तिलोत्तमा क्षेत्रमा सहरीकरण तीव्र
रूपन्देही : खेतीयोग्य जमिन रहेको रूपन्देहीको तिलोत्तमा नगरपालिकामा तीव्र सहरीकरण भइरहेको छ। खेतीयोग्य जमिन मासेर प्लटिङ भएपछि वस्ती बढ्दै गएको हो। बस्ती नभएको क्षेत्र बाँझिएको छ।
नगरभित्र दैनिक औसत पाँचवटा घर थपिने गरेका छन्। आर्थिक वर्ष २०७५/०७६ मा मात्र तिलोत्तमामा घर निर्माणका लागि एक हजार पाँच सय ९३ नक्सा दर्ता भएका छन्। असार, साउन र भदौ बाहेकका महिनामा तिलोत्तमामा घर निर्माणको नक्सा दर्ता, तला थप र ट्रस हाल्न निवेदन दिनेको ओइरो लाग्ने गरेको छ। २०७५ पुस महिनामा मात्र एक सय ९९ वटा नयाँ घरका लागि नक्सा दर्ता भएको थियो।
तिलोत्तमाका १७ वटा वडामध्ये साविक शंकरनगर र आनन्दवन गाविस रहेको १ देखि ६ नम्बर वडामा घर निर्माण भनै तीव्र देखिएको नगरपालिकाका इन्जिनियर मनिष खनालले बताए। ‘बुटवलमा खाली जग्गा नहुने। भैरहवामा टाढा मान्ने गरेका कारण तिलोत्तमामा घर थपिइरहेका छन्’, उनले भने ‘पहाडी जिल्लाबाट बसाइसराइ भएर आउने धेरैले योगिकुटीदेखि मणीग्रामसम्मका ठाउँमा घर बनाएका छन्।’

जिल्लाका दुई पुराना सहर बुटवल र भैरहवाको बीचमा विगतमा कतैकतै मात्र बस्ती थिए। दन्दकालमा बसाइसराइका कारण बस्ती बढ्ने क्रम सुरु भएको तिलोत्तमा २ का वडाध्यक्ष दधिराम गौतम बताउँछन्। ‘त्यतिबेला यहाँ शान्ति क्षेत्र जस्तो थियो। सहर नजिक खुल्ला ठाउँ भएकाले पहाडबाट बसाइँसराइ भएर आउन थाले। उनले भने, ‘जनआन्दोलनपछि त घडेरी किनबेचले झनै मानिस बढे।’ एक दशक अघिसम्म पनि सडक किनारबाहेक बाँकी धेरै ठाउँमा खेतियोग्य जमिन थियो। तर अहिले ती खेतियोग्य जमिनमा बस्ती भरिएका छन्। बाँकी रहेका जग्गा पनि प्लटिङ र कित्ताकाटबाट टुक्राटुक्रा भएका छन्।
‘विगतमा प्लटिङ र किनबेच बढी थियो। अहिले कित्ताकाँटमा नगरपालिकाले कडाइ गरेपछि त्यो किनबेच रोकिएको छ।’ वडाध्यक्ष गौतम भन्छन्,‘अहिले ती टुक्रे घडेरीमा धमाधम घर बनिरहेका छन्।’ विगतमा शान्त, सुविधायुक्त, बस्नयोग्य आवास क्षेत्र रहेको शंकरनगर र मणीग्राम क्षेत्र तीव्र सहरीकरणका कारण कोलाहलयुक्त बन्दै छ। बुटवल भैरहवाको ६ लेन सडक र मणीग्राम पूर्व र पश्चिममा रहेको बुद्ध परिपथका कारण पनि बस्ती बढेको छ। ठूलाठूला व्यापारिक भवन, होटल, कार्यालय, उद्योग पनि थपिइरहेका छन्। तीव्र सहरीकरणका कारण खुला ठाउँ पनि मासिँदै गएको छ।
साविक शंकरनगरमा क्षेत्रमा खोला किनारबाहेक अन्त सार्वजनिक जग्गा जमिन नै छैन। मणीग्राम क्षेत्रमा कता कति मात्र सार्वजनिक जग्गा भेटिन्छ। कतिपय सार्वजनिक जग्गामा सरकारी कार्यालय, तथा अन्य पूर्वाधारका लागि जग्गा उपलब्ध गराउने तयारी भएको छ। पहिले कित्ताकाट गरिएका जग्गामा साँघुरा बाटा छन्। १५–२० फूटको बाटोमा घर भरिदा बस्तीको सुन्दरता गुम्दै छ। ‘तिलोत्तमामा सहरीकरण त निश्चित नै छ। तर त्यसलाई व्यवस्थित गर्नेतर्फ नगरपालिकाले ध्यान दिन आवश्यक छ।’
तिलोत्तमा क्षेत्रका इन्जिनियर तथा स्थानीय रेडियो लुम्बिनीका अध्यक्ष दुजेन्द्र बस्नेत भन्छन्, ‘भोलि बस्तीमा दमकल छिर्ने बाटोको अभाव नहोस्।’ तीव्र सहरीकरणले खानेपानी, फोहर व्यवस्थापन, सावजनिक जग्गा अतिक्रमण लगायतका भविश्यमा आइपर्ने समस्यालाई पनि अहिले ध्यान दिनुपर्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस !