मकै सखाप पार्ने फौजी किरा तरकारीमा

मकै सखाप पार्ने फौजी किरा तरकारीमा

ओखलढुंगा : ओखलढुंगाका विभिन्न गाउँमा फैलिएको अमेरिकी फौजी किरा नियन्त्रण बाहिर गएको छ। कृषि ज्ञान केन्द्रले विषादी वितरण गरेपछि नियन्त्रणमा आएको दाबी गरिए पनि औषधिले काम नगरेको किसानको गुनासो छ। ‘मकै सकेपछि बोडी, मासका मुना र कोसा खान थालेको छ,’ चिसंखुगढी ६ भदौरेका किसान भीमबहादुर थापा मगरले भने, ‘औषधि छिट्दा छुँदै छोएन, औषधिमा टिपेर हाल्दा पनि मर्दैन रहेछ, त्यो कस्तो औषधि हो ? ’

मानेभञ्ज्याङको थाक्लेबाट भदौ लाग्दालाग्दै सुरु भएको किराको प्रकोप अहिले चिसंखुगढी गाउँपालिका–६ भदौरे, सिद्धिचरण नगरपालिका वडा नम्बर १ र १० तथा सुनकोसीको वडा नम्बर १, २, ३, र ४ सम्म पुगेको छ। यस क्षेत्रमा खडेरीले बर्खे मकै मरेपछि किसानले हिउँदे मकै लगाएका थिए। हिउँदे मकै लगाएको सबै क्षेत्रमा किरा पुगेको सुनकोसी गाउँपालिका–४ सिस्नेरीका स्थानीय नवराज खड्काले बताए। खड्काका अनुसार औषधिले किरालाई कुनै असर गरेको छैन, झन् दैनिक बढ्दै गएको छ। उनले भने, ‘औषधि त पाइयो तर कामै गरेन, स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले विकल्प खोज्नुपर्छ।’

सिद्धिचरण राजमार्ग आसपासबाट सुरु भएको किरा अहिले जिल्लाभरि फैलिएको छ। ओखलढुंगा मात्रै होइन खोटाङ र उदयपुरमा समेत सयौं हेक्टर मकै यो किराले सखाप पारिसकेको छ। किराले ओखलढुंगाका विभिन्न गाउँमा लगाएका ५ सय हेक्टरको मकैबाली सखाप पारेको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक हेम आलेले बताए।

घोगा लाग्ने समय भएका मकैको गुबोमा पसेर खाएपछि मकैको बोट नै मर्छ। यसरी गुबो किराले खाएपछि मकै बिस्तारै पँहेलो भएर सुक्ने भदौरेका किसान थापा मगरले बताए। उनले मकै र बोडी सकेर अब कोदोमा पनि लाग्ने हो कि भन्ने चिन्ता रहेको बताए। स्थानीय सरकारले भने फौजी किरा नियन्त्रणका लागि चासो दिएका छैनन्।

कृषि ज्ञान केन्द्र ओखलढुंगाले प्रदेश सरकारको सहयोगमा विज्ञसहितको टोली ल्याएर अध्ययन गरेपछि औषधि सिफारिस गरेको थियो। औषधिले काम नगरेपछि किसानलाई यो किराले सधैं दुःख दिने चिन्ताले सताएको छ। तर कृषि ज्ञान केन्द्रले भने औषधि हालेपछि किरा नियन्त्रणमा आएको दाबी गरेको छ। केन्द्रका प्राविधिक टीका बानियाँले औषधि छर्किएपछि किरा लगभग नियन्त्रणमा आइसकेको दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.