दसैंमा घर फर्कनेको लर्को
बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट घर फर्कनेको लर्को लागेको छ । दसैं सरु भएसँगै रोजगारीका लागि मुग्लान पसेकाहरु घर फर्किन थालेका हुन् ।सीमावर्ती भारतीय सहर झुलाघाट, पिथौरागढमा काम गर्न गएका सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिक झुलाघाट नाकाबाट घर फर्किन थालेका हुन् ।
सीमा नाकाबाट आजभोली दैनिक तीनसय बढी मानिस स्वदेश फर्कने गरेका सीमा प्रहरीचौकी झुलाघाटका प्रहरी नायव निरीक्षक जनकसिंह धामीले बताए । उनले भने, 'गएको १५ दिनयता सीमा नाकाबाट घर फर्किनेको लर्को लागेको छ । कामका लागि भारत पसेका दसैंका लागि घर फर्कने गरेका छन्।'
बझाङको बित्थडचीर गाउँपालिका सुनकुडाका परमानन्द जोशी बिसु मनाएर रोजगारीका लागि भारतको पिथौरागढ पुगेका थिए । करीब ६ महिना काम गरेर दसैंका लागि उनी घर फर्किएका छन् । उनले भने, 'हाम्रो गाउँघरमा दसैंको बेला मठमन्दिरमा पूजाआजा हुनेगर्छ । गाउँका आफन्तसँग भेटघाट हुन्छ। त्यसैले दसैं मनाउन घर फर्केको हुँ ।'
परमानन्द जोशीसँग सोही ठाउँका वीरभद्र जोशी पनि गोठलापानी बसपार्कमा बझाङका लागि गाडी खोजीरहेको अवस्थामा भेटिए । उनले पनि दसैंमा आफन्तसँग भेटघाट हुने भएकाले घर फर्किएको हुँ।
सीमा नाकामा प्रहरी र सशस्त्र प्रहरीको सहायता कक्ष
सीमा नाकाबाट घर फर्किनेहरुका सुरक्षाका लागि झुलाघाटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहायता कक्ष स्थापना गरेका छन् । नेपाल प्रहरीले स्वास्थ्यकर्मीसहितको सहायता कक्ष स्थापना गरेको छ भने सशस्त्र प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
सीमाबाट फर्किने नेपालीलाई दसैंको बेला दुःख नहोस भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । उनले भने, 'हामीले सीमा नाकासहित जिल्लाका ५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेका छौं । यात्रुहरुलाई केही समस्या परेमा सहायता कक्षबाट सेवा प्रदान गरिरहेका छौं ।'
सीमा नाकाबाट घर फर्किने नागरिकलाई सजिलो होस भनेर यात्रु सहायता कक्ष स्थापना गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले बताए ।उनले भने, 'हामीले देशका अन्य ठाउँजस्तै बैतडीको झुलाघाटमा पनि हेल्प डेस्क स्थापना गरेका छौं । यसले नागरिकलाई सजिलो भएको छ ।'
यात्रु सहायता कक्षका कारण सजिलो भएको घर फर्किने नागरिकले महसुस गरेका छन् । अन्य समयको भन्दा यात्रु सहायता कक्षले नागरिकलाई सजिलो भएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेश शाहले बताए ।
रेटलिस्टसहित गाडी चलाउन चालकलाई आग्रह गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले बताए । उनले सबै सवारीमा भाडादरको सूची राख्न आग्रह गरिएको र भाडादर भन्दा बढी रकम लिएको पाइएमा कारबाही गरिने बताए।
प्रतिक्रिया दिनुहोस !