क्यानभासमा काठमाडौंको इतिहास
काठमाडौं : नेपाल आर्ट काउन्सिलमा शुक्रबारबाट कलाकार हरिप्रसाद शर्माका चित्रको प्रदर्शनी सुरु भएको छ। विसं १९९४ मा काठमाडौंको लगन गोफलटोलमा उनी जन्मिएका थिए।त्यति बेला उनलाई आधुनिक संस्कृति र जीवनपद्धतिभन्दा अगाडिको काठमाडौं देख्ने र अनुभव गर्ने अवसर मिल्यो।
अध्ययन अनुसन्धानबाट प्राप्त भएका काठमाडौंको इतिहास, संस्कृति र जीवनशैलीलाई उनले रङ र कुचीको माध्यमबाट क्यानभासमा उतार्दै आएका छन्। उनका कलाकृतिमा प्राचीन र मध्यकालीन काठमाडौंका संस्कृति, इतिहास र वास्तुकला भेटिन्छ। यी ऐतिहासिक चित्र वर्तमान र भविष्यका लागि महत्वपूर्ण अभिलेख मान्न सकिन्छ।
उनका चित्रहरू २०५९ मा पनि प्रदर्शन गरिएको थियो। हरिप्रसाद सानैदेखि चित्रकलामा रुचि राख्थे। उनका चित्रमा शरीर, प्रकाश र दूरी संयोजनका तीन आयाम मुख्य विशेषतामा पर्छन्। उनले यी ऐतिहासिक चित्र नेपालका युवा विद्यार्थीप्रति समर्पित गर्दै आएका छन्।
विसं २०५२ देखि आफ्नो रुचि क्यानभासमा उतार्न सुरु गरेका हरिप्रसादले छोरा विष्णुप्रसादसँगको सहकार्यमा इतिहासका पाटा अझ खोतल्दै गएका हुन्। हरिप्रसादका चित्रले त्यति बेलाको जनजीवन, इतिहास कस्तो थियो भन्ने देखाउँछ। इतिहासलाई अक्षरमा मात्र पढ्दै आइएकोमा त्यसलाई चित्रका माध्यमबाट पढ्दा अझै जीवन्त हुने भन्दै इतिहासका घटनाक्रमलाई रङ र कुचीका माध्यमबाट चित्रमा ढाल्ने प्रयास गरेको छोरा विष्णुप्रसादको भनाइ छ। उनी भन्छन्, ‘यस कार्यलाई बुवा र मेरो परिवारले मिसनका रूपमा विकसित गरेका छौं।’
चित्र स्मरणमा लामो समयसम्म रहने र प्रभावकारी हुने उनी बताउँछन्।
उनले बनाएका चित्रमा बुद्ध नेपालमा जन्मिएको भन्ने प्रमाण दिन राजा अशोक नेपालको लुम्बिनीमा आएर अशोक स्तम्भ गाडेको दृश्य छ। अशोक स्तम्भ बुद्ध नेपालमा जन्मेको महत्वपूर्ण प्रमाणमध्ये एक हो। यो पेन्टिङ बनाउन चार वर्षको अनुसन्धान र ११ महिनासम्म क्यानभासमा समय खर्चिइएको थियो। चित्रमा अशोक स्तम्भको माथिपट्टि घोडा थियो तर पछि चट्टान लागेर त्यो घोडा नष्ट भयो। चित्रमा त्यही घोडाको प्रतिमा देखाइएको छ। अनुसन्धानका क्रममा उक्त अशोक स्तम्भ राँगोले तान्ने गाडामा ल्याइएको थियो। भारतवर्षका राजा अशोकले लुम्बिनीमा तीन स्तम्भ ल्याएका थिए। दुई स्तम्भ निग्लिहवा र गोटिहवामा ठड्याइएको थियो। अहिले त्यसको नामनिसान छैन।
उनको अर्को ऐतिहासिक चित्रमा चाँगुनारायणमा लिच्छविकालीन राजा मानदेवले मल्लपुरीमा भएको विद्रोहमा जित हासिल गरेपछि विजय उत्सव मनाएर आफ्नो आकृति भएको गरुड बनाएर स्तम्भ गाडेको दृश्य छ। त्यस्तै मानदेव कला र संगीतका प्रेमी थिए। उनको चित्रण गर्दै कोरिएको चित्र पनि त्यति नै मनमोहक छ। यो चित्रमा उनकी रानी पनि संगीत बजाइरहेकी छन्।
भृकुटी स्रङचङ गम्पोसँग पहिलो पटक साक्षात्कार गरेको दृश्यलगायत अरनिको चीन प्रस्थान गर्न लागेको समय ८० जना कालिगढलाई आफूसँगै लगेको बेला परिवारले बिदाइ गरेको समय पनि हरिप्रसादले सुन्दर रूपमा प्रस्तुत गरेका छन्। त्यति बेला अरनिकोकी पत्नी १७ वर्षकी थिइन्। पतिलाई बिदाइ गर्दै उनी रोइरहेकी छन्।
चित्रमा प्रताप मल्लले प्रतापपुर र अनन्तपुर नामक दुई मन्दिर बनाउन लगाएपछि उक्त ठाउँलाई भूतप्रेत र चट्याङबाट बचाउन तान्त्रिक विधिले यज्ञ गरिँदै गरेको दृश्य समेटिएको छ। इरानका राजकुमार विभिन्न मुलुक घुम्ने क्रममा नेपाल आउँदा उनीसँगै आएका एक चित्रकारले रानीपोखरीको चित्र बनाएका थिए। यसलाई हरिप्रसादले पनि आफ्नो क्यानभासमा उतारेका छन्। असली चित्र अहिले पनि बेलायतको संग्रहालयमा छ।
अर्को क्यानभासमा प्रकाश मल्ल र तलेजु भवानी पासा खेलेर बसेको दृश्य छ। प्रकाश मल्लसँग भएको श्री यन्त्रको माध्यमबाट मन्त्र पढेपछि तलेजु भवानी प्रकट हुन्थिन्। राजाले कुदृष्टि लगाएको अवगत भएपछि उनी सदाका लागि अदृश्य भएकी थिइन्। पछि राजाले क्षमायाचना मागेपछि सपनामा तलेजु भवानीले कुमारी प्रतिस्थापना गर्न राजालाई सुझाएका थिए। तलेजु भवानीले आफू जीवित कुमारीका रूपमा आउने बताएपछि प्रकाश मल्लले कुमारी प्रतिस्थापन गराएका हुन्।
राजा जयप्रकाश मल्लले पृथ्वीनारायण शाहसँग मीत लाउन प्रस्ताव गरेको दृश्यदेखि पृथ्वीनारायण शाहले कान्तिपुरमा इन्द्रजात्राका दिन राति आक्रमण गरेको दृश्य पनि उनको क्यानभासमा अटाएका छन्।