रेडलाइट एरियामा जो रोए

रेडलाइट एरियामा जो रोए

नेपाली फिल्म क्षेत्रमा परिचित नाम हो, यादव खरेल। उनी बहुमुखी प्रतिभाका धनी हुन्। फिल्म निर्देशक, निर्माता, पटकथाकार, गीतकार, बालसाहित्य लेखक, सञ्चारकर्मी उनका अनेक परिचय छन्। अन्नपूर्ण सम्पूर्णका लागि (रेडलाइट एरियामा जो रोए) अस्मिता खड्काले यादव खरेलको प्रोफाइल तयार पारेकी छिन् ।


फिल्म निर्देशक यादव खरेलको जन्म १९९९ सालमा काभ्रेपलाञ्चोकको खरेलथोकमा भएको थियो। उनको परिवार तीनतिर छरिएर बसेको थियो। काभ्रे, सप्तरी र काठमाडौँमा। चाडपर्व र बिदामा उनी काभ्रे  जान्थे। उनको अक्षरारम्भ घरबाटै भएको थियो। विद्यालयमा त सीधै कक्षा पाँचमा भर्ना भएका थिए। ‘पूजा गरेर धुलौटो र कालोपाटीबाट मेरो अक्षरसँग चिनजान भएको थियो,’ उनले सम्झिए, ‘हाम्रो पालामा पाँच कक्षाभन्दा मुनि पढाइ हुँदैनथ्यो। घरमै आएर एक जना पाठक गुरुले अक्षर सिकाइदिनुहुन्थ्यो। धुलौटोमा निगालोको कलमले अक्षर लेख्न सिकेँ।’ जन्म काभ्रेमा भए पनि औपचारिक पढाइको सुरुवात काठमाडौँमा गरे। कक्षा पाँचदेखि पद्मोदय स्कुलमा भर्ना भए।  मीन ५० को छुट्टीमा काभ्रे र सप्तरी जान्थे। ‘त्यो समयमा अहिलेजस्तो मौसमअनुसार छुट्टी हुँदैनथ्यो,’ उनले सुनाए, ‘दशैँ–तिहार र जाडो याममा ५० दिन मात्र छुट्टी मिल्थ्यो।’ 

‘मीन भनेको माछा,’ मीन ५० को अर्थ खुलाउँदै उनले भने, ‘माछालाई पनि ५० दिनसम्म जाडो हुने भएकाले त्यो जाडो छल्न मंसिर २० देखि माघ १० गतेसम्म बिदा हुन्थ्यो। त्यो बिदामा मधेशतिर जान्थ्यौँ।’ बिदामा उनी काभ्रे र सप्तरी जान्थे। पढ्नमा औधी रुचि थियो। त्यसैले छुट्टीमा सप्तरी जाँदा त्यहाँको स्कुलमा भर्ना भएर पढ्न जान्थे। ‘मधेशमा भारतको राष्ट्रिय गान गाएपछि मात्र कक्षाकोठामा उपस्थित हुन पाइन्थ्यो,’ विगत सम्झिँदै उनले भने, ‘त्यसबेला मधेशमा भारतीय प्रभाव थियो। नेपाली राष्ट्रियगान गाउने चलन थिएन।’

सातआठ कक्षामा पुग्दासम्म उनलाई थाहा थिएन– भविष्यमा के बन्ने। ‘त्यो बेला पढ्नुपर्छ भन्ने मात्र थियो,’ उनले भने, ‘पढेर के बन्ने भन्नेतिर ध्यान जाँदैनथ्यो। दशँैमा ‘सुब्बा भएस्’ भनेर आशीर्वाद पाइन्थ्यो। पढेलेखेकाले सरकारी जागिर खानुपर्छ भन्ने सोच परिवारमा थियो।’ पाँचदेखि १० कक्षासम्म अनिवार्य रूपमा संस्कृत पढ्नुपथ्र्याे। त्योबेला हाईस्कुल नभएको उनले बताए। ‘म्याट्रिक (एसएलसी ) सम्मको अध्ययन पद्मोदय स्कुलबाट गरेँ,’ उनले भने, ‘बोर्ड परीक्षा भारतको पटना बोर्डसँग सम्बन्धन प्राप्त गरेको हुन्थ्यो। मैले पनि पटना बोर्डबाट म्याट्रिक पास गरेँ।’ पढाइमा उनी सालाखाला थिए। तर, खेलकुदमा राम्रा थिए। ‘स्कुल पढ्दाताका राम्रो फुटबल प्लेयर थिएँ,’ उनले सुनाए, ‘त्यतिबेला देवीमाया फुटबल सिल्ड हुन्थ्यो। त्यसमा स्कुले विद्यार्थी भाग लिन्थे। त्यसको फाइनलमा चाहिँ म पनि छानिन्थँे।’ 

आईए र स्नातक तहको पढाइ त्रिचन्द्र कलेजबाट गरे। दुई–दुई वर्षे आईए र बीएमा उनले अर्थशास्त्र, राजनीतिशास्त्र, अंग्रेजी र नेपाली पढे। २०२१ सालमा त्रिभुवन विश्वविद्यालयका पहिलो ब्याचका विद्यार्थीमध्ये एक हुन्, खरेल। त्योबेला त्रिभुवन विश्वविद्यालय काठमाडौँ, त्रिपुरेश्वरमा थियो। पछि उनी फिल्म स्टडी गर्न २०२५ सालमा बेलायत पुगे। लन्डन फिल्म युनिभर्सिटीमा फिल्म मेकिङसम्बन्धी अध्ययन गरे। 

प्रेरणाको स्रोत रेडियो नेपाल 

रेडियो नेपालमा नौ वर्ष काम गरेको अनुभव खरेलसँग छ। बालबाटिका कार्यक्रम, अन्तर्वार्ता, पत्रोत्तर, काव्य–कुञ्ज कार्यक्रम चलाउँथे। उनले रिले कार्यक्रम पनि चलाए। व्यापारिक सेवा र अन्य कार्यक्रम चलाउँथे। ‘विद्यार्थीका कार्यक्रममा राजाहरू आउँथे,’ विगत सम्झदै उनले भने, ‘राष्ट्रियस्तरका मान्छेहरूले भाग लिन्थे। शम्भुजीत बास्कोटा, भुवन केसी, राजेन्द्र थापा, दीपक जंगम, सन्तोष पन्त, नरहरि आचार्य भाग लिन आउँथे।’ रेडियो नेपालमा काम गर्दा उनले महिनाको तीन सय रुपैयाँ पारिश्रमिक पाउँथे। त्यहाँ आफूले धेरै कुरा सिक्ने मौका पाएको उनले बताए। ‘रेडियोलाई सिर्जनाको मन्दिर भन्न रुचाउँछु,’ उनले भने, ‘त्यो आराधना गर्ने ठाउँ हो। जति पनि स्रष्टा थिए, सबै जना पुग्ने थलो नै रेडियो नेपाल थियो। त्यहीँबाट मेरा रचना जन्मिए।’ त्यहाँ उनको भेट नातिकाजी श्रेष्ठ, योगेश वैद्य, बच्चु कैलाश, प्रेमध्वज प्रधान, तारादेवीलगायतसँग हुन्थ्यो। रेडियो नेपाल खरेलका लागि प्रेरणाको स्रोत बन्यो। भएभरको अभ्यास त्यहीँ गरेको उनले बताए। ‘माहौल नै रचनामय हुन्थ्यो,’ उनले सुनाए, ‘जसले मलाई लेख्न प्रेरित गर्‍यो।’

बीबीसीको यात्रा

ब्रिटिस काउन्सिलको छात्रवृत्तिमा बेलायतमा पढ्ने मौका जुर्‍यो। फिल्म पढ्दापढ्दै बीबीसीबाट काम गर्ने अफर आयो। ‘त्योबेला बेलायत जाने मान्छे औँलामा गन्न सकिने मात्र हुन्थे,’ उनले भने, ‘त्यसमा पनि जो कोही जान सक्ने स्थिति थिएन। फोन सम्पर्क हुँदैनथ्यो। मैले पनि आकाशवाणीबाट सन्देश आदानप्रदान गर्थें।’ ‘बेलायतबाट आएको मान्छे’ भनेर आफूलाई बाटोमा धेरैले घुरेर हेर्ने गरेको खरेलले बताए। ‘मान्छेहरूले बाटोमा त्यसरी हेर्दा कस्तो–कस्तो लाग्थ्यो,’ उनले भने।

त्यतिबेला बीबीसी नेपाली सेवाको प्रसारण भर्खरै मात्र सुरु भएको थियो। नेपाली दूतावासले ‘बीबीसीको कार्यक्रम चलाइदिनुपर्‍यो’ भनेर आफूलाई चिठी पठाएको खरेलले सम्झिए। ‘रेडियोमा काम गरेको अनुभव भएकाले त्यो मौका पाएको थिएँ,’ उनले भने, ‘स्कलरसिपमा ‘अन्यत्र काम गर्न नपाउने’ भनेर छाप लगाइएको थियो। पछि दूतावास आफैँले त्यो छाप हटाएर बीबीसीमा कार्यक्रम चलाउने अवसर दियो।’ खरेलले बीबीसीमा विश्वभरका ‘करेन्ट इभेन्ट’, ‘अन्तर्वार्ता’, ‘पत्रोत्तर’ लगायत कार्यक्रम सातामा दुई दिन चलाउँथे। 

राजासँग अन्तर्वार्ता 

करिब ४७ वर्षअघि नेपाली राजदूतावासका सचिव ईश्वरीराज पाण्डे थिए। पाण्डेले खरेललाई ‘राजा महेन्द्र बेलायतको भ्रमणमा’ रहेको सूचना पठाए। ‘राजा महेन्द्रको अन्तर्वार्ता लिन पाए कस्तो हुन्थ्यो होला ?’ भन्ने लाग्यो,’ खरेलले भने, ‘राजासँग  प्रत्यक्ष संवाद गर्न मैले ईश्वरीराजको सहयोगमा राजाका सचिव मधुसुदन राजभण्डारीलाई सम्पर्क गरेँ र राजाको अन्तर्वार्ताका लागि भनेँ। राजाले तेस्रो दिन दिउँसो ३ बजेको समय दिनुभयो।’ खरेलले राजासँग करिब ४५ मिनेट कुराकानी गरे। ‘मैले सोधेका सबै प्रश्नको राजाले प्रष्ट र सरल शैलीमा जवाफ दिनुभयो,’ उनले सम्झिए, ‘राजा महेन्द्रसँग राजनीति र विकासका विषयमा कुरा गरेको थिएँ। अन्तर्वार्तापछि राजाले ‘यादव, तिमी नेपाल फर्केपछि मलाई भेट, नेपालमा सिनेमाको क्षेत्रमा थुप्रै काम गर्नु छ’ भनेका थिए।’ 

फिल्मतिर

लन्डनबाट फिल्म निर्देशन-निर्माणको अध्ययन सकेपछि उनले नेपाल फर्किए। नेपाली सिनेमाका लागि काम गर्न सुरु गरे। २०२८ देखि २०३० सालसम्म ‘शाही नेपाल चलचित्र संस्थान’ का अध्यक्ष र महाप्रबन्धक भएर उनले काम गरे। ‘व्यवस्थापनदेखि हरेक जिम्मेवारी मेरै हुन्थ्यो,’ उनले सुनाए, ‘जसले गर्दा फिल्म लेखन र निर्देशनका लागि फुर्सद हुँदैनथ्यो।’ 

फिल्म बनाउने मौका पछि मात्र जुर्‍यो। प्रकाश थापालाई बम्बई (हाल मुम्बई) देखि बोलाएर शाही नेपाल चलचित्र संस्थानले पहिलो फिल्म ‘मनको बाँध’ निर्माण गर्‍यो। खरेलले निर्माण गरेको पहिलो फिल्म ‘चेलीबेटी’ हो। त्यसका लागि आफैँले भारतका विभिन्न रेडलाइट एरियामा गएर सिन सुट गरेको खरेलले बताए। ‘कलकत्ता, दिल्ली, बम्बईका रेडलाइट एरियामा गएर बेचिएका चेलीसँग कुराकानी पनि गरेँ,’ उनले भने, ‘त्यहाँ उनीहरूको दुःख र वेदना सुनेर म रोएँ। नेपाली चेलीका कथालाई उठाउनुपर्छ, उनीहरूको उत्थान गर्नुपर्छ भन्ने लागेर फिल्म ‘चेलीबेटी’ बनाइयो।’ खरेलले ‘लोभीपापी’, ‘आँधीबेहरी’, ‘प्रेमपिण्ड’, ‘नासो’ ‘आदिकवि भानुभक्त’ लगायत फिल्म बनाए। कतिपय फिल्ममा उनले आफैँ गीत पनि रचना गरे। ‘नौ घुम्ती’, ‘नौ सय खोला’, ‘टुहुरो ईश्वर’, ‘अविरल यात्रा’ आदि उनका गीति एल्बम हुन्। फिल्म र संगीतबाट थुप्रै अवार्डसमेत जितेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.