नेपाली साहित्यका ज्योति

नेपाली साहित्यका ज्योति

३० वर्षको अल्पायु। कुसेऔंसीको दिन जन्म र मृत्यु। यिनै कवि मोतीराम भट्टले नेपाली साहित्यको आधुनिक युगको सूत्रपात मात्रै गरेनन्, बरु भक्ति र स्तुतिकाव्यको महासागरमा शृंगार रसको गंगा नै बगाइदिए। पाँच वर्षको ऊमेरमै बाबु दयाराम भट्टले बनारस पुर्‍याएर फारसी र संस्कृत भाषामा पारंगत गराए। उर्दूमा त चार सयभन्दा बढी शेर नै रचे।

मधुर वक्ता उनले संगीतको पनि प्रशिक्षण लिए। बनारस, कलकता र दरबार स्कुल गरेर आईएसम्मको अंग्र्रेजी भाषाको अध्ययन गरे। फलस्वरूप उनी थुप्रै भाषा मिसाएर ‘क्वाँटी’ कविता रच्न पोख्त भएका थिए। बनारसमा कविता साधना गर्ने मोतीमण्डलीका रूपमा कविता साधकहरूको संगठन बनाएर प्रशिक्षण दिनसमेत थाले। कविता गर्ने सराजामु भनेर छश्लोके आचारसंहिताको निर्माण पनि गरिदिए। सो मण्डलीमा पद्मविलास, काशीनाथ, रंगनाथ र चेतसिंह राना आदि सक्रिय थिए। यो मण्डलीले समस्यापूर्ति कविताको थालनी गर्‍यो ।

बनारसमा त्यसबेला भारतेन्दु हरीश्चन्द्रको ठूलो नाम र मान थियो। तिनैबाट उत्प्रेरित भएर नेपालेन्दु मोतीराम बन्न कम्मर कसेर १५ वर्षको उमेरमा जन्मभूमि काठमाडौं फर्के। अचल झण्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा भन्दै राष्ट्रियताको बिगुल फुके। काठमाडौं बसाइमा यिनले विवाहमण्डपमा भट्ट्याइने रामायणका श्लोकको स्वाद चाख्ने मौका पाए। यसको स्वरमाधुर्य र सम्प्रेषणबाट प्रभावित भए ।

खास व्यक्तिबाहेक अरूलाई दुर्लभ मानिने भानुभक्तको रामायण छाप्ने दृढसंकल्प बोकेर १९३८ साल पुसमा उनी फेरि बनारस गए। बल्लतल्ल बालकाण्डको पाण्डुलिपि फेला पारे। त्यसपछि रामकृष्ण वर्मालाई पट्याएर उनकै पुँजीमा भारत जीवन प्रेस खोलेर प्रबन्धक बनी सञ्चालन गरे। ३६ पेजको दुई हजार प्रति बालकाण्ड छापे। जुन प्रवासमै हाताहात बिक्री भयो। यो पुस्तकलाई नेपाली भाषाको पहिलो संस्करण भनेर रेकर्डका लागि बेलायतको पुस्तकालयमा पनि पठाए। पछि १९४४ सालमा सिंगो रामायण छपाउन सफल भए। यिनले गीत र गजलका थुप्रै पुस्तकहरू पनि प्रकाशित गरे ।

त्यसैगरी मोतीरामले सोही प्रेसबाट आफैं सम्पादक बनी ‘गोरखा भारत जीवन’ को नेपाली संस्करण निकाले। जसले गर्दा यिनलाई नेपालको जेठो सम्पादक बन्ने सौभाग्य पनि प्राप्त भएको छ। इतिहासशिरोमणि बाबुराम आचार्यको भनाइमा काठमाडौंको काँठमा रोपाइँमा रसिया गीतमा जुवारी खेल्ने ठिटाठिटीहरू नै मोतीरामका काव्यगुरु हुन्। यिनको लोकगीत सुनेपछि नै नेपाली भाषामा राम्रा गजल लेख्न सकिन्छ भन्ने चेत मोतीरामलाई खुलेको बुझिन्छ ।

भानुभक्तको निधन हुँदा मोतीराम तीन वर्षका चिचिला थिए। तर भानुभक्तलाई थाँक्रो हालेर धुरी चढाउने काम यिनैबाट भयो। भानुभक्तका कृति प्रकाशन गर्दा आफ्नो नाम उल्लेख नगरेर निष्काम भक्ति प्रकट गरेका छन्। उनले भानुभक्तका रामायण, उनका फुटकर कृति र जीवनपद्धतिको खोज मात्र गरेनन्, किन्तु उनले भानुभक्तको जीवन चरित्र स्वयं लेखी रामकृष्णकहाँ प्रकाशनार्थ पठाएको घटना इतिहासकार सूर्यविक्रम ज्ञवालीले उद्धृत गरेका छन्। १९४७ सालमा दरबार स्कुलमा पढ्दा आदिकविका भतिजा रामदत्तमार्फत सोधीखोजी गरी जीवनी तयार गरे। यसै साल उनले कलकताबाट इन्ट्रेन्स परीक्षा पनि पास गरे।

मर्यादापुरुष रामलाई भानुभक्तले नेपाली दिलमा बसाए। भानुलाई मोतीले टल्काए। मोतीलाई एक्लै काँध थापेर गोपाल पाँडेले राष्ट्रिय विभूति बनाए ।

नेपालबाट परीक्षा दिने पहिलो दलमा चन्द्रशमशेर तथा मरिचमान सिंह पनि थिए। भानुभक्तलाई आदि र सहज कविको रूपमा खुट्याउँदै समालोचकीय मूल्यांकनको खुबी देखाएर जेठो आलोचकको पहिचान पनि बनाए। उनले लेखक, प्रकाशकहरूलाई सोही पुस्तकमा यसरी सम्झाएका पनि छन्, ‘छाप्दाखेरी आफ्ना गोर्खाभाषाको महावरा र भनाइको छाँटमा पनि ध्यान अवश्य दिनुहोस ।’ बनारसबाट मनोद्वेगलगायत गजेन्द्रमोक्ष पञ्चक, प्रपञ्चक, स्वप्नाध्याय, चाणक्य नीतिभाषा, प्रल्हाद भक्तिकथा, शकुनौति आदि मौलिक तथा अनूदित ग्रन्थहरू प्रकाशित गराए ।

राजगुरु लोकराज पाण्डेको अनुरोधमा मोतीराम पुनः काठमाडौं आए। मामा कृष्णदेवसँग मिलेर ठँहिटीमा ‘मोतीकृष्ण कम्पनी’ नामक पुस्तक भण्डार खोले। प्रकाशन र वितरणको काम सम्हाले। काठमाडौंमा पनि नरदेव पाण्डे, लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी र राजीवलोचन जोशीसमेतको मोतीमण्डली बनाए। शृंंगाररसमा ‘ल्यौल्यौ औंठी म दिन्छु राख तिमीले मेरो निशाना भनी’ भन्ने समस्यापूर्ति गराए। सय श्लोक पूरा गरेर ‘समस्या शतक’ निकाल्ने उनको धोको २४ श्लोकमा गएर अगाडि बढ्न सकेन। तैपनि यिनले अनुप्रास मिलाउन एकैनासे ५०० शब्द जम्मा गरी ‘अनुप्रास मञ्जरी’ तयार पारिदिए ।

यसरी मोतीराम युगमा शृंगारधारालाई उत्कर्षमा पुर्‍याउने भूमिका तत्कालीन समाजको पनि रहेको छ। नेपाली वास्तुकला, संस्कृत साहित्यको काव्यधारा, उर्दूका गजलको प्रभाव र दरबारिया भोगविलास त्यत्तिकै जिम्मेवार छन्। केही पौराणिक ग्रन्थ छोडेर कवि समूह वर्णन, मनोद्वेग प्रवाह, कमलभ्रमर संवाद, पञ्चक (प्रपञ्च आदि ग्रन्थ सामाजिक आलोकमा लेखिएका हुन् भने ‘गफास्टक’ हास्यव्यंग्यको नमुना रहेको छ। पिकदूत खण्डकाव्य कालिदासको मेघदूतजस्तै विरह काव्य हो। र केही गजल र फुटकर कविता शृंगार रसका प्रतीक रहेका छन् भने प्रियदर्शीका नाटिका अनूदित भएर पनि मौलिकसरह नै स्वादिलो छ। संगीत चन्द्रोदयमा मोतीराम भट्टका ३६ वटा र अन्य कविका पनि गजल छन्। अझै थुप्रै कृति प्राप्त छैनन्। जसमा शकुन्तला नाटिका, पदमावती, उखानको बखान, बलाजी वर्णन र हुस्न अफ रोज आराम दिल आदि भनिन्छ ।

समस्यापूर्ति कविताको अभियान उनको मृत्युपश्चात् झन् झाँगिएर गयो। सुन्दरी, गोर्खाली, शारदा र भारतीले समस्यपूर्ति छापेर साहित्यिक जगत्मा पुर्‍याए भने गोरखापत्रले छापेर व्यापक जनस्तरमा लोकप्रिय बनायो। तर संस्थागत रूपमा कविता सम्मेलन गर्ने जस भने नेपाली शिक्षा परिषद्लाई नै जान्छ। २०१३ सालदेखि उनको जन्मजयन्ती पारेर आयोजना गर्ने परम्परा आजपर्यन्त चलेकै छ। अझ मोफसलमा पनि विस्तार गरिएको छ। यस्ता कवि सम्मेलनमा महाकवि देवकोटा, कविशिरोमणि लेखनाथ, राष्ट्रकवि माधव घिमिरे र राजकवि मवीवी शाहको उत्साहप्रद सहभागिता हुन्थ्यो। समस्यापूर्तिले पुस्तकाकार लिएर थप र दिगो उपलब्धि गरेको छ। यसरी समस्यापूर्तिले मोतीरामलाई अजम्बरी बनाएको छ ।

काठमाडौंमा पहिलो प्रेस र सार्वजनिक पुस्तकालय खोल्ने मात्र होइन। आफ्नै विवाह कि मुडौली हरि वदनको सौन्दर्यलाई कवितामा पोख्ने काम पनि यिनले गरे। १९५२ सालमा कलकत्तामा जाँच दिन जाँदा उतै बिरामी भएपछि आमा रिपुमर्दिनीसँग काठमाडौं आए। सात महिना थला परे। आमालाई मेरा सन्तान यिनै हुन् भनी कृति जिम्मा लगाए। पर्छे यो कविता सक्कलका पालन गरून् प्रीतिले’ भन्दै २०५३ सालको भदौमा युवककवि मोतीरामले पशुपतिमा देहत्याग गरे। मर्यादापुरुष रामलाई भानुभक्तले नेपाली दिलमा बसाए। भानुलाई मोतीले टल्काए। मोतीलाई एक्लै काँध थापेर गोपाल पाँडेले राष्ट्रिय विभूति बनाए। २०३५ सालपछि उनकै छोरी रमा शर्माले यो नासोको जगेर्ना गर्दै आएकी छन्। अब रमाको काँध कसले फेर्ला भनेर घोत्लिनु स्वाभाविकै हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.