पर-सरी
समयसँगै मलार्ई बैनीसँग बोल्न अप्ठ्यारो लाग्दै गयो। अप्ठ्यारोको फराकिलो क्षेत्रफलमा संकोचको अपार्टमेन्ट बन्दै गयो, जहाँ थुप्रै डर, लाज र बेकामे मर्यादाहरू डेरा बस्न आए। हामी ठूलो हँदै गयौं र हामीबीचको दूरी विशाल।
जीवनलाई चार दिनको भनिन्छ। महिनावारी पनि चार दिनकै हुन्छ। यो मानेमा, महिनावारी सृष्टि हो र सृष्टि नै जीवन हो। महिनावारी अपवित्र हुन्छ भने यो सृष्टि कसरी पवित्र भयो ? हरेक महिलाभित्र यो चार दिन छ, त्यसैले नै यो चार दिनको जीवन छ। सिँगान बग्नु र पसिना बग्नुजस्तै हो, रगत बग्नु पनि... शारीरिक प्रक्रिया। तर सिँगान नबगे नाक बन्द हुँदैन, रगत नबगे सृष्टि बन्द हुन्छ। गर्भ बोक्न सक्षम हुनु भनेको गर्व गर्ने कुरा हो। म पुरुष भएकामा गर्व गर्दिनँ किनकि म गर्भ बोकेर जीवन बनाउन सक्दिनँ। जीवन बनाउने तिम्रो त्यो चार दिन चार धामभन्दा पवित्र छ। शरीरमा रातो, रगत मात्र हुन्छ। पूजामा अक्षता र फूल पनि रातै चढ्छ। त्यसैले हरेक महिना, महिला रगत चढाएर आफ्नो पूजा आपैंm गर्छिन्। महिनावारी पूजा हो। पूजा कसरी अपवित्र हुन्छ ?
पढ्दा हाँसो लाग्ला, तर मैले यो पल्टको बर्थ डेमा बैनीलाई प्याड गिफ्ट गरेँ, ठूलो आँटले। एक कार्टुन प्याड जसले वर्षभरि टालोलाई विस्थापित गर्नेछ। त्यो टालो जसको प्रयोगको परिणाम कालो छ। र यो बर्थ डे गिफ्ट, मञ्जु श्रीको खड्ग बन्यो। जसले वर्षौंसम्मको असहजता चिरेर दाजु-बैनीबीच खुलेर कुरा गर्ने काठमाडांै उपत्यका बनाइदियो। यहाँसम्मको यात्रा सहज कहाँ थियो र ! मलार्ई बच्चामा मिन्स हुनुलाई कौवाले ठुङेको भनी सिकाइयो। आन्टीहरूलाई कौवाले ठुङ्दा डसनामुनि राखेको टालो खोजेको देखेको थिएँ। मामाघरको करेसामा जामुनको बोटमा कौवाको गुँड थियो। बोटमुनि बसेर जामुन खाँदै गर्दा, एउटा कौवाले मलार्ई ठुङेर गयो। म हत्तपत्त गएर डसनामुनिको टालो निकालेँ र हजुरआमालाई भने- हजुमाँ, मलार्ई पनि कौवाले ठुङ्यो, यो कसरी लाउनी ?
आमाले हाँस्दै छोरा मान्छेलाई कौवाले ठुङे पनि यस्तो लाउनु पर्दैन भनेपछि मैले दोहोरो प्रश्न गरिनँ। केटा भएर जन्मनु भनेको छुट पाउनु रैछ, भारी छुट। मैले त्यस दिन हजुमाँलाई प्रश्न गर्नुपर्ने थियो। गरिनँ। त्यसैले मलार्ई उत्तर खोज्न आफूभित्रको असहजताको पर्खाल ढाल्नु पर्यो। एउटा यस्तो पर्खाल, जुन हाम्रो नेपाली समाजको हरेक घरभित्र छ।
मेरो कक्षा सिँढी नजिकै तल थियो अनि नानीको माथि। म फस्ट बेन्चमा ढोकाछेउ बस्थेँ। ब्ल्याक बोर्डको रहलपहलभन्दा ढोकाबाहिरको चहलपहल सधैं प्रिय लाग्थ्यो मलार्ई। बाथरुम जाँदा, सर नआएर कक्षा खाली भएर चौरमा खेल्न जाँदा, धारामा पानी थाप्न जाँदा, हरेक पल्ट मलार्ई जिब्रो देखाएर जिस्क्याउँदै जान्थी। म आँखैबाट पख् तँलाई भन्थेँ। उताबाट सरको डस्टरले पख् तँलाई भनिरहेको हुन्थ्यो। हामीबीच वर्ष दिनको फरक छ। नापेर, छानेर, गनेर मात्र मैले केही खान पाउथेँ। हरेक चिजमा तुलनात्मक हिसाबले बढी चाहिने त्यसलाई। मेरी बैनी कम, हजुरआमा बढी बन्थी। जाडोको महिना थियो। बाहिर चौरको घाम देखेर सरले आज बाहिर पढाउन लगे नि हुने भनेर आँखाले गुनासो गर्दै थियो।
दुईजना साथीको हात समाउँदै बीचमा परेर तल ओर्ली। कम्मरमाथि लगाउनुपर्ने स्विटर कम्मर तल थियो। स्विटर, ठाउँ छोडेर तल झर्नुको कारण मैले बुझ्न सकिनँ। सधैं जिब्रो देखाउने बैनी, आज आँखा पनि नदेखाई घर गई। पोहोर गर्मीमा दुईपल्ट कक्षामा बेहोस हुँदा हेडसरले मलार्ई नै बोलाएर घर लैजा बैनीलाई भनेका थिए। परार ज्वरो आउँदा पनि मैले नै घर लगेको हुँ। यो पालि हेडसरले मलार्ई किन बोलाएनन् ? छुट्टी हुनेबित्तिकै मैले त्यस्को कक्षामा पढ्ने सरुलाई सोधेँ- नानीलाई के भा’को ? एक्कासि सर्प देखेर उछिट्टिएर भागेको भ्यागुताजस्तै मेरो प्रश्नसँग तर्सिएर भागी।
उसको अनुहारको संकोचले मलार्ई सर्पले जस्तै डस्यो। सायद घरले त्यो बेला कुनै पनि केटीलाई रजस्वलाबारे खुलेर कुरा गर्ने आँट दिएको थिएन। आँगनबाटै नानी नानी भन्दै घरभित्र पसेँ। आमा ट्वाइलेटबाहिर उभिनुभएको थियो। जलगैंडाले मुख बाहेको भन्दा ठूलो आँखा बाहेर आमाले मलार्ई चुप भन्नुभो। मुखैमा आएको ‘नानी खै’ भन्ने प्रश्नलाई थुकसँगै घुटुक्क निलिदिएँ। हाम्रो घरभित्रै ट्वाइलेट छ। ट्वाइलेट भित्रबाट आमाले मेरो जिन्सको प्यान्टमा ब्रस लगाउँदा आउने आवाजजस्तै ख्वारख्वार आवाज आउँदै थियो। त्यो आवाज, स्कुलको सेतो सुरुवालमा पहिलो पल्ट लागेको रगतको दाग धुँदाको थियो। सँगै थियो, नानीको सुँक्कसुँक्क आवाज पनि। आमाले मलार्ई लुकाएर बिलौनी देको थाहा पाउँदा यसैगरी रुन्थी ऊ। तर आज आमाले त्यसलाई लुकाएरै बन्देज दिइसक्नुभएछ। इसारा गरेर सोधेँ आमालाई, के भा’को ? आमाले मलार्ई बाहिर लगेर भन्नुभयो- नानी पर सरी।
हो, त्यसै दिनदेखि हो, हामी दाजु-बैनीको सम्बन्ध पनि पर सरेको। बैनी पर सर्नु भनेको ‘दाजु तँ नजिक नआइजो’ भन्ने रहेछ।
पन्ध्र दिन म छिमेकमा बसेँ। पर सरेको बेला बैनीले दाइ हेर्दा, दाइको ज्यान जान्छ रे। पर सरेको बेला आँखामा भाइरस हुन्छ र ? कि गोली हान्छ आँखाले ? बुद्धजस्ता ती आँखा एकाएक बिन लादेन बन्छन् र ? पन्ध्र दिनमा खै के भयो, के सिकी, के बुझी... परिवर्तित बैनीलाई मैले बुझ्न सकिनँ। घर थर्किने गरी बोल्थी, बोल्दा ओठ थर्किन थाले। टीभीको रिमोट, मलार्ई लछारपछार पारेर खोस्थी। मुक्कै मुक्का हान्थी। अन्टरटेकरको लक लगाएर ट्याप गर भन्ने मान्छेले, रिमोट दिँदा पनि हातमा छोइएलाजस्तो गरी टेबलमा राखदिन थाली। होमवर्कको सप्रसंग व्याख्या मलार्ई गर्दे भन्थी। सायद त्यसलाई मेरो आँखाको प्रश्न असहज लाग्यो, छिमेककी रूपालाई गएर सिकाइदे भन्न थाली। हाम्रो एउटै कोठा, पर्खाल लागेर दुइटा भयो। त्यसलाई अँध्यारोदेखि डर लाग्थ्यो। म बत्ती निभाई निभाई तर्साउँथेँ। त्यो पन्ध्र दिनमा त्यसका लागि म पनि अँध्यारो भएँ सायद। महिनामा चार दिन बग्ने रगतले वर्षैसम्म हामीबीचको सहजताको बत्ती निभाइदियो। शरीरका अंगहरू बढ्दै जाँदा संकोच पनि बढ्दै जाने रहेछ। आमा र साथीसँग खुल्न सक्ने मेरी बैनी, म पुरुष भएकै कारण मसँग खुल्न सकिनँ। तर मेरो उमेरले त्यो बुझाइ बुझ्न सकेन। समयसँगै मलार्ई बैनीसँग बोल्न अप्ठ्यारो लाग्दै गयो। अप्ठ्यारोको फराकिलो क्षेत्रफलमा संकोचको अपार्टमेन्ट बन्दै गयो, जहाँ थुप्रै डर, लाज र बेकामे मर्यादाहरू डेरा बस्न आए। हामी ठूलो हँदै गयौं र हामीबीचको दूरी विशाल।
एकपल्ट छतमा सुकाइराखेको नानीको कट्टु उठाउन खोज्दा आमाले हातैमा पिट्नुभयो। आमाले आँखा तरेर ‘लाजसरम छैन तँलाई’ भन्दा मेरो आँखाले आमालाई ‘तपाईंले बाबा र मेरो कट्टु धुन हुने, मैले आमा र नानीको सुकेको कट्टु उठाउन नहुने ? ’ भनी सोधेको थियो। मुखले सोध्न सकेन। त्यही दिनदेखि हो, आमा÷नानीको कट्टुलाई हावाले झार्दा उठाएर तारमा सुकाउन सक्ने आँट ममा नआएको। तारमा सुकेका सिरकको खोल र पुरानो धोतीको टालोले मलार्ई धेरै पल्ट प्रश्न गरे- तैंले पढेको के काम ? तर मैले नानीलाई कहिल्यै भन्न सकिनँ प्याड युज गर् भनेर। प्याडलाई नयाँ लुगाजस्तै गरी, बाहिर जाँदा मात्र प्रयोग गर्थी।
कक्षा बाह्रको टुर जाने बेलामा पर सरेकी थिई। म घरछेउको पुलमा साथीसँग गफ गरेर बसेको थिएँ। नानीले पत्रिकाभित्र पोको पारेर प्याड ल्याएकी रैछ। मेरो साथीले नजानेरै सोध्यो, ‘के ल्याइस् काली हातमा, हामी पनि खाऊँ न।’ नानीको अनुहार त्यो डुब्न लागेको घामभन्दा रातो भयो र मेरो पर्न लागेको रातभन्दा अँध्यारो। घाँटीमा अड्किएको हड्डीजस्तो किक्लिक्क थियो, त्यो वातावरण। नानी हाँस्न पनि नसकेर घरतिर लागी। मैले पछि साथीलाई पत्रिकाभित्रको प्याडबारे भनेँ। आंैसीभन्दा अँध्यारो हुँदै साथीले ‘सरी यार’ भन्यो।
साथीभाइबीच ब्लु फिल्मको चक्काबारे कुरा हुन्थ्यो, सिरिंग हुने गरी सपनामा देखिएकी नांगी केटीको कुरा हुन्थ्यो। तर रजस्वलाबारे कहिल्यै कुरा भएन। कुरा भए पनि हातले दाँत छोपेर हिहिहि गर्नेको जमात धेरै थियो। काँटा चम्चाले खान नजान्दा धेरै आवाज आउँछ। त्यो हिहिहिको आवाज पनि त्यस्तै थियो। छोरालाई कोही आमाले (रजस्वलाको पाठ आपैंm पढ भनेर, चौरमा सुर्ती पड्काउने सरलाई त म उल्लेख पनि गर्न चाहन्नँ) सिकाएन रजस्वलाको काँटाचम्चा कसरी चल्छ भनेर। अब फेरि त्यही सिन दोहोरिएर कुनै दिन आयो भने म एकदम सहज हिसाबले जिस्क्याउँदै भन्न सक्छु- प्याड खान्छन् यार ? स्टेफ्रीको विज्ञापनमा केटी कति मजाले उफ्रेको देखाइन्छ। तर मेरी बैनी, खुला प्याड बोकेर कहिल्यै हिँड्न पनि सकिन। र मैले आफैंलाई प्रश्न गरेँ- पत्रिकाले प्याड नछोपी घर आउन सक्ने केटी कस्ती हुन्छ होला ?
एकपल्ट, साथीको बर्थ डेमा जाने तयारी गर्दै थिई। भिजेकै कपालमा टी-सर्ट लगाएकाले छातीको डोब बाहिरबाट प्रस्ट देखिँदै थियो। मैले देखेँ र ठूलो स्वरमा खोक्दै म कोठाबाट बाहिर गएँ (अक्सर हामी, मैले देखेको छैन भन्नका लागि ठूलो स्वरमा खोक्ने गर्छौं)। मेरो खोकीको आवाज त्यसको छातीसम्म संकेत हुन सकेन। बच्चामा कट्टु नलगाउँदा औंला बंग्याएर कुरीकुरी भन्दै जिस्क्याउने मैले त्यो बेला आँखा बंग्याएर कुरीकुरी भन्न सकिनँ। त्यो दिन मेरो असहजताले मलार्ई आंैला उठाएर नराम्रोसँग कुरीकुरी भन्यो। हतासमा भान्छामा गएँ। कन्डमको प्रचार आउँदा, टाउको कन्याउँदै माथि लुगा सुकाको छ भनेर उठ्ने आमालाई म कसरी भनांै, नानीको भिजेको छातीबारे। यौन शिक्षा र प्रक्रियाबारे घरमा हामी सहज हुनै सकेनौं। त्यही कारणले हो, बाहिर पानी परेर चिसो हावा बग्दा पनि मैले खलखल पसिना बगाएर आमालाई बैनीको छातीबारे भन्नु परेको। पसिना त मेरो त्यो बेला पनि बगेको थियो, जब मैले कलेजमा सँगै पढ्ने केटी साथीलाई प्यान्टमा लागेको रगतबारे संकेत गराउन सकिनँ। मैले भन्न नसक्दा उसले क्लासमा हाँसोको संख्या गन्न सकिन।
आफूभित्रको विचारको अचार डब्बाभित्रै ढुसी पारेँ तर कसैलाई स्वाद दिन सकिनँ।
नानी पर सरेको बेला, आमा बाथरुमबाहिर बसेर नानीलाई बगाइस् बगाइस्, राम्रोसँग बगा भनेर पचास फेर भन्नुहुन्थ्यो। म मनमनै सोच्थेँ- मैले पिसाब फेरेर पानी हाल्न बिर्सिंदा नानीले पानी हाल्न हुने, टालो धोएर रगत बगाउन बिर्सिंदा मैले बगाइदिन नहुने ? धारा खोलेर पिसाब फेर्दा, फेरेको आवाज बाहिर जाँदैन भनेर सिकेकी मेरी बैनीले के मेरो मनको कुरा बुझ्न सक्थी ? मलार्ई कहिलेकाहीँ छुटे पनि हुन्थ्यो जस्तो लाग्थ्यो। तर प्यानमा आची छुट्थ्यो मिन्स भएको रगत कहिल्यै पनि छुटेन।
म तिनै आमाको रगतमा लत्पतिँदै यो संसारमा आएँ तर मैले आमा मिन्स हुँदाको रगत देख्न हँदैन। र मलार्ई देख्न दिइएको पनि छैन।
म पर सरेको छु भनेर मेरो आँखामा हेरेर नानीले कहिल्यै भन्न सकिन। किन ? किनकि आमाले जुन संकोच हजुरआमाबाट लिनुभयो, त्यही संकोच नानीलाई दिनुभयो। घरमा कोही नहुँदा मैले पकाको डढेको भात आँखा चिम्म गरेर पानीसँग निल्थी तर मिन्स भएकाले भान्छा छिरेर कहिल्यै पकाइन। किन ? किनकि आमाले जुन संस्कार हजुरआमाबाट सिक्नुभयो, त्यही संस्कार नानीलाई सिकाउनुभयो। एप्पलले अपडेट गर्दै आइफोन एक्स ल्याइसक्यो। एन्ड्रोइड... हनिकम, जेलिबिन, किटक्याट, मार्समल हुँदै ओरियोमा आइसक्यो। कम्पनीलाई थाहा छ, समयअनुसार चलिएन भने चलिँदैन भनेर। हामीले हाम्रो संस्कार अपडेट कहिले गर्ने ? तरकारी केलाउन हुन्छ, पकाउन हँदैन। खाटमा सँगै बसे छोइन्छ, भुइँमा गलंैचामा सँगै बसे छोइँदैन। भाँडा माझ्न हुन्छ तर पानी सुकेपछि मात्र भित्र लान पाइन्छ। बोटबिरुवा छुन हँदैन तर घाँस काट्न हुन्छ।
पानी छुन हुँदैन तर लुगा धुन हुन्छ। पसल गएर सबै सामान किन्न हुन्छ तर त्यही सामान भान्छामा राख्दा छोइन्छ। अचम्मको संस्कार छ हाम्रो। पेटमा आची बोकेर पूजा गर्न हुन्छ तर योनिमा रगत बोकेर भगवान् छुन हँदैन। घाँटी काटेर आएको रगत देवीलाई चढ्छ। पेट कटक्क काटेर आएको रगतचाहिँ किन चढ्दैन ? हजुरआमाहरू मिन्स हुँदा तिघ्रामा लागेको रगत माटोले पुछ्नुहुन्थ्यो। त्यही संस्कार अँगाल्ने भए छोरीहरूलाई माटो नै प्रयोग गर्न सिकाए भैगो। प्रयोग गरिने साधनमा आधुनिकता खोज्छौं भने संस्कार परिमार्जन गर्न किन पछि पर्ने ? मेरो त सपनै छ- बैनीले मिन्स हुँदा पकाएको खाना खाने। मेरो त रहरै छ- मैले शिवलाई लड्डु र गणेशलाई बेलपात चढाउँदा बैनीले उठाएर सही ठाउँमा राख्दिएको हेर्ने। मेरो त इच्छै छ- मिन्स हँदा पनि बैनीले सबै चाडपर्व मनाएको हेर्ने। आमाले अस्ति भर्खर भन्नुभा’को छ- तँलाई जे मन लाग्छ गर छोरो, तेरो सपना रहर इच्छा मेरो पनि हो। आमालाई यतैबाट एउटा अनुरोध छ- माथि उल्लिखित सबै सपना रहर इच्छालाई आफ्नै मानेर पूरा हुन देऊ है।
एक्कैछिन मैले तिम्रो हुनेवाला बुहारीको कुरा गरेँ है, आमा।
उसको मिन्स हुने डेट, हरेक महिनाको १ गते हो। भेटेदेखि अहिलेसम्म दुईपल्ट पाँच दिनले डिले र एकपल्ट दस दिनअगाडि भा’को छ। उसलाई पहिलो दिनमा नाइटोभन्दा ठीक तल ढुंगा राखेको जस्तो भारी हुन्छ। छिटो हिँड्दा पेट दुख्छ भन्छे, म बिस्तारै हिँड्छु। उपँ्रmदा घोच्छ भन्छे, म खाल्डाखुल्डी बचाएर स्कुटी चलाउँछु। पहिलो र दोस्रो दिनमा मान्छेको आवाज सुनेर झर्को लाग्छ, झनक्क रिस उठ्छ, जीउभरि सिकसिक लाग्छ, चलेको जिस्केको मन पर्दैन भन्छे। पहिलो पल्ट यस्तै भा’को थियो। मिन्स भा’को पहिलो दिन रै’छ, मैले चिया हैन कफी खानँे भनेर जिद्दी गर्दा क्याफेमा सबैका अगाडि ठूलो स्वरमा कराई। सानो स्वरमा बोल्ने मान्छेले, सामान्य कुरामा पनि किन यस्तो व्यवहार गरेको भनेर अचम्म लाग्याथ्यो मलार्ई। पछि उसैले बुझाई- मिन्स हुँदा शरीरमा प्रोजेस्टेरोन र एस्ट्रोजन हर्मनको उतारचढावका कारण चिडचिडाहट हुन्छ। रिसाउने, झर्किने, पहिलाभन्दा अलि छुट्टै व्यवहार गर्ने हुन्छ। महिनाको २६ दिन हामी मिलेर एकअर्कालाई बुझ्ने, चार दिनचाहिँ मलार्ई डिस्काउन्ट दिनुस्। यति बुझेपछि आजकाल ऊ झर्के पनि डिस्काउन्टवाला दिन चल्दैछ भनेर हाँसेरै कुरा गर्छु। ऊ विस्परको ६ पिसवाला एक्सल साइज प्याड मात्र प्रयोग गर्छे। म आपैंm प्याड किन्छु आमा। पसलमा प्याड माग्दा मलार्ई लाज लाग्दैन।
पसलेले पत्रिकामा बेरेर दिन खोज्दा म पर्दैन भन्छु। मलार्ई हेरेर पसले मुसुमुसु हाँस्छ। ऊ पनि प्याड पत्रिकामा पोको पार्दैन। हातमा दूधको प्याकेटजस्तै झुन्ड्याउँदै लैजान्छु। हरेक महिनाको २६ गते म एउटा विस्पर किनेर उस्को ब्यागमा राख्दिने गर्छु। अफिसमा प्याडको स्टक र उसलाई आफ्नो डेट याद हुँदैन। त्यसैले प्याडको स्टक मेन्टेन गर्ने जिम्मा म आफैंले लिएको छु। मैले उसले प्रयोग गरेको प्याड पनि फालेको छु। यसलाई अन्यथा नलिनुहोला। आजसम्म बाबाको कट्टु तपाईंले धोएकामा मैले अन्यथा लिए पनि त्यसको केही माने भएन। हरेक पल्ट मिन्स हुनेबित्तिकै उसले मलार्ई डिस्काउन्टेट डे बिगेन भनेर म्याजेस गर्छे। म रिप्लाईमा ह्याप्पी ब्लिडिङ भनेर पठाउँछु। सुन्दा लाग्छ होला है, छोरो जोइटिंग्रे भइसक्यो भनेर। तर हैन नि आमा, म पुरुष भएर नारीलाई बुझ्दै छु। उस्ले बुझ्न मद्दत गर्दै छे। प्याड गिफ्ट दिने आइडिया पनि त उसैको थियो।
वर्षौंदेखिको मभित्रका जिज्ञासा, संकोच, कौतूहलको जवाफ पाउँदै छु। म पुरुष हो तर नारी संवेदना बुझ्ने भएको छु। बाघले घाँस खाँदैन भन्ने समाजमा म घाँस खाने बाघ बन्दै छु (पुरुषलाई बाघ भनेर माथि पार्न खोजिएको हैन। उखानलाई प्रसंगसँग मिलाएको मात्रै)। ऊ त पर सरेको बेलामा झन् वर लाग्छे। तर आमा नानी पर नसरेको बेला पनि किन वर लागेन ? आमा मलार्ई तपाईं र नानीको मिन्स हुने डेट था छैन। मिन्स हुँदा सबैलाई फरक फरक दु :खाइ हुने रै’छ। तपाईं र नानीलाई कता कसरी दुख्छ मलार्ई था’छैन। तपाईं र नानीले सधैं टालो प्रयोग गर्दा फंगल इन्फेक्सन, युरिनरी इन्फेक्सनका साथै प्रजनन स्वास्थ्यसमेत कमजोर हुन्छ भनेर मैले भन्न सकिनँ। नानीलाई पनि मैले टीभीको साउन्ड ठूलो पारेर फुटबल हेर्दा कत्ति झर्को लाग्थ्यो होला। खाजा खाने पैसा मागेर दिक्क बनाउँदा तपाईंलाई पनि कत्ति झर्को लाग्थ्यो होला। मलार्ई थाहा थिएन, आमा मिन्स हुँदा झर्को लाग्छ भनेर। सायद तपाईंले जे देख्नु सिक्नुभयो, त्यो नानीलाई हस्तान्तरण नगरेको भए, मैले यो सब कुरा घरमै सिक्थेँ होला।
नानी पेट दुखेर छट्पटिँदा, हट ब्यागले सेकिदिन्थेँ होला। तर आमा तपाईंले बैनीलाई छुन हुन्न भनेर सिकाउनुभयो। नानीले खाजा खाने पैसा जोगाएरै भए पनि प्याड किन्थी होला। रगत बग्नुलाई सामान्य रूपमा लिएको भए प्याडलाई असामान्य रूपमा पत्रिकामा पोको पर्दिनथी होला। तपाईंले टालो देखाएरै त होला, सायद नानीले प्याड चिन्न नसकेकी। नानी र म कत्ति धेरै मिल्थेम। स्कुलको, साथीको सबै कुरा सेयर गर्थेम। नानीले मिन्स हुँदा के कस्तो हुन्छ भनेर मसँग किन सेयर गर्न नसकेकी ? सायद म दिदी भा’को भए गर्थी होला है ? नानी पर सरेपछि नै हो, मबाट पअअअअर सरेकी। पअअअर सरेकी कि सारिएकी आमा ? मेरो अर्को पनि रहर छ नि आमा- नानीलाई पनि निर्धक्क ‘ह्याप्पी ब्लिडिङ बुने’ भनेर म्यासेज गर्ने। यो रहरमा तपाईं कहर नबन्नु है पिलिच !
अस्तिबाट मन हल्का भयो। मलार्ई गुनासो त्यो दस वर्षसँग छ, जहाँ बैनी र मेरो बीचमा दूरी आयो। संकोचले असहजता हुँदै एउटा ठूलो खाली ठाउँ बनाइदियो। जहाँ नानी र मेरो साझा सवाल अनि समयहरू मेल खान सकेन। नानीको सोचाइ परिवर्तन भइसकेको रहेछ। मलार्ई थाहा भएन। आमामा पनि थोरै संकोच हराएर गएछ। मलार्ई थाहा भएन। उताबाट सुरु भएको असहजता खिल बनेर गडेको थियो। खिल निकाल्न गिफ्टले धेरै मद्दत गर्यो। कार्टुनको र्यापर च्यातेर गिफ्ट हेरेपछि नानी मज्जैसँग हाँसी र भनी- तैंले देको गिफ्ट सायद आजैबाट लगाउनु पर्लाजस्तो छ। यसको मतलब महिनाको २३ देखि २५ को बीचमा नानी मिन्स हुँदी रैछे। यो एक लाइन यति स्पष्ट बोल्न र सुन्न दस वर्ष लाग्यो।
यत्तिकैमा आमा पनि हाँस्दै बोल्नुभयो- तीन महिनाअगाडि देको भए मैले नि लाउन पाउथेँ। मलार्ई तीन महिनापछि थाहा भयो आमाको रजस्वला प्रक्रिया रोकिएको कुरा। रजस्वला... सुन्दा मिठाईजस्तोे लाग्ने यति मीठो शब्द, किन नमीठो गरी संस्कारमा व्यक्त गरिएको होला ? गिफ्ट झिल्को बन्यो। यो झिल्को सल्काउन मलार्ई वर्षौं लाग्यो। तर अब परिवारमा सहजताको आगो दन्काउन म महिना पनि लगाउने छैन। लाग्दा पनि लागेन। नानी बिस्तारै आकाशजस्तै खुल्दै छे। नानीले रक्तदानको कुरा गर्दा, केटाको तुलनामा केटीले कम रक्तदान गर्ने तर्क सुनाई। केटीहरूको हरेक महिना मिन्स हुँदा रगत बग्ने भएकाले शरीरमा रगत परिवर्तन चलिरहन्छ। तर केटाहरूमा नहुने भएकाले रक्तदान जरुरी छ। मलार्ई तर्कको सत्यतथ्य खोतल्न मन लागेन। बस् नानीको उधार कुराले दिल गार्डेन गार्डेन बनायो।
खोला पनि मिन्स हुन्छे, वर्षमा एकपल्ट बर्खायाममा। ठूउउउलो हुन्छे। खोलैबाट सिकेका होलान् हरेक आमाले मिन्स भएपछि छोरी ठूली हुन्छे भनेर। तर खोला पअअअर सर्दिन। छोरी ठूली हुन्छे, साँघुरिएर बगाउँछे अनि पअअअर सर्छे। त्यो बेला खोलासँग गर्व हुन्छ, शान हुन्छ, शक्ति हुन्छ। त्यो बेला छोरीसँग हीनता हुन्छ, लाज हुन्छ, कमजोरी (आत्मबलको) हुन्छ। मेरो पुस्ताका हरेक आमालाई सोध्न चाहन्छु- खोलाजस्तै ठूली तिम्री छोरी, महिनाको चार दिन खोल्सीभन्दा साँघुरो कसरी हुन्छे ? भो प्रश्न सोध्दिनँ, म ठाडो आरोप लगाउँछु। उसको पैmलावटलाई सीमा तिम्ले नै देखाएको हो। कलिलो दिमागले जे देख्छ, त्यही सिक्छ। तिमीले मिन्स हुँदा सहजै पूजा गरिदिएको भए, तिम्री छोरीलाई कसरी थाहा हुन्थ्यो मिन्स हुँदा पूजा गर्नु हुँदैन भनेर ? साथीहरूले हाम्रो घरमा मिन्स हुँदा पूजा कोठामा पस्न दिँदैनन् भन्दा हाहाहा गरेर हाँस्थी होला।
तिमीले ऊसँग त्यो हाँस्ने आत्मबल किन खोसेको ? तिमीले मिन्स हुँदा आफू आराम गरेर लोग्नेलाई खाना पकाउन लगाएको भए, उसलाई पनि थाहा हुन्थ्यो मिन्स हुँदा आराम गरिन्छ, बिचरा बनिँदैन भनेर। तिमीले ऊसँग त्यो आराम किन खोसेको ? तिमीले छोराहरूलाई प्याड किन्न पठाएर फाल्न पनि लगाएको भए, उसको सोचाइ साँघुरो हुने थिएन होला। उसको सोचाइलाई किन पासो थापेको ? तिमीले मिन्स हुनु भनेको सामान्य शारीरिक प्रक्रिया हो भनेर स्वीकारेर व्यवहारमा ल्याएको भए, उसमा हीनता हैन, गर्व आउँथ्यो होला। तिमीले उसको गर्वलाई लाजमा किन रूपान्तरण गरेको ? भान्सामा सँगै पसेर भातको सिट्ठी गन्न, तरकारीमा नुन हाल्न सिकाएजस्तै गरी ट्वाइलेटमा सँगै पसेर छोरीलाई प्याड लगाउन सिकाएनौ।
तरकारी मीठो हुनुको महत्र्व बुझायौ तर मिन्स हुनुको महत्र्व बताएनौ। भान्छामा सँगै हुनु र ट्वाइलेटमा बाहिर बसेर निर्देशन दिनुमा तिम्री छोरीले फरक देखी। हो, त्यही फरक बिस्तारै लाज हँदै डर बन्यो। सामान्य कुरालाई असामान्य व्यवहार देखेर तिम्री छोरीले पनि असामान्य मानी। तिम्ले जे देखायौ त्यही सिकी। पर बस्, बाबालाई नछो, दाइसँग नखेल, भान्छामा नजा, पूजाकोठामा पस्दै नपस्... यी सबै आदेशले यस्तो छाप छोड्यो कि महिनाको चार दिन उसलाई दाग लाग्यो। रजस्वला, मिन्स, पर सर्नु, छुई हुनु, छाउपडी...यो सबै शब्दको अर्थ दाग हैन, प्रजनन प्रक्रियाको बहुमूल्य भाग हो। जसरी एउटा सानो बच्चालाई आचीलाई छिइइइ अनि चकलेटलाई आहाआआआ भन्न सिकाउनुभयो, त्यसैगरी सिकाउनुस् आफ्ना बच्चाहरूलाई (छोराछोरी दुवै) रजस्वला आहाआआआआ हो छिइइइइ हैन।
माल्भिका सुब्बाको छोरो सानो छ। भर्खर स्कुल जान थालेको छ। उनले छोरालाई मिन्स हुनु भनेको कौवाले ठुङ्नु हो भनेर सिकाएकी छैनन्। उनी निर्धक्क छोरोलाई सिकाउँदै छिन् रे, चार दिन बग्ने रगतको रङ पनि रातै हुन्छ। म आशा गर्छु, अबका सबै दिदीबहिनी छोराछोरीका लागि माल्भिका सुब्बा बन्न सकून्। पुस्ताले परिवर्तन माग्छ र जरुरी पनि छ। परिवर्तन दिन नसक्नु हाम्रो कमजोरी हुनेछ। विचारले व्यवहारमा बिहानी ल्याउँछ र तपाईंको व्यवहारले अरूको विचारमा रात पर्न दिनेछैन। अनि सुदूरपश्चिमवासीलाई मेरो सानो प्रश्न- परिवर्तन चाहेरै हो तिमीले ‘लोकतन्त्र जिन्दावाद’को नारा लगाएको।
देशका लागि राजसंस्था भत्काउने सक्ने तिमीले छोरी-बहुारी-आमाका लागि छाउगोठ भत्काउन किन नसकेको ? सक्नुपर्छ, ‘छाउपडी प्रथा मुर्दावाद’ भन्न सक्नु नै पर्छ। किनकि भोलिपर्सि यो लेख पढेर मेरी भान्जीले ‘जोक्स लेख्नुभाको रैछ, यस्तो पनि हुन्थ्यो र ? ’ भनिरहँदा तिम्री नातिनीले यो लेखभित्र आफैंलाई पाउँछे। मलार्ई लाग्छ, विकास पूर्वाधारले भन्दा पहिले विचारले हुन्छ। म चाहन्छु, केही दशकपछिको पुस्तालाई यो लेख मजाक लागोस्।
दुई महिनाअघि यही फुर्सदमा ‘उ-हारी कि बुहारी ? ’ लेख छापेर अत्यधिक प्रशंसा बटुलेका तन्नेरी लेखक २कगदभमष्कजचभथबव वीरगञ्जमा अटो मोबाइलको काम गर्छन्।
प्रतिक्रिया दिनुहोस !