पानीको आहालमा ‘स्वर्ण’को तयारी

पानीको आहालमा ‘स्वर्ण’को तयारी

काठमाडौँ, त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलको बिजोग छ। वर्षा हुँदा कभर्डहल जलमग्न हुन्छ। खुला हल, थोत्रा म्याट र पानीको आहालमा उसु खेलाडी प्रशिक्षण लिइरहेका छन्।


तीन वर्षअघि भारतको गुवाहाटी र सिलोङमा आयोजना भएको बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तीन स्वर्ण जितेको थियो। सहभागी आठ राष्ट्रमध्ये २३ रजत र ३४ कांस्य गरी कुल ६० पदक जित्दै नेपाल दक्षिण एसियामा पाँचौँ स्थानमा रहेको थियो। प्रतियोगिता सुरु भएपछिको लामो खडेरीलाई तोड्दै १६ वर्षीया नीमा घर्तीमगरले उसुबाट नेपाललाई पहिलो स्वर्ण दिलाएकी थिइन्। थाउलोतर्फको महिला नान छ्वानमा नीमाले भारतीय खेलाडी स्वेक्षा जादवलाई पछि पार्दै राष्ट्रलाई पहिलो स्वर्ण दिलाएकी थिइन्। 

बाह्रौँ सागमा नीमाबाहेक जुडोकी फुपूल्हामु खत्री र पुरुष फुटबल टोलीले स्वर्ण पदक जितेको थियो। त्यसमा पनि सबैको नजरमा परेकी थिइन्, नीमा घर्तीमगर। तिनै नीमा आफ्नै भूमिमा आयोजना हुन लागेको तेह्रौँ सागका लागि निरन्तर तयारी गर्दै छिन्। आगामी मंसिर १५ देखि २४ सम्म हुन लागेको तेह्रौँ सागमा पनि सबैले आशा गरेका खेलाडीमध्ये एक हुन्, उनी। 

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली फुटबलको प्रदर्शन एकनासको छैन। सागको बाह्रौँ संस्करणसम्म नेपालले फुटबलमा तीन पटक उपाधि जितेको छ। सन् १९८४ मा नेपालमै भएको पहिलो, बंगलादेशमा भएको छैटौँ र भारतमा भएको अघिल्लो संस्करणमा पुरुष फुटबलले नेपाललाई स्वर्ण दिलाएको थियो। हरेक संस्करणमा फुटबल प्रदर्शनमा एकरूपता नहुने भएकाले पुरुष फुटबलबाट स्वर्णको आशा गरिएको हुँदैन।

प्रतिबन्धित फुपूल्हामु

यसै गरी नेपाली खेलकुदमा आशा गरिएकी अर्की खेलाडी फुपूल्हामु खत्री अहिले प्रतिबन्ध खेपिरहेकी छन्। ओलम्पिक सोलिडारिटी कोर्सका लागि छात्रवृत्तिमा जापान गएकी खत्रीले कोर्स नै पूरा नगरी बीचैमा नेपाल फर्किएपछि उनलाई अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिक खेलकुदसम्मका लागि प्रतिबन्ध लगाइएको छ। प्रतिबन्धकै कारण आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्नबाट समेत वञ्चित भएकी रियो ओलम्पियन फुपूल्हामु तेह्रौँ सागमा दर्शकदीर्घामै हुनेछिन्। 

दबाबमा नीमा

फुटबलको प्रदर्शन एकनासको नहुनु र फुपूल्हामु प्रतिबन्धमा पर्नुले तेह्रौँ सागमा सबैभन्दा बढी दबाबमा हुनेछिन्, १९ वर्षीया नीमा। सागमा गर्वपूर्ण प्रदर्शनलाई दोहो¥याउन उनले आफ्नो तर्फबाट निकै मेहनत गरिरहेकी छिन्। नीमाले उसुका अरू खेलाडीसँगै हरेक दिन दुई पटक प्रशिक्षण गरिरहेकी छिन्। साथै, उनी प्रशिक्षण नभएको समयमा अन्य देशका खेलाडीको प्रदर्शनलाई पनि केलाउँदै आएकी छन्।  ‘नेपालमा भएका सामग्रीको बढीभन्दा बढी सदुपयोग गरेर हामीले प्रशिक्षण गरिरहेका छौँ,’ उनी भन्छिन्, ‘हाम्रो तयारी स्वर्ण पदककै लागि छ।’

दैनिक दुई पटकको प्रशिक्षण, आफ्ना प्रतिस्पर्धीको खेल अवलोकनसँगै उनी अहिले अर्को धपेडीमा पनि छिन्, स्नातक तहको परीक्षाको। उनी आइतबारबाट सुरु भएको स्नातक पहिलो वर्षको परीक्षाका लागि पनि तयारी गरिरहेकी छिन्। नीमा नेपाल कमर्स क्याम्पस मीनभवन, काठमाडौँमा व्यवस्थापन विषय अध्ययन गरिरहेकी छन्। 

साग खेलकुदमा लगातार स्वर्ण जित्ने अभियानमा रहेकी नीमा र अरू उसु खेलाडीलाई अव्यवस्थित प्रशिक्षण स्थल, पुराना र थोत्रा प्रशिक्षण सामग्रीले भने प्रभावित बनाएको छ। ‘खुला हलले गर्दा जति वार्मअप गरे पनि शरीर सेलाउँछ,’ उनी भन्छिन्, ‘त्यसले गर्दा प्रदर्शनमा कमी त आउँछ नै, अझ भिजेको म्याटमा प्रशिक्षण गर्दा चिप्लिएर घाइते हुने त होइन भन्ने डर लागिरहन्छ।’ 

यसबाहेक उनलाई अर्को पनि डर छ, ‘सागमा नयाँ म्याटमा कसरी खेल्ने’ भन्ने। ‘सागमा नयाँ म्याटमा खेल्नुपर्छ,’ उनी भन्छिन्, ‘त्यो म्याटमा कसरी खेल्ने भन्ने चिन्ता छ। पुरानो म्याटमा खेल्ने बानी परेपछि नयाँ म्याटमा खेल्न निकै गाह्रो हुन्छ। साग सुरु हुनुअघि त्यसमा खेल्न पाए केही सजिलो हुन्थ्यो।’ 

काठमाडौँ, त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलको बिजोग हेर्दा सबैले ‘यस्तो पनि प्रशिक्षण स्थल हुन्छ’ भन्ने गरेका छन्। खुला हल, थोत्रा म्याट र पानीको आहालमा उसु खेलाडीले प्रशिक्षण गर्नुपर्ने बाध्यता छ। आकाशबाट पानी पर्नासाथ सेमी कभर्डहल जलमग्न हुन्छ। त्यही जलमग्न स्थानमा म्याट बिछ्याएको छ। खेलाडीहरू त्यही चिसो म्याटमा खेल्न बाध्य छन्। अझ त्यसमाथि पनि उनीहरूसँग उसुको म्याट छैन। उनीहरू करातेको म्याट बिछ्याएर प्रशिक्षण गरिरहेका छन्। उसु संघले सामग्रीको उचित व्यवस्थापन गर्न नसक्दा करोडौँ मूल्यको म्याट काम नलाग्ने अवस्थामा पुगेपछि खेलाडीले अर्कै खेलको म्याटमा प्रशिक्षण गर्नु परिरहेको छ।

नेपाल उसु महासंघका उपाध्यक्ष दीपक लामा नेतृत्वको अकर्मण्यताका कारण खेल सामग्रीको व्यवस्थापन गर्न नसकिएको बताउँछन्। ‘संघले अहिलेसम्म अफिससम्म त सञ्चालन गर्न सकेको छैन,’ उनी भन्छन्, ‘झन् सामग्रीको व्यवस्थापन त कसरी गर्न सक्छ ? नेतृत्वको अस्थिरता र च्याँखे दाउका कारण न संघले, न त राखेपले नै महँगो सामग्री व्यवस्थापन गर्न सकेको छ।’ उसुको म्याट सन् २०१० मा चीनबाट ल्याइएको हो। उसु संघका तत्कालीन अध्यक्ष दीपक सरकारको पहलमा करिब एक करोड रुपैयाँ बराबरको म्याट चीनको उसु संघले उपलब्ध गराएको उपाध्यक्ष लामा बताउँछन्। उनका अनुसार थाउलो मात्र होइन, सान्सोको म्याट पनि काम नलाग्ने अवस्थामा पुगिसकेको छ। 

पुरानो हतियारको भर

यसै गरी नान छ्वान, नान क्वान र नान्डो (अलराउन्डर) मा नीमाले चलाउने हतियार पुरानो भइसकेको छ। वर्षौं पहिलेदेखि चलाउँदै आएको हतियार खियाले मक्किसकेको छ। अरू विकल्प नहुँदा उनी त्यही पुरानो हतियारले प्रशिक्षण गर्दै आइरहेकी छन्। गत वर्ष इन्डोनेसियामा आयोजना भएको एसियाली खेलकुदका लागि आफ्नै खर्चमा किनेको हतियार नै आफूहरूले अहिले पनि चलाइरहेको नीमा बताउँछिन्। इन्डोनेसियामा नयाँ हतियार लिएर गएकै कारण नीमाले थाउलोको नान्डोमा नयाँ राष्टिय कीर्तिमान बनाएकी थिइन्। उनले ९.१७ अंकका साथ नयाँ कीर्तिमान बनाएकी थिइन्। लगातार चलाउँदा अहिले त्यो हतियार पनि काम नलाग्ने भइसकेको उनी बताउँछिन्। 

तीन वर्षअघि बाह्रौँ सागमा सहभागी हुने बेलामा नीमाले निकै ठूलो तनाव बेहोर्नुपरेको थियो। त्यसबेला उनी ललितपुरको सिद्धिपुरस्थित नेपाल डनबस्को स्कुलबाट एसईई परीक्षा दिँदै थिइन्। त्यसैले स्कुलले उनलाई छाड्न मानेन। प्रशिक्षकहरूले डेढ÷दुई महिनाअगावै आग्रह गर्दा पनि उनीहरूको केही सीप लागेन। पछि परिवारको करबलले मात्र नीमाले सागमा सहभागिता जनाउन पाएकी थिइन्। यस पटक पनि नीमा परीक्षाकै तनावमा छिन्। तर, उनको परीक्षा दशैँअघि नै सकिने भएकाले उनी अलि ढुक्क पनि छिन्। 

रोल्पामा जन्मिएकी नीमा काठमाडौँ बस्न थालेको १२ वर्ष पुगेको छ। वैदेशिक रोजगारीमा गएका बुवाले ललितपुरको नखिपोटमा घरजग्गा जोडेपछि नीमा यतै बस्न थालेकी हुन्। 

१९ वर्षीया नीमाले उसु खेल्न थालेको सात वर्ष भयो। ‘टीकाथलीमा भाडामा बस्दा नजिकै खुला चौरमा केहीले खेल खेलेको देखेँ,’ उनी भन्छिन्, ‘दिनदिनै हेर्दै गर्दा मलाई पनि त्यो खेलले लोभ्यायो। त्यसपछि आमासँग जिद्दी गरेँ र उसु खेल्न थालेँ।’ उनले वल्र्ड च्याम्पियनसिप र एसियाडमा पनि उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। त्रिभुवन आर्मी क्लबकी नीमाले पाँच महिनाअघि प्रदेश ५ मा आयोजना भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.