सत्तासँग सत्य बोल्ने विषयमा
अनुवाद : खगेन्द्र संग्रौला
म यहाँ विशेषज्ञता र पेसाजन्य गुणको अवलोकन गर्ने कार्यलार्ई निरन्तरता दिँदै बौद्धिकले सत्ता र शक्तिको प्रश्नको सामना कसरी गर्ने भन्ने विषयमा चर्चा गर्न चाहन्छु। सन् १९६० को दशकको मध्यमा भियतनाम युद्धको विरोध गर्ने कार्य ज्यादै मुखर र व्यापक हुनुभन्दा केही समयअघि कोलम्बियामा एकजना अलि पाको उमेरका लाग्ने अन्डर ग्य्राजुएट स्तरका विद्यार्थी सीमित संख्यामा विद्यार्थी भर्ना गरिने एउटा छोटो पाठ्यक्रममा भर्ना गरिमाग्न मकहाँ आए। वायु सेवामा काम गरिसकेका युद्धवीर हुनाले मैले भर्ना हुन पाउनुपर्छ भनी उनले मसँग अड्डी लिए। बातचितका क्रममा उनले बडो चित्ताकर्षक ढंगले एक पेसेवर व्यक्तिको मानसिकताको अर्थात् एकजना खप्पिस पाइलोटको मानसिकताको बडो पाशविक झाँकी मलाई उपलब्ध गराए। आफ्नो कामसम्बन्धी उनको शब्दभण्डारलाई ‘भित्रिया’को शब्दभण्डार भनी बयान गर्न सकिन्थ्यो। ‘तपाईं विमान सेवामा साँच्चि नै के गर्नुहुन्छ ?’ भनेर जिरहपूर्वक मैले सोधेको प्रश्नको उनीबाट ‘निशाना प्राप्ति’ भन्ने उत्तर पाउँदा मेरो मनमा जुन झट्का लाग्यो, त्यसलाई म कहिल्यै बिर्सने छैन। उनी बमवर्षक हुन् र उनको काम बम वर्षा गर्नु हो भन्ने कुरा ठम्याउन मलाई अरू निकै मिनेट लाग्यो किनभने एक खास अर्थमा बाहिरिया मानिसले उनको दर्जाको सोझै भेउ नपाओस् भनेर उसका आँखा छल्ने र उनलाई छक्याउने गरी त्यसमा पेसागत भाषाको लेप लगाइएको थियो। जे होस्, मैले उनलाई पाठ्यक्रममा भर्ना गरिदिएँ। उनको निकट सम्पर्कमा रहेर उनलाई भ्याएसम्म फकाई–फुल्याई र सम्झाई–बुझाई गर्दै त्यो सुन्दैमा आङ सिरिंग हुने विकृत भाषा अर्थात् ‘निशाना प्राप्ति’जस्तो भाषा त्याग्न लगाउन सकूँला कि भन्ने मलाई लागेको थियो।
मलाई के लाग्छ भने नीति निर्माण गर्ने र जागिर, वृत्ति, बढुवा आदि दिन वा रोक्न सक्ने खालको ठालुवादमाथि नियन्त्रण कायम गर्नसक्ने संयन्त्रको नजिक रहेका बुद्धिजीवीहरू पेसागत रूपले आँखा चिम्लेर त्यस संयन्त्रका पाइला नपछ्याउने व्यक्तिहरूको निगरानी राख्छन् र बिस्तारै–बिस्तारै त्यस्ता व्यक्तिहरूलाई आफ्ना हाकिमहरूका नजरमा विवादास्पद र असहयोगी पात्रका रूपमा प्रस्तुत गरिदिन्छन्। निश्चय नै बुझ्न सकिने कुरा के हो भने तपाईं कुनै काम सम्पन्न गराउन चाहनुहुन्छ भने— भनौं न तपाईं र तपाईंको टोलीले राज्य विभाग वा विदेश विभागलाई अर्को हप्तासम्ममा बोस्नियाबारे एउटा नीतिगत कार्यपत्र उपलब्ध गराउनु छ भने— तपाईंको वरिपरि बफादार, समान अवधारणा भएका र उस्तै भाषा बोल्ने मानिसहरूको झुण्ड हुनु जरुरी छ। मैले सधैं कस्तो अनुभव गरेको छु भने खास पेसागत धर्ममा संलग्न भई सत्ता र शक्तिको सेवा गर्ने र सेवाबापत पाइने फलको आशा गर्नेहरूलाई मैले यहाँ चर्चा गरेजस्तो आलोचनात्मक र तुलनात्मक रूपमा स्वतन्त्र ढंगको विश्लेषण गर्ने वा यस्तो मत राख्ने छुट हुँदैन। तर, मेरो विचारमा बौद्धिक कर्म भनेकै स्वतन्त्र विश्लेषण गर्नु र आलोचनात्मक हुनु हो। अर्को शब्दमा, सही ढंगले भनूँ भने बौद्धिक भनेको सरकार वा विशाल निगम वा अझ समान भावना भएका पेसेवरहरूको संघका नीतिगत लक्ष्यहरूप्रति आफूलाई पूर्ण रूपले समर्पण गर्ने कर्मचारी वा सेवक होइन। यस्ता स्थितिहरूमा आफ्नो नैतिक भावनालाई तिलाञ्जलि दिने वा पूर्ण रूपले विशिष्टताको परिधिभित्र रहेर सोच्ने वा संस्थापनको पक्षमा सन्देहलाई कटौती गर्नेजस्ता प्रलोभनहरू एकदमै प्रबल हुन्छन्। थुप्रै बौद्धिकहरू यी प्रलोभनहरूका सामु पूरापूर घुँडा टेक्छन् र केही मात्रामा त हामी सबै नै घुँडा टेक्छौं। पूर्ण रूपले आत्मनिर्भर त कोही पनि हुँदैन। स्वतन्त्र भावनाका महानतम् हस्तीहरूसमेत पनि पूर्ण रूपले आत्मनिर्भर हुँदैनन्।
पेसेवर हुनुको सट्टा सोखिन प्रवृत्तिको हुनु अपेक्षाकृत रूपले बौद्धिक स्वतन्त्रता कायम राख्ने निश्चय नै राम्रो तरिका हो भन्ने कुरा त मैले यसअघि नै औंल्याइसकेको छु। तर, एकछिन म व्यावहारिक र वैयक्तिक विषयमा चर्चा गरुँ। पहिलो कुरा, सोखिनपनाको अर्थ विज्ञहरू र पेसेवरहरूको नियन्त्रणमा रहने भित्रियाहरूको वृत्तको सट्टा सार्वजनिक क्षेत्रमा जोखिमहरू र अनिश्चित नतिजाहरूलाई रोज्नु हो। अर्थात् व्यापक र बेरोकटोक वितरण हुने व्याख्यान वा पुस्तक वा लेखलाई रोज्नु हो। दुई वर्षयता सञ्चार माध्यमहरूले मसँग तलबी परामर्शदाता बनिदिन अनेकौं पटक अनुरोध गरेका छन् तर मैले ती अनुरोधहरू अस्वीकार गरेँ। यसो गर्नाको एक मात्र कारण के हो भने तिनलाई स्वीकार गर्नु भनेको एउटा टेलिभिजन स्टेसन वा पत्रिकामा सीमित हुनु र प्रचलित राजनीतिक भाषा र त्यस वृत्तको धारणागत खाकामा सीमित हुनु पनि हो। त्यसैगरी सरकारी तलबी परामर्शदाता बन्ने कुरामा मैले कहिल्यै रुचि राखिनँ किनभने त्यहाँ पछि गएर तपाईंका विचारहरूको प्रयोग के कुरामा गरिएला भन्ने कुराको तपाईंलाई अत्तोपत्तो हुँदैन। दोस्रो कुरा, एकातिर कुनै विश्वविद्यालयले तपाईंलाई सार्वजनिक रूपबाट व्याख्यान दिन अनुरोध गर्छ भने वा अर्कातिर तपाईंलाई अधिकारीहरूको सानो र बन्दकोठे मण्डलीसँग मात्र वार्ता गर्न अनुरोध गरिन्छ भने त्यस्तो स्थितिमा शुल्क लिएर प्रत्यक्ष रूपबाट ज्ञानको आपूर्ति गर्नु एकदमै फरक कुरा हो। त्यो कुरा मलाई एकदमै सुस्पष्ट लाग्छ, त्यसकारण मैले विश्वविद्यालयमा व्याख्यान दिने अनुरोधहरूलाई सधैं स्वागत गरेको छु र अन्य अनुरोधहरूलाई चाहिँ सधैं अस्वीकार गरेको छु। र तेस्रो कुरा, बढी राजनीतिक कुरा गर्ने हो भने कुनै प्यालेस्टिनी समूहले मद्दत माग्दा वा कुनै दक्षिण अफ्रिकी विश्वविद्यालयले त्यहाँ गएर रंगभेदविरुद्ध र प्राज्ञिक स्वतन्त्रताको पक्षमा बोल्न आग्रह गर्दा मैले सधैं नै स्वीकार गरेको छु।
आखिरमा म त्यस्ता ध्येयहरू र विचारहरूबाट संवेदित हुन्छु, जसलाई समर्थन गर्न म साँच्चि नै हात बढाउन सक्छु किनभने जुन मूल्य र मान्यताहरूमाथि मेरो विश्वास छ, ती ध्येय र विचारहरूले यी मूल्य र मान्यताहरूसँग मेल खान्छन्। त्यसकारण म आफूलाई साहित्यसम्बन्धी आफ्नो पेसागत प्रशिक्षणको घेरामा सीमाबद्ध भएको ठान्दिनँ। अनि आधुनिक युरोपेली र अमेरिकी साहित्य पढाउने प्रमाणपत्र मात्र पाएको कारणले म आफूलाई सार्वजनिक नीतिजस्ता विषयहरूबाट पाखा परेको छु भन्ने पनि ठान्दिनँ। म यीभन्दा व्यापक विषयहरूमा बोल्ने र लेख्ने गर्छु किनभने एकजना नवप्रवेशी सोखिनको हैसियतले म त्यस्ता प्रतिबद्धताहरूबाट प्रेरित हुन्छु, जुन प्रतिबद्धताहरू मेरो साँघुरो पेसागत वृत्तिको परिधिभन्दा धेरै परसम्म विस्तारित हुन्छन्। यी विचारहरूका नयाँ र व्यापक श्रोताहरू प्राप्त गर्न म निश्चय नै सचेत रूपले प्रयास गर्छु। म यी विचारहरू कक्षा कोठाभित्र कदापि प्रस्तुत गर्दिनँ।
तर, सार्वजनिक क्षेत्रका यी कच्चा बौद्धिक धावाहरू साँच्चि नै के हुन् त ? कुनै बौद्धिक आफ्ना आदिम परिचय जस्तै नश्ल, जात वा धर्म वा स्थानिकताप्रतिको सहजवृत्तिमूलक भक्तिभावले उत्तेजित भएर कुनै बौद्धिक कर्मप्रति प्रवृत्त हुन्छ वा त्यस्ता अरू केही सर्वव्यापी र तर्कसंगत सिद्धान्तहरू छन्, जसले उसको लेखन र वचनलाई निर्देशित गर्न सक्छन् ? वास्तवमा म यहाँ बौद्धिकका लागि एउटा आधारभूत प्रश्न सोध्दैछु : कसरी कोही सत्य बोल्न सक्छ ? कुन सत्य ? कसका लागि र कहाँ ?
दुर्भाग्यवश, हामीले के भनेर प्रत्युत्तर दिन सुरु गर्नुपर्छ भने बौद्धिकलाई यी प्रश्नहरूका प्रत्यक्ष उत्तरहरू उपलब्ध गराउन सक्ने व्यापक र निश्चित रूपले पर्याप्त खालको कुनै पनि प्रणाली वा पद्धति छैन। यस लौकिक (सेक्युलर) जगत्मा अर्थात् हाम्रो जगत्मा, मानवीय प्रयासबाट निर्माण गरिएको ऐतिहासिक र सामाजिक जगत्मा बौद्धिकले कार्य गर्ने माध्यमका रूपमा ऊसँग लौकिक साधनहरू मात्र हुन्छन्। धार्मिक आत्मबोध तथा प्रेरणा निजी जीवनलाई बुझ्ने एकदमै सम्भाव्य तरिका भए तापनि सिद्धान्तप्रति झुकाव राख्ने नरनारीहरूले सार्वजनिक रूपमा यस्ता तरिकाहरूलाई प्रयोग गरेको खण्डमा भने त्यसबाट बर्बादीपूर्ण, अझ बर्बरतापूर्ण नतिजाहरू निस्कनेछन्। म त साँच्चि नै केसम्म भन्छु भने बौद्धिकले पवित्र स्वप्नदृष्टि वा ग्रन्थका सबै संरक्षकसँग जीवनभरिको विवादमा मुछिनैपर्छ, जसबाट असंख्य विध्वंशहरू भएका छन् र जसको ठालुगिरीले असहमतिलाई र निश्चय नै विविधतालाई एकरत्ति छुट दिँदैन। लौकिक बौद्धिकले प्रतिरक्षा गर्नुपर्ने प्रमुख कुरा विचार र अभिव्यक्तिको सम्झौताहीन स्वतन्त्रता हो। यसको प्रतिरक्षा गर्ने कार्यलाई तिलाञ्जलि दिनु वा यसको कुनै पनि आधारशीलालाई प्रदूषित तुल्याउने कार्यलाई सहनु भनेको वास्तवमा बौद्धिकको दायित्वप्रति विश्वासघात गर्नु हो। तसर्थ सलमान रुस्दीको ‘सैतानका सिलोकहरू’को प्रतिरक्षा गर्नु त्यस कृतिका हकमा तथा पत्रकार, उपन्यासकार, निबन्धकार, कवि र इतिहासकारहरूको अभिव्यक्तिको अधिकारविरुद्ध हुनसक्ने अरु प्रत्येक अतिक्रमणका हकमा एकदमै केन्द्रीय सवाल बनेको छ।
यो इस्लामी जगत्का मानिसहरूको सवाल मात्र नभई यहुदी र इसाई जगत्का मानिसहरूको सवाल पनि हो। अन्य क्षेत्रहरूलाई उपेक्षा गरेर कुनै एक क्षेत्रमा एक्लै अभिव्यक्ति स्वतन्त्रताको खोजी गर्न सकिँदैन किनभने जुन प्राधिकारहरू दैवी आदेशको प्रतिरक्षा गर्नका लागि लौकिक अधिकारको दाबी गर्छन्, त्यसमा कुनै पनि वादविवादलाई स्थान हुँदैन। तर, बौद्धिकहरूका हकमा, सत्यको खोजी गर्ने कडिकडाउ वादविवाद नै बौद्धिक क्रियाकलापको गाँट्ठी कुरा हो। धार्मिक निष्ठाबिनाका बौद्धिकहरूका हकमा यो नै त्यो रंगमञ्च र परिवेश हो, जसमा उनीहरूले साँच्चि नै कार्य गर्छन्। तर, हामी फेरि सुरुकै बिन्दुमा आइपुग्यौं : हामीले के कस्ता सत्य र मान्यताहरूको प्रतिरक्षा गर्नु, ध्वजा उठाउनु र प्रतिनिधित्व गर्नुपर्ला ? यो कठिन मामिलाबाट पन्छिने बाइबलको पोन्टियस पिलेटको जस्तो प्रश्न होइन तर यो त त्यस्तो सर्वेक्षणको आवश्यक सुरुआत हो, जहाँ आज बौद्धिकहरू उभिएका छन्। वास्तवमा आजका बौद्धिकहरू छलकारी र उत्खनन नगरिएको खनिज क्षेत्रको सेरोफेरोले घेरिएका छन्।
अहिलेसम्म अत्यन्तै विवादास्पद रहेको वस्तुनिष्ठता वा अचुकपना वा तथ्यहरूजस्तो सिंगो विषयलाई प्रस्थान बिन्दुका रूपमा लिऔं। सन् १९८८ मा अमेरिकी इतिहासकार पिटर नोभिकले एउटा अजंग ठूलो ठेली प्रकाशित गरे। उक्त ठेलीको शीर्षकले विशिष्ट निपुणतासाथ विषयको धर्मसंकटलाई नाटकीकरण गर्यो। ठेलीको शीर्षक ‘त्यो उच्च सपना’ थियो र त्यसको उप–शीर्षकचाहिँ ‘वस्तुनिष्ठताको प्रश्न’ र ‘अमेरिकाका ऐतिहासिक प्राध्यापक’ थियो। नोभिकले संयुक्त राज्य अमेरिकाको एक शताब्दीको वंशावलीसम्बन्धी उद्यमबाट प्राप्त सामग्रीहरूको उपयोग गर्दै ऐतिहासिक अनुसन्धानको गाँट्ठी कुरो—अर्थात् वस्तुनिष्ठताको आदर्श जसद्वारा इतिहासकारले तथ्यहरू यथार्थपरक तथा अचुक तरिकाले प्रस्तुत गर्ने अवसर छोप्छ— परस्पर प्रतिस्पर्धा गर्ने दाबीहरू र प्रति–दाबीहरूको दलदलका रूपमा कसरी क्रमशः विकसित भयो भन्ने कुरा देखाएका छन्। यी सबै दाबी र प्रति–दाबीहरूलाई घोलेर र गालेर वस्तुनिष्ठता के हो भन्नेबारे इतिहासकारहरूको बीचमा थोरैभन्दा थोरै सहमतिको झलक देखा पर्न गयो। तर, कहिलेकाहीँ त त्यतिसम्म सहमति पनि भएन। वस्तुनिष्ठताले युद्ध कालमा ‘हाम्रो’ अर्थात् फासिस्ट जर्मनीको सत्यको विपरीत अमेरिकी सत्यको सेवा गर्नुपर्थ्यो। अनि शान्ति कालमा चाहिँ परस्पर प्रतिस्पर्धा गर्ने महिला, अफ्रिकी अमेरिकीहरू, एसियाली अमेरिकीहरू, समलिंगीहरू, गोरा पुरुषहरू आदि इत्यादि अलग–अलग समूहरू र प्रत्येक चिन्तन धारहरू (जस्तो कि माक्र्सवादी, संस्थापन, विनिर्माणवादी, सांस्कृतिक चिन्तन धारहरू)को सेवा गर्नुपर्थ्यो। नोभिक प्रश्न गर्छन्— ज्ञानहरूका बीचमा यस्तो विचारहीन र अन्योलपूर्ण फतरफतर भएपछि ज्ञानको के नै पो सम्भावित सञ्चय होओस् र ? अनि उनी बडो शोकमय ढंगले के निचोड निकाल्छन् भने ‘बहसको एक व्यापक समुदायका रूपमा, साझा उद्देश्यहरू, साझा मानकहरू र साझा प्रयोजनहरूद्वारा एकताबद्ध हुने विद्वान्हरूको समुदायका रूपमा, इतिहास नामक ज्ञानशास्त्रको अस्तित्व रहन छाडेको छ। ‘न्याय निरुपणकर्ताहरूको पुस्तक’को पछिल्लो संस्करणमा (इतिहासको) प्राध्यापकको बयान यसरी गरिएको छ— त्यसबेला इजरायलमा राजा थिएन। त्यसकारण हरेक मानिस आफूलाई जे ठीक लाग्यो त्यही गर्थ्यो।’
मैले आफ्नो अघिल्लो व्याख्यानमा चर्चा गरेभैंm प्रश्न गर्नु नै हाम्रो शताब्दीका प्रमुख बौद्धिक कार्यकलापहरूमध्ये एउटा कार्यकलाप भइआएको छ, अधिकारीहरूलाई हानि पुर्याउनुका त कुरै नगरौं। त्यसकारण नोभिकका खोजहरूमा थपथाप गर्ने गरी हामीले के भन्नुपर्ने छ भने के कुराबाट वस्तुनिष्ठताको निर्माण हुन्छ भन्ने विषयमा सर्वसम्मति गायब भएको मात्र नभई ईश्वरलगायत थुप्रै परम्परागत प्राधिकारहरू मुख्य रूपले बढारिएका छन्। दार्शनिकहरूको एउटा प्रभावशाली चिन्तन धार पनि रहिआएको छ, जसमा मिसेल फुको निकै उच्च तहमा पर्छन्। यी दार्शनिकहरूको के भनाइ छ भने कुनै लेखकको (जस्तो कि ‘मिल्टनका कविताहरूको लेखक’) कुरा गर्नु नै मात्र पनि एकदमै पक्षधरतामुखी कुरा हो, विचारधारात्मक अतिरञ्जनाका त कुरै नगरौं।
यो एकदमै डरलाग्दो आक्रमणको अगाडि भूमण्डलीय नव–आरक्षण आन्दोलनले प्रकट गरेजस्तो हात बाँधेर पंगुपना प्रदर्शन गर्दै पछि हटेर वा मूढे बलको सहाराले परम्परागत मूल्यहरूको पक्षमा हठ प्रदर्शन गरेर काम चल्दैन। मलाई लाग्छ, के कुरा सत्य हो भने वस्तुनिष्ठता र प्राधिकारका आलोचकहरूले लौकिक जगत्मा मानिसहरूले आफ्ना सत्यहरूको निर्माण कसरी गर्छन् भन्ने कुरामा जोड दिएर सकारात्मक सेवा गरेका छन् र उदाहरणका लागि शास्त्रीय युरोपेली औपनिवेशिक साम्राज्यहरूद्वारा निर्माण गरी कायम राखिएको गोरा मानिसहरूको श्रेष्ठतासम्बन्धी तथाकथित वस्तुनिष्ठ सत्य पनि अफ्रिकी र एसियाली जनताहरूलाई हिंसात्मक रूपले अधीनस्थ तुल्याउने कार्यमा आधारित थियो। अनि त्यत्तिकै सत्य कुरा के हो भने यी जनताहरूले पनि उनीहरूको आफ्नै स्वाधीन व्यवस्था जुटाउनका निमित्त आफूमाथि थोपरिएको त्यो खास ‘सत्य’विरुद्ध संघर्ष गरेका थिए। यसरी अहिले प्रत्येक मानिस यो विश्वबारे प्रायः हिंसात्मक रूपले नयाँ र विरोधी विचार लिएर अघि सर्छ। जस्तो कि जुडियो–इसाई मूल्यहरू, अफ्रिकाकेन्द्री मूल्यहरू, मुस्लिम सत्यहरू, पूर्वेली सत्यहरू र पश्चिमी सत्यहरूमध्ये हरेक सत्य अरू सबैलाई बहिष्कृत गर्ने पूर्ण कार्यक्रम लिएर अघि सर्छ। यतिखेर विदेशमा जताततै कुनै पनि व्यवस्थाले सम्हाल्न नसक्ने गरी असहिष्णुता र कर्कश दृढोक्ति व्याप्त छ।
परिणामस्वरूप विश्वव्यापी मूल्य र सत्यको झन्नै पूरापूर अभाव छ यद्यपि शब्दालड्ढारले, दृष्टान्तका लागि, प्रायःजसो के कुरा संकेत गर्छ भने ‘हाम्रा’ मूल्यहरू (ती चाहे जेसुकै होऊन्) वास्तवमा विश्वव्यापी छन्। म मात्र जान्ने हुँ भन्दै अरू कसैका समाजमा हुने दुरुपयोगहरूबारे डिङ हाँक्नु र आफ्नै समाजमा चाहिँ ठीक त्यस्तै व्यवहारहरूलाई क्षमा दिनु बौद्धिक दाउपेचहरूमध्ये सबैभन्दा तुच्छ दाउपेच हो। मेरो दृष्टिमा शास्त्रीय उदार मूल्यहरू तथा पश्चिमा लोकतान्त्रिक मूल्यहरूमा विश्वास गर्ने हामी शिक्षितहरूमध्ये धेरैजसोलाई यस कुराको श्रेष्ठ उदाहरण उन्नाइसौं शताब्दीका प्रखर फ्रान्सेली बौद्धिक अलेक्सिस दे तोक्वेभीलेले नमुनाका रूपमा झन्नै अक्षरशः उपलब्ध गराइदिएका छन्। अमेरिकी लोकतन्त्रको मूल्यांकनसम्बन्धी रचना लेखेपछि र भारतीयहरू र अश्वेत दासहरूप्रतिको अमेरिकी दुव्र्यवहारको आलोचना गरेपछि तोक्वेभीले पछि गएर सन् १८३० को उत्तराद्र्धमा र १८४० को दशकमा अल्जेरियामा फ्रान्सेली उपनिवेशवादी नीतिहरूलाई सम्हाल्नु परेको थियो। त्यहाँ मार्सल बुथिअउदको नेतृत्वमा फ्रान्सेली आधिपत्यकारी सेनाले अल्जेरियाली मुसलमानहरूका विरुद्ध थामथुम पार्ने जंगली युद्ध चलाएको थियो। तोक्वेभीलेले जुन मान्यताअनुसार अमेरिकी ज्यादतीको बडो मानवीय ढंगले विरोध गरेका थिए, अल्जेरियासम्बन्धी उनका विचार पढ्दा फ्रान्सेली कारबाहीको हकमा उनले त्यस मान्यतालाई हठात् निलम्बन गरेको कुरा थाहा हुन आउँछ। उनले कारणहरू दिएका छैनन् भन्ने होइन। कारणहरू त दिएका छन् तर ती कारणहरू अपत्यारिला आडम्बर मात्र हुन् र त्यसको प्रयोजनचाहिँ उनले भन्ने गरेको राष्ट्रिय गौरवको नाममा फ्रान्सेली उपनिवेशवादलाई छुट दिनु हो। नरसंहारले उनको हृदय पगाल्दैन। उनी त मुसलमानहरू तुच्छ धर्मका मानिस हुनाले तिनलाई अदपमा राख्नैपर्छ भन्छन्। छोटकरीमा, अमेरिकाको हकमा उनले प्रयोग गरेको आफ्नै भाषाको स्पष्ट विश्वव्यापकतालाई उनले इन्कार गरेका छन्। आफ्नो देश फ्रान्सले अमेरिकाका जस्तै अमानवीय नीतिहरूको अनुसरण गर्दा त्यसमा पनि सोही भाषालाई लागू गर्न उनले बडो स्वेच्छाचारी ढंगले इन्कार गरेका छन्।
तर यहाँ के कुरा थप्नैपर्छ भने तोक्वेभीले (र यस सन्दर्भमा लोकतान्त्रिक स्वतन्त्रतासम्बन्धी आफ्ना प्रशंसनीय विचारहरू भारतको हकमा लागू हुँदैनन् भन्ने जोन स्टुअर्ट मिल) त्यो अवधिमा बाँचेका थिए, जुन अवधिमा अन्तर्राष्ट्रिय व्यवहारसम्बन्धी विश्वव्यापी मान्यता विषयक विचारहरूको व्यावहारिक अर्थ युरोपेली सत्ताहरूको अधिकारको र युरोपले अरू मानिसहरूमाथि हैकम चलाउने कुराको प्रतिनिधित्व हो भन्ने कुरा झल्किन्थ्यो किनभने त्यस बेला संसारका अश्वेत जनता एकदमै व्यर्थका र गौण लाग्थे। त्यसबाहेक, उन्नाइसौं शताब्दीका पश्चिमाहरूका अनुसार औपनिवेशिक सेनाहरूले एकतर्फी रूपबाट कालो वा खैरो छाला भएका जातिहरूमाथि लागू गरेका भयानक बर्बरतायुक्त कानुनहरूलाई चुनौती दिने सामथ्र्य भएका स्वतन्त्र अफ्रिकी वा एसियालीहरू छँदै थिएनन्। शासित हुनु नै उनीहरूको नियति थियो। फ्रान्ज फनोन, अइमे सिजायर र सीएलआर जेम्सजस्ता साम्राज्यवादविरोधी तीन महान् बौद्धिकहरूको कुरा गर्ने हो भने बीसौं शताब्दीसम्म उनीहरूको जीवन र लेखनको उदय नै भएको थिएन। त्यसकारण उनीहरूले र उनीहरू एक अंगका रूपमा रहेका मुक्ति आन्दोलनहरूले औपनिवेशीकृत जनताहरूप्रति गरिनुपर्ने समान व्यवहारहरूको अधिकारलाई सांस्कृतिक तथा राजनीतिक दृष्टिले स्थापित गर्न जे कार्य सम्पन्न गरे, त्यो सम्भावना तोक्वेभीले वा मिललाई उपलब्ध थिएन। तर, समकालीन बौद्धिकहरूलाई भने यी परिवर्तित दृष्टिकोणहरू उपलब्ध छन्। तैपनि यी बौद्धिकहरूले प्रायः अनिवार्य निचोडहरू निकालेका छैनन्। कुरो के हो भने तपाईं मूलभूत मानवीय न्यायको ध्वजा उठाउन चाहनुहुन्छ भने तपाईंले तपाईंतर्पmका, तपाईंको संस्कृतिका र तपाईंको राष्ट्रका मानिसहरूले ठीक ठहर्याउने ध्वजा मात्र नउठाई सबैका लागि त्यो ध्वजा उठाउनैपर्छ।
त्यसकारण आफ्नो पहिचान र आफ्नो संस्कृति तथा आफ्नो समाज र आफ्नो इतिहासलाई अन्य पहिचानहरू, संस्कृतिहरू र जनताहरूका वास्तविकतासँग कसरी तालमेल गराउने भन्ने समस्या आधारभूत समस्या हो। जे चीज अघि नै आफ्नो भइसकेको छ, त्यसलाई दह्रोसँग प्रमुखता दिएर मात्र यो कार्य कदापि गर्न सकिँदैन। अर्थात्, तर्कहीन ढंगले ‘हाम्रो’ संस्कृतिका गौरवहरू वा ‘हाम्रो’ इतिहासका विजयहरूको गौरवगान गर्दै होहल्ला मच्चाउनु बौद्धिकको ऊर्जा खर्च गरिनलायकको काम होइन। विशेष गरेर आज विभिन्न जातिहरू र पृष्ठभूमिहरूबाट बनेका अनेकौं समाजहरू धेरैलाई घुलमिल गरेर निषेध गर्ने सूत्रहरूको प्रतिकार गर्न तत्पर भएको बेलामा यो बौद्धिक ऊर्जा खर्च गर्न लायकको काम होइन। मैले यहाँ के कुरा देखाउन खोजेको हुँ भने जुन सार्वजनिक क्षेत्रमा बौद्धिकहरूले आफ्नो प्रतिनिधित्व जनाउँछन्, त्यो अत्यन्तै जटिल छ र त्यसमा असुविधाजनक कुराहरू रहेका हुन्छन् तर उक्त क्षेत्रमा गरिने प्रभावकारी हस्तक्षेपको अर्थ न्याय र निष्पक्षतासम्बन्धी धारणाको त्यस्तो दृढ निष्ठामा आधारित हुनुपर्छ, जसले राष्ट्रहरू र व्यक्तिहरूका बीचका भिन्नताहरूलाई छुट देओस् र साथसाथै जसले उनीहरूमाथि गुप्त तहगत प्रणालीहरू, प्राथमिकताहरू र मूल्यांकनहरू नथोपरोस्। आज प्रत्येक मानिसले सबैका लागि समानता र सामञ्जस्यताको भाषाको पुर्पच्छे गर्नैगर्छ। बौद्धिकको समस्याचाहिँ यी धारणाहरूलाई वास्तविक स्थितिहरूमा लागू गर्नु हो, जहाँ एकातिर समानता र न्यायसम्बन्धी व्यवसाय र अर्कोतिर नैतिक परिस्कारलाई कम महत्त्व दिने यथार्थका बीचको खाडल ज्यादै ठूलो छ।
(प्राध्यापक सइद (१९३५–२००३) साहित्यशास्त्री तथा बीसौं शताब्दीका ख्यातनाम सार्वजनिक बौद्धिक, उत्तरऔपनिवेशिक अध्येता हुन्। उनका ‘ओरिएन्टलिजम’, ‘कल्चर एन्ड इम्पेरियलिजम’, ‘रिप्रेजेन्टेसन्स् अफ द इन्टेलेक्चुअल’ जस्ता धेरै पुस्तक प्रसिद्ध छन्। यो निबन्धको पूर्ण पाठ खगेन्द्र संग्रौलाको प्रकाशोन्मुक अनुवाद–पुस्तक ‘सत्ता र विचार’मा छापिनेछ। ‘अजम्मरी गाउँ’, ‘एक पिताका सम्झनाहरू’, ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’, ‘प्रथम शिक्षक’देखि सन्दुक रुइतको जीवनकथासम्म अनुवाद गर्ने संग्रौला निबन्धमा जस्तै अनुवादमा पनि अजम्मरी नाउँ हो।)