सुदूरपश्चिममा सात्विक दसैं !
बैतडी : घटस्थापनासँगै दसैंले छपकै छोपेको छ। देशैभर मनाइने यो पर्व सुदूरपश्चिम प्रदेशका केही पहाडी जिल्लामा भने दसैंलाई सादगी रूपमा मनाउने चलन छ। यो क्षेत्रमा भने दसैंको बेला व्रत बसेर दसैं मनाउने चलन छ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अर्थात पहाडी समुदायको बसोबास रहेको ठाउँमा सात्विक हिसावले दसैं मनाउने चलन रहेको बताउँछन्, आचार्य घनश्याम लेखक।
उनी भन्छन्, ‘पितृपक्षबाट जब देवपक्ष सुरु हुन्छ। देवपक्षमा पनि मानिसले चोखोभोको रहेर पूजापाठ गर्ने चलन छ। दसैंमा शक्तिको पूजा गरिने भएकाले शक्तिलाई खुशी पार्नका लागि ब्रत बसेर पूजा गर्ने गरिन्छ।’
बैतडीको दशरथचन्द नगरपालिका-४ का मृगेन्द्रमणी भट्टले दशैैकै नवरात्रीका लागि गएको १५ दिनदेखि शुद्ध शाकाहारी खाना खाएका छन्। उनि भन्छन् ‘घटस्थापनादेखि नवरात्र सुुरु हुन्छ त्योभन्दा १० दिनअघिदेखि नै हामी लसुन प्याजसमेत खाँदैनौं। नवरात्रको समयमा मन्दिरमा गएर पूजा गर्ने चलन छ।’
बैतडी जिल्लाभरका शक्तिपिठका मन्दिरमा घटस्थापनाका दिन सामूहिक रूपमा जमरा राख्ने चलन छ। यसले समाजलाई एकसूत्रमा बाँधेको निङ्गलाशैनी भगवती मन्दिरका पूजारी लोकराज भट्टले बताए। उनले भने ‘हाम्रो यस क्षेत्रमा दसैंको बेला चोखो भोको बस्ने, सामूहिक रूपमा मन्दिरमा जमरा राख्ने चलन छ। यो चलनले हामीलाई सदैव एकता भएर बस्नुपर्छ भन्ने सिकाएको छ।’
दसैंैका बेला गाउँ-गाउँमा रहेका मन्दिरहरूमा पूजापाठ गर्ने चलन रही आएको छ। बैतडीका त्रिपुरासुन्दरी, निङ्गलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिरका साथै उदयदेव, सिगासलगायतका मन्दिरमा सामूहिक रूपमा जमरा राखेर पूजा गर्ने चलन छ।
दसैंको बेला सामूहिक रूपमा गरिने पूजाआजाले गाउँघरका सबै मानिस एक ठाउँमा भेटघाट हुने भएकाले यसलाई पारिवारिक मिलनको पर्वका रूपमा लिन सकिने अनिरुद्र मन्दिरका पूजारी गणेशदत्त अवस्थीले बताए। ‘गाउँघरका मानिस सधैँभरि आफ्नै काममा व्यस्त हुन्छन्। दशैको बेला मन्दिरजस्तो पवित्र ठाउँमा सबैको भेट हुन्छ’, उनले भने, ‘यसले पारिवारिक सद्भाव, सामाजिक सद्भाव बढाउँछ। त्यसमा पनि दसैंको बेला मानिसले शाकाहारी भोजन गर्ने चलन, सात्विक भोजन गर्ने चलन छ। यसले सबैले राम्रो हुने गरेको छ।’
धार्मिक पर्यटनको सम्भावना
दसैंका बेला बैतडीका विभिन्न शक्तिपीठमा दर्शनका लागि भारतीय नागरिक पनि आउने गर्दछन्। नेपालसँग सीमा जोडिएका झुलाघाट, पिथौरागढदेखि कुमाउ गढवालसम्मका मानिस बैतडी पुग्ने गर्दछन्।
वर्षौंदेखि पारिवारिक सम्बन्धका कारण सीमावर्ती भारतीय नागरिक दसैंमा बैतडी आउने गरेको डिलाशैनी गाउँपालिकाका समाजसेवी सुरेश श्रेष्ठले बताए। ‘भारतका सीमावर्ती गाउँ-ठाउँका मानिसहरूसँग हाम्रो रोटीबेटीको सम्बन्ध छ ’, श्रेष्ठले भने, ‘यो सम्बन्धलाई बलियो बनाउन दसैंजस्ता चाडपर्व महत्वपूर्ण भूमिका खेलेको छ। यसले सीमा क्षेत्रका बासिन्दाको सम्बन्धलाई पनि बलियो बनाएको छ।’
दसैंको बेला भारतबाट आउने दर्शनार्थीहरूको उचित व्यवस्थापन गर्न धार्मिक पर्यटनले बढावा पाउने दशरथचन्द नगरपालिका-१ का वडा अध्यक्ष भुवनराज भट्टले बताउँछन्। सुदूरका पहाडी जिल्लामा मनाइने दसैंलाई पारिवारिक मिलनको पर्वका रूपमा मात्र नहेरी दुई देशलाई जोड्ने पर्वका रूपमा हेनुपर्ने उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खीमानन्द भट्ट बताउँछन्। ‘दसैंका बेला आउने भारतीयहरू अगाध श्रद्धा बोकेर नेपाल आउँछन्’, उनी भन्छन्, ‘हामीहरूसँगको मित्रतालाई थप बलियो बनाउँछ। यसले सीमा क्षेत्रका बासिन्दालाई सजिलो भएको छ।’
पशुबली रोक्नुपर्ने आवाज
सुदूरका पहाडी जिल्लामा दसैंलाई सात्विक रूपमा मनाउने चलन हुँदा-हुँदै पनि विभिन्न शक्तिपीठहरूमा पशुबली दिने चलन छ। कतिपयले यो चलन राम्रो नभएको बताए पनि तत्काल रोक्न सकिने अवस्था रहेको छैन। परापूर्वकालदेखि नै पशुबली दिने चलन रहेकाले तत्कालै रोक्न गाह्रो भएको निंगलाशैनी माविका शिक्षक तीलक बोहरा बताउँछन्।
‘हाम्रो समाज हिन्दू दर्शनले चलेको समाज हो। हिन्दू धर्ममा अहिंसाको कुरा उल्लेख गरिएको छ’, उनी भन्छन्, ‘ पशुबलीपछि चलाइएको हो। यसलाई रोक्नुपर्छ।’
प्रतिक्रिया दिनुहोस !