‘आतंकवाद नरोकिए सार्क अघि बढ्दैन’
नयाँदिल्ली : भारतीय विदेशमन्त्री एस जयशंकरले आतंकवादको सिलसिला नरोकिएसम्म सार्कको भविष्य नहुने स्पष्ट सन्देश दिएका छन्। मोदी सरकारको दोस्रो कार्यकालको सय दिन पुगेको अवसर पारेर भारतीय विदेश मन्त्रालयले आयोजना गरेको सरकारको पत्रकार सम्मेलनमा विदेशमन्त्री जयशंकरले उक्त सन्देश दिएका हुन्। कार्यभार सम्हालेपछि पहिलोपटक विदेशमन्त्री जयशंकरले औपचारिक रूपमा पत्रकार सम्मेलन गरेका थिए।
कार्यक्रममा पाकिस्तानी विदेशमन्त्रीसँगको भेट, सार्क र सन्देशबारे पत्रकारले सोधेको प्रश्नमा सार्कको चिन्ताबारे उनले भने, ‘सार्क भनेकै क्षेत्रीय सहकार्य हो। क्षेत्रीय सहकार्यमा मस्ट फेवर्ड नेशनको आधारमा व्यापार आवश्यक हुन्छ, कनेक्टिभिटी जरुरी हुन्छ। त्यहाँ आतंकवादको कुनै स्थान हुँदैन।’ सार्कको भविष्य ध्यानमा राख्ने हो भने कसले सार्कको प्रवर्धन गरेको र क्षति पुर्याइरहेको छ भन्ने कुरा प्रतिविम्बित हुनुपर्ने उनले बताए। ‘म यो कुरामा पूर्ण विश्वस्त छु कि यसको जवाफबारे सार्कका सबै सदस्य जानकार छन्’, जयशंकरले कुनै पनि मुलुकको नामै नलिई सार्कको भविष्य नदेखिनुको पछाडि आतंकवाद नै मुख्य मुद्दा रहेको स्पष्ट सन्देश दिए।
उनले पाकिस्तानी विदेशमन्त्रीसँगको भेटबारे ‘हामी हेर्नेछौं’ भन्ने जवाफ फर्काएका थिए। उनले अन्तर्राष्ट्रिय मञ्चमा यस प्रकारको भेटघाट भइरहने भन्ने जवाफ दिँदै भने, ‘यसअघि पनि लन्डनमा भएको कमनवेल्थ विदेशमन्त्री स्तरीय बैठकमा हामीले भेटेका थियौं। यी अन्तर्राष्ट्रिय मञ्च हुन्।’ कश्मीर मुद्दालाई लिएर राष्ट्रसंघमा समर्थन जुटाउने पाकिस्तानको निरन्तर प्रयासलाई भारतले पनि विफल बनाउने प्रयास जारी छ।
२०७६ असोज ७ मा न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघीय महासभाको साइडलाइनमा बस्ने सार्क विदेशमन्त्री स्तरीय बैठकमा सार्क अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले गरेको आग्रहलाई भारत र पाकिस्तानसहित सार्क सदस्य राष्ट्रले स्विकारेपछि बैठक बस्ने निश्चित भएको हो। सार्कका अन्य सदस्य बंगलादेश, भुटान, श्रीलंका, अफगानिस्तान र मालद्वीप पहिले नै सहमत थिए। असोज ९ गते यो बैठक बस्दै छ।
भारत–पाकिस्तान तनावपूर्ण सम्बन्धका कारण चार वर्षदेखि सार्क शिखर सम्मेलन हुन सकेको छैन। हरेक वर्ष महासभाको ‘साइडलाइन’ मा यो बैठक बस्दै आएको छ। नेपाल सरकार र सार्क सचिवालयको समन्वयमा सम्भव हुन लागेको यो बैठकमा शिखर सम्मेलनबारे छलफल हुने बुझिएको छ। बैठकको अध्यक्षता नेपाली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !