ठेकेदारले समयमा काम नगर्दा सडक कालोपत्रे भएन
![ठेकेदारले समयमा काम नगर्दा सडक कालोपत्रे भएन](https://annapurnapost.prixacdn.net/media/albums/gaighat-sadak-1_20190929060135_vT1fV4SEFY.jpg)
उदयपुर : म्याद सकिएको ११ महिनामा पनि सडक निर्माण तीव्र नहुँदा उदयपुरको सदरमुकाम गाईघाटवासी धुलोमा बस्न बाध्य छन्। प्रवेशद्वार बसपार्कबाट बजारको मुख्यचोकसम्म आउने १ किलोमिटर सडकको कालोपत्रे गर्न सुर्खेतको निर्माण कम्पनी सूर्य निर्माण प्रालिले चरम लापरबाही गरेको छ।
कालोपत्रे गर्न जीर्ण सडक भत्काएर त्यतिकै छाडेपछि सर्वसाधारणलाई सास्ती भएको स्थानीय जीतेन्द्र ठाकुरले बताए। ‘पार्ने बित्तिकै हिलोले हैरान पार्छ, घाम लागेको दिन पनि धुलोले हिँड्न सकिँदैन,’ उनले दुःखेसो पोखे। ९ करोड ९८ लाख ८४ हजार रुपैयाँ लागतमा निर्माण गर्न ०७४ साल जेठ २४ गते ठेक्काको सम्झौता भएको थियो। तर कम्पनीले काम नगरी अर्को निर्माण व्यवसायीलाई ठेक्का सुम्पिएपछि कामले गति लिन नसकेको स्थानीयको आरोप छ। समस्याबारे त्रियुगा नगरपालिका, गाईघाट–दिक्तेल सडक आयोजनाको बारम्बार ध्यानाकर्षण गराए पनि सुनवाइ नभएको गुनासो पोखे।
अवधि सकिएपछि ६ महिना म्याद थपियो। तर थप समयमा पनि काम भएन। सदरमुकामभित्रकै आयोजनामा ढिलाइ हुँदा धुलो र हिलोमा सास्ती खेप्नुपरेको स्थानीय शम्भुप्रसाद शर्मा बताउँछन्। सडकका ठुल्ठूला खाडलले सवारीसाधन आवतजावतमा समस्या छ। चाडपर्वका बेला धेरै चाप हुने भए पनि सडक राम्रो नहुँदा सवारीसाधन चलाउन मुस्किल भएको छ।
सवारीचालकले नगरप्रमुख बल चौधरीलाई दसैंअघि नै खाडल पुरिदिन ध्यानाकर्षण गराएका छन्। सडकको दुवैतर्फ बजार क्षेत्रको ढल निकास हुने गरी पक्की नाली निर्माणसँगै सडक विस्तार ०७५ साल कात्तिक मसान्तभित्र सक्ने सम्झौता भएको गाईघाट–दिक्तेल सडक आयोजना प्रमुख पशुपति ज्ञवालीले बताए।
उनले भने, ‘अब कालोपत्रे गर्न बाँकी छ, ठेकेदारसँग कुरा भइरहेको छ। दसैंअघि सम्याइदिने र लगत्तै कालोपत्रे गर्ने प्रतिबद्धता आएको छ। ’ असार मसान्तसम्म सक्ने बताए पनि बाढी, गिटीबालुवाको अभाव देखाउँदै ठेकेदारले ढिलाइ गरेको उनको भनाइ छ। पुरानो दुई लेनको सडक विस्तार गरी चार लेन बनाएर दुवैतर्फ ढल निकास गर्ने सम्झौतामा उल्लेख छ।
कम्पनीले ठूला काम सकिसके पनि सडकका नालीमा स्ल्याब राख्ने, बेस राख्ने र कालोपत्रे गर्ने कामहरु अझै बाँकी छ। ठेकेदार कम्पनीले भने दसैंलगत्तै काम सुरु गर्ने बताएको छ। ठेकेदार सूर्य खडकाले वर्षातमा गरेको काम गुणस्तरीय नहुने भएकाले दशैंपछि सबै काम सक्ने दाबी गरे।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)