रुद्राक्षको क्लिप र विषादीयुक्त दाना हटाइने

रुद्राक्षको क्लिप र विषादीयुक्त दाना हटाइने

भोजपुर : आकर्षक र महँगो मोलमा बेचबिखन हुने रुद्राक्षलाई अप्राकृतिक आकारमा ढाल्न दानामा लगाइएका क्लिप र विषादी हालिएका दाना हटाइने भएको छ। षडानन्द नगरपालिकाले गृह मन्त्रालयको निर्देशनअनुरूप नगरसभाबाटै त्यस्ता क्लिप र रुद्राक्षका दाना नष्ट गर्ने निर्णय गरेको हो।

रुद्राक्ष कृषक र व्यापारीले क्लिप लगाएको र दानामा विषादी प्रयोग गरेको प्रमाणित भए तत्काल नष्ट गर्ने निर्णय गरेको मेयर वीरबल राईले बताए। नगरपालिका क्षेत्रभित्र उत्पादन गरिने रुद्राक्षको बजारमा नकारात्मक सन्देश जान नदिन यस्तो निर्णय गरिएको उनको भनाइ छ। ‘हाम्रो क्षेत्रमा उत्पादित रुद्राक्षको ख्याति निकै राम्रो छ। तर पछिल्लो समय उत्पादनमा देखिएका यस्ता विकृति तथा अनैतिक कार्यलाई नियन्त्रण गर्न नयाँ निर्णय गरेका हौँ,’ उनले भने।

क्लिप र विषादीयुक्त दाना नष्ट गर्नाले कृषककै हित र रुद्राक्षको दिगो व्यापारमा सहयोग पुग्ने मेयर राईको भनाइ छ। मुख्य आम्दानीको स्रोत रहेको नगरपालिका क्षेत्रमा वार्षिक २० करोड रुपैयाँ बराबरको कारोबार हुने गर्छ। विषादी र क्लिप प्रयोग गरिएका रुद्राक्ष बिक्रीमा रोक लगाउन गत साउन २६ गतेको नगरसभाबाटै निर्णय पारित गरिएको हो।

यता नगरपालिकाको निर्णयप्रति कृषकहरू रुष्ट भएका छन्। निर्णयप्रति आपत्ति जनाउँदै उनीहरूले रुद्राक्षमा लगाइने भिटामिन र मलखादलाई विषादीको नाम दिएर फलेका दाना नै मास्ने आफूखुसी निर्णय गरेको आरोप लगाएका छन्। स्थानीय कृषक देवराज पुरीले भने, ‘कृषकले रुद्राक्षमा किरा, कमिला नलागोस् भनेर प्रयोग गरेको औषधि (फर्टिलाइजर) लाई विषादी भनेर व्यापारीले गलत प्रचार गरिरहेका भरमा नगरपालिकाले दाना नै मास्ने निर्णय गर्‍यो। यसमा हामी किसानको घोर आपत्ति छ।'

विषादी र क्लिप प्रयोग गरिएका रुद्राक्ष नष्ट गर्ने निर्णयबाट किसान रुष्ट बनेका छन्।

रुद्राक्ष व्यावसायी संघका केन्द्रीय अध्यक्ष मनोज चापागाईले पनि केही व्यापारीको लहलहैमा लागेर नगरपालिकाले किसानको बगानै पसेर विषादी हालेको भन्दै नष्ट गर्ने काम उचित नभएको बताए। रुद्राक्ष व्यवसायी र कृषकलाई करको दायरामा ल्याउन र रुद्राक्ष व्यवसायबाटै नगरपालिकाको आर्थिक स्तरोन्नतिमा सहयोग पुर्‍याउन नगरले यो निर्णय लिएको उपमेयर मेरिका राईले बताइन्। क्लिप हाल्ने र विषादी हाल्ने गतिविधि रोक्न नगरपालिकाले इलाका प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ र रुद्राक्ष व्यवसायीसँग सहकार्य गरेको उनले बताइन्।

नगरपालिकाका उपमेयर राईले नगरले नीति बनाइसकेको र निर्णयप्रति सबै रुद्राक्ष व्यवसायी र कृषकलाई कार्यान्वयनमा साथ दिन अनुरोध गरिएको बताइन्। नगरपालिकाले केही स्थानमा रुद्राक्षमा लगाएको क्लिप हटाउन थालिसकेको छ। यो वर्षबाट नगरपालिका क्षेत्रको कुल उत्पादन र कुल निर्यातको तथ्यांक संकलन तथा अभिलेख राखिने नगरपालिकाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.