चीनसँगका आयोजना अघि बढ्ने, सी नेपाल आउने निश्चित

चीनसँगका आयोजना अघि बढ्ने, सी नेपाल आउने निश्चित

काठमाडौं : बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत छनोट भएका आयोजना अघि बढाउन चीन सकारात्मक देखिएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले बीआरआई आयोजना अघि बढाउने संकेत गरेपछि नेपाली पक्ष उत्साहित भएको छ ।

चीनले यसअघि नेपाली पक्षले बीआरआईमा समेटिने परियोजनाको स्पष्ट खाका नदिएको गुनासो गर्दै आएको थियो । नेपाली पक्षको भने परियोजनामा चिनियाँ पक्षबाट बेवास्ता भइरहेको गुनासो छ । विदेशमन्त्री वाङले नेपालबाट छनोट भएका परियोजनामा प्रस्ताव अघि बढाउन आग्रह गरेको बताइएको छ । यसअघि नेपालले लैजाने परियोजनामा चीनले कुनै न कुनै रुपमा अड्को थापेको नेपाली अधिकारीहरू बताउँछन् ।

बीआरआई सम्झौता भएको दुई वर्ष चार महिना भइसक्दा पनि परियोजना अघि बढ्न सकेको छैन । यसको म्याद आगामी वैशाखसम्म छ । तीनवर्षे परियोजना सम्झौता २०७४ वैशाख २९ मा भएको थियो । त्यसअन्तर्गत विभिन्न नौ परियोजना चयन भएका थिए ।

विदेशमन्त्री वाङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँगको छुट्टाछुट्टै शिष्टाचार भेटमा बीआरआई परियोजनामा चीन सकारात्मक रहेको बताएका हुन् । ‘नेपाल चीनको सदाबहार मित्र हो । हामी सधंै सहकार्य गरेर अघि बढ्नुपर्छ । लामो समयदेखिको चिनियाँ उच्चस्तरको भ्रमणको दुरी पनि अब पूरा हुनेछ,’ विदेशमन्त्री वाङलाई उधृत गर्दै एक अधिकारीले भने, ‘चीन छिमेकलाई साथ लिएर विकास गर्न चाहन्छ । हामी एउटै क्षेत्र र उही परिवेशमा छौं । विकासमा सहकार्य अपरिहार्य हुन्छ ।’

राष्ट्रपति भण्डारीले आफूले बेइजिङ भ्रमणका क्रममा भएको सहमतिको विषय उठाएकी थिइन् । यस्तै प्रधानमन्त्री ओलीले दुई यसअघि भएको सहमति कार्यान्वयनमा जोड दिएका थिए ।‘भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भयो । प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध थप उचाइमा पु¥याउन प्रतिबद्ध रहेको बताउनुभएको छ,’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भने, ‘प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणको स्मरण गर्दै त्यसबेला भएका सहमति कार्यान्वयन गर्दै सम्बन्ध थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ।’

प्रधानमन्त्री ओलीले विगतका सहमतिअनुसार अघि बढ्ने धारणा राखेका थिए । ‘दुईपक्षीय सम्बन्धका विभिन्न पक्ष छन् । शैक्षिक, सामाजिक, पूर्वाधार विकासलगायत सबै क्षेत्रमा सहयोग विस्तार गर्ने र चीनले नेपाललाई महत्वका साथ हेर्दै अगाडि बढाउने विषयमा नेपाल खुसी छ,’ ओलीलाई उधृत गर्दै डा. भट्टराईले भने । प्रधानमन्त्री ओलीले विदेशमन्त्री वाङलाई नेपाल एक चीन नीतिका पक्षमा रहेको स्पष्ट पारेका थिए ।

परराष्ट्र सचिव शंकरदास बैरागीले विगतमा भएका सम्झौता अघि बढाउने र सहकार्य गर्दै पर्यटन, लगानी र द्विपक्षीय व्यापार विस्तारमा काम अघि बढ्ने विषयमा छलफल भएको बताए ।

उच्चस्तरीय भ्रमण हुन्छ : वाङ

चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति सीले चाँडै नै नेपाल भ्रमण गर्ने बताएका छन् । ‘चीनबाट उच्चस्तरीय भ्रमणको तयारी हुँदैछ । त्यो भ्रमण उपयुक्त समयममा हुने नै छ,’ विदेशमन्त्री वाङलाई उद्धृत गर्दै सल्लाहकार भट्टराईले भने । प्रधानमन्त्री ओलीले नेपालले चीनबाट उच्चस्तरीय भ्रमण चाँडो होस् भन्ने चाहेको स्मरण गराएलगत्तै वाङले त्यस्तो धारणा व्यक्त गरेका हुन् । उनले सबै जसो भेटभाटमा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण छिट्टै हुने बताएको अधिकारीहरूले जानकारी दिए । चिनियाँ राष्ट्रपतिको भ्रमणको विषयमा लामै छलफल भएको थियो । राष्ट्रपति भण्डारीले पनि चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न पाउनु गौरवको विषय हो भन्दै यसबाट द्विपक्षीइ सम्बन्ध थप सुदृढ हुने बताएकी थिइन् ।

ओलीलाई सीको सन्देश

प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ली खच्याङले सुस्वास्थ्यको कामनासहित सफलताको शुभकामना पठाएका छन् । उनीहरुको सन्देश शिष्टाचार भेटमा विदेशमन्त्री वाङले पढेर सुनाएका थिए । प्रधानमन्त्री ओली दुई दिनअघि मात्र सिंगापुरमा उपचार गराएर फर्केका थिए । नेपाल राजनीतिक स्थायित्वतर्फ उन्मुख भइरहेको र प्रधानमन्त्री ओलीको नेतृत्वमा विकास परियोजनासमेत अघि बढिरहेको उनीहरुले खुसी व्यक्त गरेका छन् ।

ठोस परियोजना ल्याउन माग

नेपालले चीनसँग विकासका ठोस परियोजना प्रस्ताव नराखेको गुनासो विदेशमन्त्री वाङले गरेका छन् । ‘नेपालले कुनै पनि प्रस्ताव नहिचकिचाईकन राख्न सक्छ तर त्यस्तो सौभाग्य चीनले पाएको छैन’, उनले भने । दुई पक्षीय वार्तामा प्रस्तावित मदन भण्डारी विश्वविद्यालय र सडक संरचनामा छलफल भएको थियो । यस्तै कोदारी राजमार्गअन्तर्गत धुलिखेल–कोदारी खण्डको स्तरोन्नति र रसुवागढी–ठोरी करिडोर निर्माणका विषयमा छलफल भएको थियो । नेपाली पक्षले बेत्रावती–स्याफ्रुबेंसी खण्डको स्तरोन्नति र टोखा–छहरे सुरुङमार्गमा सहयोग गर्न चीनसँग आग्रह गरेको थियो ।

सबै भेटमा केरुङ–काठमाडौं रेलमार्गको डीपीआर बनाउने विषयमा छलफल भएको थियो । रेलमार्ग चीनको सहयोगमै बनोस् भन्ने नेपाली चाहना छ । वार्तामा अयसअघि सहमति भएर सम्पन्न हुन नसकेका परियोजना र विगतमा भएका सन्धिसम्झौता अघि बढाउन चीन सकारात्मक देखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले बीआरआई परियोजनाबारे भने औपचारिक धारणा बाहिर ल्याएको छैन ।

चीनले हासिल गरेको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुने भन्ने विषयमा छलफल केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री स्तरमा भएको दुईपक्षीय वार्तामा यस्तो छलफल चलेको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विदेशमन्त्री वाङबीच द्विपक्षीय हित, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका मामिलामा समान धारणा बनाउने विषयमा छलफल भएको थियो । दुई देशका मन्त्रीबीच यातायात तथा पारवहन सम्झौता, नेपालको व्यापार विविधीकरण, व्यापार घाटा कम गर्न चिनियाँ सहयोगलगायतमा छलफल भएको परराष्ट्रले विज्ञप्तिमार्फत जनाएको छ ।

मनाङमा अस्पताल बनाउन चिनियाँ सहयोग

चीनले सीमा जोडिएको मनाङमा अस्पताल बनाइदिने भएको छ । मनाङ अस्पताल पुनर्निर्माणका लागि चीनले दुई करोड २० लाख युआन (रु.३५ करोडभन्दा बढी) सहयोग गर्नेछ ।परराष्ट्रमन्त्री ज्ञवाली र विदेशमन्त्री वाङको उपस्थितिमा उक्त सम्झौता भएको हो । अर्थसचिव राजन खनाल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सीआईसीडीए) का उपाध्यक्ष डेङ बोकिङले आपत्कालीन आवास तथा मनाङ अस्पताल पुनर्निर्माण परियोजनासम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षर गरेका थिए । आपत्कालीन आवास सहायताअन्तर्गत चीनले ९५ लाख युआन बराबरका पाँच हजार त्रिपाल उपलब्ध गराउनेछ ।

यस्तै स्वयंसेवक चिनियाँ शिक्षक कार्यक्रमसम्बन्धी समझदारीपत्रमा शिक्षा सचिव महेश्वर दाहाल र चिनियाँ राजदूत हउ यान्छीले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार चिनियाँ शिक्षा अध्ययनका चीनले सरकारी विद्यालयमा स्वयंसेवक पठाउनेछ । परराष्ट्रमन्त्री स्तरमा भएको वार्तामा मन्त्री ज्ञवालीसहित अर्थमन्त्री युवराज खतिवडा, पररराष्ट्र सचिव शंकरदास बैरागी, राजदूत लीलामणी पौड्याल लगायत थिए । यस्तै विदेशमन्त्री वाङ नेतृत्वको टोलीमा विदेशसचिव लु झाउबी, सीआईसीडीएका उपाध्यक्ष डेङ बोकिङ, राजदूत हउ यान्छी, विदेश मन्त्रालयको एसिया विभागका प्रमुखको उपस्थिति थियो ।

चन्द्रगिरि पुगे वाङ

विदेशमन्त्री वाङको टोली सोमबार बिहान चन्द्रागिरी हिल पुगेको थियो । टोलीले केहीबेर चन्द्रागिरिमा केही बेर हाइकिङसमेत गरेको थियो । विदेशमन्त्री वाङले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष कांग्रेस सभापति शेरबहादुर देउवासँग मंगलबार बिहान मेरियट होटलमा छुट्टाछुट्ट भेट्ने कार्यक्रम छ । त्यसपछि उनी स्वदेश फर्कनेछन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.