चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख थाउ नेपाल आउँदै
बेइजिङ : चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं विदेश विभागमन्त्री (प्रमुख) सोङ थाउ सोमबार नेपाल आउँदैछन् । उनी थाइल्याण्डबाट नेपाल आउने कार्यक्रम छ ।
चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु चाओमिङले विज्ञप्ति जारी गर्दै नेपाल भ्रमण क्रममा मन्त्री थाउले नेपालका प्रमुख राजनीतिक पार्टीका नेतासँग भेटवार्टा गर्ने उल्लेख गरेका छन् । उनको विज्ञप्तिमा नेपाल सरकारका उच्च अधिकारीसँग पनि वार्ता हुने उल्लेख गरिएको छ ।
नेपालमा नयाँ युगका लागि चिनियाँ विशेषताको समाजवाद सी चिनफिङ विचारधारामाथि सत्रका साथै चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच सैद्धान्तिक गोष्ठीमा भाग लिनेछन् । नेपाली पक्षको निमन्त्रणामा गर्न लागिएको यस नेपाल भ्रमणले दुई पार्टी र दुई सरकार बीचको सम्बन्ध थप सुमधुर हुने विश्वास व्यक्त गरिएको छ ।
गत सेप्टम्बर १६ तारिख चिनियाँ कम्युनिस्ट पार्टी अन्तराष्ट्रिय विभागद्वारा जारी विज्ञप्ति अनुसार, थाइल्याण्डको पिपल्स स्टेट पावर पार्टी, इण्डोनेसियाको डेमोक्रेटिक पार्टी अफ स्ट्रगल र नेपालको नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवं विदेश विभाग प्रमुख सोङ थाउको नेतृत्वमा एक प्रतिनिधि मण्डलले सेप्टम्बर १७ देखि २५ तारिखसम्म भ्रमण गर्नेछ ।