‘कारबाही गर्दा चालकले सडकमै मर्छु भने’

‘कारबाही गर्दा चालकले सडकमै मर्छु भने’

आरामै हुनुहुन्छ?

आरामै छु। 

तीज मनाइयो?

मनाइयो।

कसरी मनाउनुभयो?
अफिसले हरेक वर्ष तीजमा दर खुवाउँछ। स्टाफ दिदीबहिनीसँग नाचगान गरियो। व्रत बसियो।

महिला ट्राफिक प्रहरीलाई तीजको दिनमा बिदा हुन्छ कि हुँदैन?
व्रत बस्ने दिन चाहिँ बिदा हुन्छ। 

हप्तौँअघिदेखि सडकमा दर खान, तीज मनाउन हिँडेका महिलालाई देख्दा कस्तो महसुस हुन्छ? 
सबै जना रातो सारी, गरगहनामा चिटिक्क परेर तीजमा जान्छन्, आफू चाहिँ ड्युटीमा व्यस्त भइन्छ। आमाले पनि छोरी आइन भनेर गुनासो गर्नुहुन्छ। तर, त्यस्तो नरमाइलो मान्दैनौँ। तीजको मुख्य दिन त मनाउन पाइन्छ नि !

ट्राफिक प्रहरी भएर काम गर्न थाल्नुभएको कति भयो?
दुई वर्ष भयो।
 
पढाइ सकियो?
छैन। स्नातकोत्तर अन्तिम वर्षमा पढ्दै छु। 

कुन विषय लिएर पढ्नुभयो?
मेजर इंग्लिस। 

पढाइ र काम सँगसँगैे गर्न कत्तिको गाह्रो हुन्छ?
एकदमै गाह्रो छ। पढ्नै भ्याइँदैन। फुर्सदको बेलामा अलि–अलि किताब हेरिन्छ। 

परिवारमा को–को हुनुहुन्छ?
आमाबा, दुई जना भाइ, दिदी र श्रीमान्। 

घरपरिवार र कामका लागि समय व्यवस्थापन कसरी गरिन्छ ?
श्रीमान् पनि प्रहरीमा नै हुनुहुन्छ। उहाँले बुझ्नुहुन्छ मेरो कामलाई। त्यसैले खासै गाह्रो भएको छैन। 

ट्राफिक प्रहरीमा आउँदा परिवारको कत्तिको साथ पाउनुभयो?
परिवारमा त ‘नजा’ नै भन्नुभएको थियो। तर, आफ्नै जिद्दीले काम गर्न थालियो। 

घर कता हो?
माइती संखुवासभा हो। घर कीर्तिपुर हो। 

कीर्तिपुरबाट एयरपोर्ट सधैँ आवतजावत गर्नुहुन्छ?
सधैँ गरिँदैन। कहिले यतै बस्छु, कहिले उता बस्ने गर्छु। 

एयरपोर्ट एरियाको मुख्य समस्या के छ?
यता चल्ने गाडीको स्पिड बढी हुन्छ। फराकिलो र खुल्ला बाटो भएर होला, धेरैले स्पिडमा गाडी कुदाउँछन्। त्यसैले दुर्घटना हुने सम्भावना बढी हुन्छ।

कस्ता सवारीसाधन  बढी कारबाहीमा पर्छन्?
लाइसेन्स नहुने, स्पिडमा कुदाउनेहरू कारबाहीमा बढी पर्ने गर्छन्। 

बिनालाइसेन्स गाडी चलाउनेहरू दिनमा कति भेटिन्छन्? 
चेकिङ पर्दा सातआठ वटा त भेटिन्छन् नै। चेकिङ नहुँदा पनि लाइसेन्स भएको÷नभएको चालकको हाउभाउ, क्रियाकलापबाट थाहा पाइहाल्छौँ। 

कारबाही गर्दा कुनै अप्ठ्यारो स्थिति आएको छ कि?
काठमाडौँ, थापाथलीमा ड्युटी गर्दा रङ साइडबाट कार आएको थियो। मैले कार रोकेँ, बिलबुक लाइसेन्स मागेँ। तर, चालकले दिन मानेनन्। त्यसपछि मैले कारबाट चाबी थुतेँ। त्यसपछि चालक ‘यहीँ मर्छु’ भन्दै कारमा टाउको ठोक्काउन थाले। मलाई धम्कयाउन थाले। यत्तिमै हाम्रा अरू साथी पनि आए। उनीहरूले मेरो मद्दत गरे। त्यो क्षण कहिल्यै बिर्सन्नँ। 

फिल्म हेर्न कत्तिको रुचाउनुहुन्छ?
एकदमै मन पर्छ। 

हलमा गएर पनि हेर्नुहुन्छ?    
हेर्छु, कहिलेकाहीँ। पछिल्लो समय हलमा गएर हेर्ने मौका जुरेको छैन। 

पछिल्लो समय हलमा गएर कुन फिल्म हेर्नुभएको थियो?
हिन्दी फिल्म ‘एक था टाइगर’ हेरेकी थिएँ। 

धुँवाधुलोले गर्दा के–कस्तो स्वास्थ्य समस्या भोग्नुपरेको छ?
सडकको धुँवाधुलोको असर सबैभन्दा बढी आँखामा परेको छ। आँखा चिलाउने, पोल्ने गर्छ। चस्मा लगाउनुपर्ने बनाइसक्यो धुलोले। 

ट्राफिक लाइट नहुँदा समस्या परेको छ?
ट्राफिक लाइट नभएर धेरै समस्या भएको छ। लाइट भएको भए सबै सिस्टममा चल्थ्यो। चालक र पैदलयात्री हामीदेखि रिसाउँदैनथे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.