झुलाघाट नाका तीन दिन बन्द हुने
बैतडी : नेपाल–भारत सीमानामा पर्ने बैतडीको झुलाघाट नाका बिहीबारदेखि ३ दिनका लागि बन्द हुने भएको छ। भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ (असोज १८ गते) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुने भएकाले सीमा नाका बन्द हुन लागेको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।
निर्वाचन सुरक्षा संवेदनशीलता कारण सीमा नाका बन्द गर्ने विषयमा दुवै देशका अधिकारीबीच छलफल भएको उनले जानकारी दिए। बिहीबार साँझ सवा ५ बजेदेखि असोज १८ गते साँझ सवा ५ बजेसम्म तीन दिन अन्तर्राष्ट्रिय सीमा (पुल) बन्द हुने प्रमुख अधिकारी पौडेलले बताए। उनले भने, ‘भारतीय पक्षको आग्रह अनुसार सीमा नाका तीन दिन बन्द हुनेछ। निर्वाचनको बेला अवाञ्छित क्रियाकलाप नहोऊन् भनेर नाका बन्द गरिएको हो।’
यस्तै अक्टोवर १६ (असोज २९ गते) मा भारतको धार्चुला जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी दार्चुलाको सीमानाका पनि बन्द हुने भएको छ। उक्त नाका असोज २७ गते साँझ सवा ५ बजेदेखि असोज २९ गते साँझ सवा ५ बजेसम्म बन्द हुने जनाइएको छ।
दसैंकी बेला सीमानाका बन्द भएपछि भारतबाट घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ। दशैंको लागि घर फर्कनेको सीमा नाकामा घुँइचो लागेको छ। बिरामी तथा अन्य आकस्मिक कामका लागि नाका खोल्नुपरेमा आपसी सहमतिमा खोलिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस !