राति किन गाई लगियो ?

राति किन गाई लगियो ?

नेपालगन्ज : नेपालगन्जको बिर्तास्थित कान्जी हाउसबाट गाई उठाएर लैजान जिल्ला प्रशासनको ‘फितलो पत्र’ प्रमुख अधार बनेको छ। सीडीओ कार्यालयले सुर्खेत हुँदै दैलेखको श्रीस्थानसम्म लैजान अनुमति दिँदै सहयोगका लागि विभिन्न निकायलाई आग्रह गरेको छ।

तर, किन लैजाने त्यसमा खुलेको छैन। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले ८ भदौमा ‘चौपाया व्यवस्थापन सम्बन्धमा’ भनेर लेखेको सिफारिसपत्रमा गाई लिने संघसंस्था वा निकायको नाम उल्लेख छैन। ‘जो–जसँग सम्बन्ध राख्दछ’ भनिएको छ। ८ भदौकै उपमहानगरपालिकाको पत्र उद्धृत गर्दै त्यसमा लेखिएको छ, ‘गाई, गोरु, बाच्छाबाच्छीसमेत गरी करिब ३७० पशु चौपायाहरू नगर प्रहरी र स्थानीय तहको समन्वयमा सुर्खेत हुँदै दैलेखको श्रीस्थानसम्म लैजानका लागि अनुरोध भई आएको हुँदा आवश्यक सहयोगका लागि अनुरोध छ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उपमहानगरपालिकाले ‘असल मनसाय’ ले सहयोग मागेपछि सिफारिस गरिएको सुनाए। त्यही ‘असल मनसाय’ को परिणाम गाई भीरबाट समेत खसालिएका छन्। प्रशासनले पत्रको बोधार्थ बाँके, बर्दिया, सुर्खेत र दैलेखको प्रहरी, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, चेकपोस्ट र नेपालगन्ज उपमहानगरपालिकालाई दिएको छ।

‘जुनसुकै स्थानीय तहले पनि माग गर्दा हामीले सिफारिस गर्नुपर्छ। किसानलाई वितरण गर्न गाई लगिएको हो भन्ने मलाई विश्वास छ’, प्रजिअ भुजेलले भने, ‘भीरबाट खसालेको भन्ने वाहियात कुरा हो। बढाइचढाइ गरेर अनावश्यक इस्यु मात्र बनाउन खोजेको हो। अरू कुरा नगरपालिकासँग सोध्नुहोस्।’नेपालगन्ज उपमहानगरपालिका–२१ बिर्तास्थित कान्जी हाउसमा बिहीबार साँझसम्म ३ सय ६६ गाई, गोरु थिए। शुक्रबार अपराह्न अन्नपूर्णकर्मी पुग्दा ७५ वटा मात्र पाइयो। यहाँबाट बिहीबार २ सय ९१ वटा दैलेख लगिएको थियो।

‘नगर प्रहरी आएर हिजो साँझ ७ बजेतिर आठवटा ट्रकमा हालेर गाई, गोरु लग्नुभयो। कहाँ, किन लग्नुभयो भन्ने मलाई केही थाहा छैन’, कान्जी हाउस रेखदेख गरिरहेका उपमहानगरपालिकाका मुखिया राकेश भारतीले भने, ‘केही समयअघि त यहाँ ४ सय ५० वटासम्म गाई थिए। असार महिनायता कान्जी हाउस भरिभराउ हुन लागेको हो।’

उपमहानगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत हरि प्याकुरेलले दैलेखका स्थानीय तहले मौखिक माग गरेकाले कर्मचारी खटाएर किसानलाई बाँड्न पठाइएको बताए। ‘चराउँदै लैजाने, हामीसँग छन् भन्दै जानकारी दिने, कोही माग्दै आए दिँदै जाने गरी पठाइएको हो’, उनले भने, ‘भीरबाट खसालेको पनि होइन। मार्ने उद्देश्य पनि होइन। झार्ने क्रममा केही गाई मरे। त्यसबारे सीडीओ र एसपीलाई खबर गर्नुपथ्र्यो। चालक खबर नगरी फर्किए।’

कार्यवाहक मेयर सुनीलसिंह हमालले गाई मरेको विषयमा छानबिन समिति गठन गरिने बताएका छन्। ‘दैलेखको श्रीस्थानसमेतका क्षेत्रमा पु¥याउने क्रममा केही पशु चौपायाको मृत्यु हुन गएको भन्ने जानकारी आएकोले’, उनले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा लेखेका छन्, ‘सो पशु चौपायाको अशक्त, रोगी भएर स्वाभाविक मृत्यु भएको हो वा अन्य कारणले हो भन्ने विषयमा यथार्थ छानबिनका लागि प्रशासनसँगको समन्वयमा छानबिन समिति गठन गरिने जानकारी गराउँछौं।’

छाडा चौपायालाई उपमहानगरपालिकाले कान्जी हाउसमा राख्न थाले पनि आहारा अभाव भएको थियो। व्यवस्थापक कनोजियाका अनुसार रेखदेख गर्ने क्रममा ६० गाई मरिसकेका छन्। शुक्रबार संवाददाता कान्जी हाउस पुग्दा एउटा गाई मरेको भेटियो। अर्को बिरामी भई छटपटाइरहेको थियो।

उपमहानगरपालिकाले १७ साउन २०७५ मा पाँच ट्रक चौपाया बाँके राष्ट्रिय निकुञ्जमा छाड्न लगेको थियो। निजकुञ्जे ती फिर्ता पठाएको थियो। त्यसअघि उपमहानगरले निकुञ्ज क्षेत्रमा छाड्ने गरेको आरोप लाग्दै आएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.