बजार अनुगमनमा म्याद नाघेका वस्तु नष्ट
बैतडी : बैतडीका विभिन्न स्थानबाट बरामद गरिएका ८० हजार बराबरका म्याद नाघेका सामग्री नष्ट गरिएको छ। बजार अनुगमनका सिलसिलामा बरामद गरिएका म्याद सकिएका सामग्री नष्ट गरिएका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।
चाडपर्वका बेला कालोबजारी रोक्न, म्याद नाघेका सामग्री विक्री वितरणमा रोक लगाउन र उपभोक्ता अधिकारका बारेमा सचेतना फैलाउन बजार अनुगमन गरिएको उनले बताए।
जिल्लाका खोड्पे, पाटन र सदरमुकामस्थित गढी र गोठलापानी बजारमा अनुगमन गरिएको हो। 'बजार अनुगमनका सिलसिलमा खाद्यको वस्तुको उत्पादन मिति र उपभोग मितिका विषयमा व्यापारी र उपभोक्ताहरूले ध्यान नदिने गरेको पाइएको छ', उनले भने।
अनुगमनका क्रममा चाउचाउ, चिउरा, बिस्कुट, तेल, पिठो लगायतका म्याद नाघेका सामग्री बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताए। उनले भने ‘सदरमुकाम क्षेत्रकै बजारमा पनि म्याद नाघेका सामग्री बेच्ने गरेको पाइएको छ। यस्ता कुरा नियन्त्रण गर्न हामीले बजार अनुगमन गरेका हौं। उपभोक्ता आफैंले पनि यो बिषयमा सचेत हुनु आवश्यक छ।’
बुधबार गढीदेखि गोठलापानी सम्मको बजार अनुगमन गर्दा एकैदिन ३० हजार बराबरको म्याद नाघेका वस्तुहरू बरामद गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ३४ किराना पसल, २२ होटेल र ३ औषधि पसलमा अनुगमन गर्दा धेरै जसोमा मूल्य सूची नराखेको पाइएकाले मूल्य सूची राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस !