायक नाकाबाट ट्रकमै लोड गरेर गाईगोरु निकासी गरिन्छ भने त्यत्तिकै संख्यामा गाईलाई हिँडाएरै भारत लगिन्छ। यता, बरामद भएका गाईगोरु पनि प्रहरीले बुझाएकै दिन तस्करले भन्सार कार्यालयमा सेटिङ मिलाई न्यून मूल्यमा डाँक सकारेर लैजाने गरेका छन्।
प्रहरीले बुझाएकै दिन तस्करले नै प्रतिगाईगोरु चार÷पाँच सय मूल्यमा भन्सार कार्यालयबाट सकारेर लैजाने गरेको नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बताए। उनले भने, ‘भन्सार कार्यालयमा बुझाएकै दिन तस्करले सस्तोमा गाईगोरु सकारेर लैजान्छन्, अरूले पत्तै पाउँदैनन्।’ नेपालमा २५ देखि ३० हजार रुपैयाँमा खरिद गरिने गाईगोरु बंगलादेशमा एक लाख रुपैयाँभन्दा बढी मूल्यमा बिक्री हुने गर्छ।
मुलुकभित्र गाईगोरु ओसारपसार गर्न पाइने भएकाले दिउँसो विभिन्न बजारबाट खरिद गरी जम्मा गर्ने र राति सीमा कटाउने गरेको उनले जानकारी दिए। गाई निर्यात गर्न प्रतिबन्ध गरिएको छ। तर, गोरुसँगै लुकाएर नेपाल हुँदै भारत, बंगलादेशतर्फ गाई तस्करी भइरहेको गौ संरक्षण अभियानका रामकुमार शास्त्रीको दाबी छ।
पश्चिम दाङदेखि सिन्धुली, सखुवासभालगायत स्थानबाट तराई झारिएका गाई बारा, पर्सादेखि झापासम्मका नाकाबाट गोठाला, भरियाले डो¥याउँदै, हपार्दै भारततर्फ लैजाने गरेको उनले बताए। गाई गोरुको व्यापारमा आम्दानी राम्रो हुने भएकाले मासिक नजराना बुझाएर लामो समयदेखि केही व्यापारी यसै व्यवसायमा संलग्न रहेको पूर्वप्रहरी विनोद झाको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)