गलत डिजाइनले पुल अलपत्र

गलत डिजाइनले पुल अलपत्र

रुपन्देही : रुपन्देहीको मणीग्रामदेखि-मोतिपुर जोड्ने पक्की पुलको निर्माण थालिएको ९ वर्षभन्दा बढी भयो। लुम्बिनी परिक्रमा सडकमा पर्ने यो पुलको ठेक्का सम्झौता २०६७ असार २५ गते भएको थियो। बुद्धस्थललाई जोड्ने गरी देवदहदेखि-लुम्बिनीसम्म ४२ किलोमिटरको लुम्बिनी परिक्रमाअन्तर्गतको सडक ढिला गरेर भए पनि सम्पन्न भएको छ। तर यो सडकमा पर्ने पुल निर्माण कहिले सकिने हो टुंगो छैन। पुलको पाँच भागमध्ये दुई भाग ढलान भइसकेको छ। बाँकी तीन भागको पिल्लर र ढलान कार्य सुरु हुन सकेको छैन। पुल निर्माणमा ढिलाइ हुँदा लुम्बिनी परिक्रमा सडकले पूर्णता पाएको छैन।

‘अहिले खोलामा पानी बढेको छ। आधा शरीर डुबाएर ओहोरदोहोर गर्नुपरेको छ’, स्थानीय भविश्वर पाण्डेले भने, ‘बुटवल र अमुवाका पुल योभन्दा पछि सुरु भएर पनि सम्पन्न भइ मोटर गुड्न थालिसके। तर यो पुल कहिले निर्माण सम्पन्न हुन्छ, टुंगो छैन।’पुल निर्माणका लागि साढे २ वर्षको म्याद २०६९ पुस २४ मा सकिए पनि पटक-पटक थप गरी २०७२ असार २५ सम्म पुर्‍याइएको थियो। त्यसयता म्याद थप स्वीकृत नभए पनि केही काम भइरहेको थियो। पुलको तीनवटा पिल्लर राख्ने क्रममा जमिनमुनि चट्टान भेटिएपछि निर्माण अलपत्र परेको हो। डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर दुर्गा गौतमले परामर्श दाताले पुलको गलत डिजाइन गर्दा समस्या भएको बताए।

‘काम गर्ने क्रममा जमिन मुनिको ढुंगा माटोको प्रकृति पुलको डिजाइनभन्दा फरक पाइयो। पिल्लर चाहिने जति गहिराइमा जान सकेन’ उनले भने, ‘निर्माण कम्पनीमार्फत अर्को परामर्शदाताबाट अध्ययन गराउँदा डिजाइन फरक भएको पाइयो।’डिजानइन फरक भएपछि त्यसलाई परीक्षण गर्न सडक विभागले पुलचोक इन्जिनियरिङ कलेजसँग मद्दत माग्यो। इन्जिनियरिङ कलेजबाट विज्ञ टोली आएर जमिनको एक्सरे जसरी अनुसन्धान गर्दा आठ÷नौ मिटरको गहिराइमा चट्टान रहेको देखियो।

चट्टानको कारण बाँकी तीनवटा पिल्लर राख्न नसकेको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ। इन्जिनियरिङ क्याम्पसको टोलीले पुलको लागि नयाँ डिजाइनसमेत तयार गरेको डिभिजनका प्रमुख मेघराज मरासीनीले बताए। ‘नयाँ डिजाइन विभागले अध्ययन गरिरहेको छ। त्यो डिजाइन विभागबाट स्वीकृत भएपछि काम सुरु हुन्छ’, उनले भने, ‘एक महिनाभित्र स्वीकृत भयो भने दशैंपछि पुनः पुल निर्माण सुरु हुन्छ।’

पुरानो डिजाइन अनुसार ह्वेल पद्दती अनुसार पिल्लर राख्नुपर्ने तर नयाँ डिजाइन अनुसार पाइल सिष्टमबाट पिल्लर तयार गरिने मरासिनीले बताए। पुलको सुरुको डिजाइन नर्थ स्टार इन्जिनियरिङ कन्सल्टेन्ट प्रालि र फिडाले संयुक्त रूपमा गरेका हुन्। गलत डिजाइन बनाउने परामर्शदातालाई कारबाही भने भएको छैन। डिजाइनपछि पुल निर्माणको लागि एलीट कन्ट्रक्सनसँग १० करोड ३७ लाख ९५ हजारमा ठेक्का सम्झौता भएको हो।

पुल नबन्दा हिउँदमा खोलाबाटै सवारी ओहोर दोहोर गर्छन्। तर वर्षातमा भने बाटो बन्द नै हुन्छ। पुल निर्माण सम्पन्न भएपछि लुम्बिनी परिक्रमामार्फत बुद्धको मावली देवदह र जन्मस्थललाई जोड्ने छ। ५ वर्षअघि निर्मााण सुरु भएको लुम्बिनी परिक्रमा सडक निर्माण पूरा भएर अहिले डिएलपी चरणमा रहेको डिभिजन सडक कार्यालयकी इन्जिनियर सविता ज्ञवालीले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.