डोल्पाका गुम्बामा चोरी भयावह

डोल्पाका गुम्बामा चोरी भयावह

डोल्पा : माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका धोस्थित झ्याम्पा गुम्बाको बहुमूल्य सामग्री स्थानीयले घरमा लगेर राख्छन्। १४ औं शताब्दीमा स्थापना गरिएको गुम्बाका सामान चोरी हुने डरले स्थानीयले सहमतिमै घरमा राख्ने गरेका हुन्। विशेष पूजा वा अन्य समारोहमा भने ती सामग्री गुम्बामै लगिन्छ। कार्यक्रम सकिएपछि फेरि घरमै फर्काइन्छ।

सोही गाउँपालिकाको सेरिङ गुम्बाको बहुमूल्य बुद्धमूर्ति र अन्य धातु पनि गाउँलेले घरमा राखेका छन्। गुम्बा सुरक्षाका लागि प्रहरी प्रशासनलाई बारम्बार ताकेता गर्दा चासो नदिएपछि ती सामग्री घरमा राख्नुपरेको स्थानीयको गुनासो छ।

बहुमूल्य सामग्री चोरी हुने आशंकामा घरमा लगेर राखिएका यी दुई गुम्बा उदाहरण मात्र हुन्। यहाँका अधिकांश गुम्बाका सामग्री चोरी भइसकेका छन्। बाँकी सामग्री पनि हराएर गुम्बा रित्तिने अवस्था आएपछि घरमा राखिएको डोल्पोबुद्धकै स्थानीय बासिन्दा तथा गुम्बाका अध्यता ङ्वाङ लुम्डुप गुरुङले बताए। उनका अनुसार मेकिङ च्याङचु छोइलिङ, टाकमार देवा, डोल्पा मेन्चीखाङगलगायत गुम्बाका सामग्री पनि व्यक्तिका घरमा राखिएका छन्। पछिल्लो समय डोल्पाका बौद्ध गुम्बाका सामग्री चोरी हुने क्रम बढेको छ।

गत वर्ष मात्र से फोक्सुन्डो गाउँपालिकाको राहत गुम्बाबाट ४२ वटा बुद्ध मूर्ति चोरी गरेको आरोपमा प्रहरीले दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको थियो। जिल्लाभरबाट कति मूर्ति चोरी भए भन्ने यकिन तथ्यांक कसैसँग छैन। गुम्बामा कति बहमूल्य सामग्री तथा मूर्ति छन् भन्ने तथ्यांक पनि राज्यसँग छैन।

तर, ९० प्रतिशतभन्दा बढी मूल्यवान सामग्री हराइसकेको गुरुङको भनाइ छ। गुम्बाभित्र ऐतिहासिक मूर्ति, लिपि, बहुमूल्य धातु, पेन्टिङ, बुद्धको अस्तुलगायत सामग्री राखिएको छ।

परापूर्वकालमा बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको ठाउँमा र बौद्ध दर्शनको अध्ययनको विस्तार गर्ने उद्देश्य राखेर मुलुकको विभिन्न ठाउँमा गुम्बा स्थापना गरिएको थियो। गुम्बाभित्र सुन्दर पेन्टिङ, बहुमूल्य सामग्री तथा पुराताŒिवक हिसाबले महŒव राख्ने थुपै्र दस्ताबेज राखिएका हुन्छन्।

डोल्पा बौद्ध गुम्बा धेरै भएको जिल्लामा पर्छ। तर, बौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका अनुसार डोल्पामा एक सय ७ वटा मात्र गुम्बा दर्ता भएका छन्। डोल्पा जिल्लाका बौद्ध गुम्बाको विषयमा अध्ययन गरेका समितिका विज्ञ सल्लाहकार मोहनकुमार तामाङले सबै गुम्बा समितिमा दर्ता गर्नुपर्ने बाध्यात्मक व्यवस्था नभएका कारण यकिन तथ्यांक पत्ता लगाउन नसकिएको बताए।

गुम्बाका सामग्री जतन गर्न सुरक्षा प्रबन्धसहित छुट्टै संग्रहालय खोल्ने र त्यही संग्रहालयमा यस्ता सामग्री राख्ने विषयमा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, गुम्बाका अध्यतालगायत व्यक्तिसँग छलफल भइरहेको तामाङले बताए।

यहाँ सार्वजनिक भन्दा पनि निजीस्तरका गुम्बा धेरै छन्। विकट ठाउँमा धेरै गुम्बा भएका कारण प्रशासनले सुरक्षा दिन सकेको छैन। डोल्पोमा डोल्पोबुद्ध, छार्का ताङसोङ, से फोक्सुन्डोलगायत गाउँपालिकालाई निकै विकट मानिन्छ। यी गाउँपालिकालाई सडक सञ्जालले छोएको छैन। मंसिर लाग्नेबित्तिकै हिउँले ढाक्ने भएका कारण यी क्षेत्रमा मानिसको बसोबास निकै कम छ। बसोबासका लागि समेत समस्या पर्ने भएका कारण ती ठाउँका गुम्बालाई सुरक्षाकर्मीले सुरक्षा दिन सक्दैनन्।

ती गुम्बामा लामा बस्छन्। मुखमा पट्टी बाँधेर आउने चोरले लामालाई बाँधेर सामग्री चोर्ने गरेका छन्। गत वर्ष से फोक्सुन्डो र दुई वर्षअघि घाघर गुम्बामा लामालाई यातना दिएर मूर्ति चोरिएको थियो। ती मूर्ति चोरेर कहाँ बेचिन्छ भन्ने पत्तो प्रहरीलाई पनि हुँदैन।

बौद्ध दर्शनका अध्यता तथा डोल्पो बुद्धकै स्थायी बासिन्दा डोल्पो टुल्कु रिन्पोछेले भने, ‘हिमाली जिल्लामा गुम्बाको सुरक्षा ठूलो चिन्ताको विषय बनेको छ। गुम्बाको सम्पत्ति भनेको राज्यकै सम्पत्ति हो। तर, यसमा प्रशासनले पर्याप्त चासो दिएको छैन।’

डोल्पामा आफूले बाल्यकालमा देखेका गुम्बामा भएको सम्पत्तिमध्ये ९० प्रतिशतभन्दा धेरै हराइसकेको रिन्पोछेले बताए। गुम्बाका सामग्री चोरी हुनबाट बचाउन गाउँलेलाई नै सुरक्षा तालिम दिएर सम्बन्धित ठाउँमा खटाउनुपर्ने उनको सुझाव छ।

‘राज्यले प्रहरी परिचालन गर्न नसक्ने हो भने एउटा गाउँका युवालाई तालिम दिएर अर्को गाउँको गुम्बा संरक्षणमा पठाउनुपर्छ। यसो गर्न सकियो भने बाँकी सामग्री संरक्षण गर्न सकिन्छ’, रिन्पोछेले भने। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी नारायण रञ्जितकारका अनुसार मूर्ति चोरीका आरोपमा अहिले दर्जनभन्दा बढी व्यक्तिविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ। हरेक वर्ष ५–६ वटासम्म मूर्ति चोरीका उजुरी आउने गरेको छ। उनका अनुसार डोल्पा जिल्लामा २६ वटा प्रहरी युनिट छ। तर, हिउँ पर्ने समयमा आधाभन्दा बढी युनिट बन्द हुन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.