अव्यवस्थित बजारले वीरगन्ज कुरुप बन्दै
वीरगन्ज : वीरगन्ज महानगरपालिकाले डोजर लगाएर खाली गराएको घण्टाघर चोक छेउको बीपी उद्यानको जग्गामा व्यापारी र पसलेले फेरि कब्जा गरी टहरा बनाएर पसल थापेका छन्। बीपीउद्यान पार्क निर्माणका लागि भन्दै २०७३ फागुन ८ मा तत्कालीन उपमहानगरपालिकाले डोजर लगाएर त्यहाँ रहेका पसलका टहरा, झुप्रोलगायतका संरचना हटाएको थियो ।
तर अहिले फेरि व्यापारीले बीपी उद्यानको झण्डै १० बिघा जग्गामा सयौंको संख्यामा टहरा बनाएर तरकारी, खाजा नास्ता र घरेलु मदीराका पसल थापेका हुन् । थोक तरकारी मण्डीका दर्जनौ पसल र होटलबाट दिनहु निस्कने फोहोरमैलाको व्यवस्थापन नहुँदा फोहोरजन्य वस्तु कुहिएर महिनौ दिनसम्म रहने गरेको छ ।कुहिएका फोहोरबाट निस्कने दुर्गन्धले बजार छेउ भएर हिँड्ने यात्रुहरुलाई नाक थुनेर हिँड्नुपर्ने अवस्था छ।
सहरकै केन्द्रमा रहेको उद्यानमा अनाधिकृत रुपमा लगाइएको अव्यवस्थित एंव दुर्गन्धित थोक तरकारी बजार, जथाभवी बनाइएका झुप्रा र टहरा तथा दुर्गन्धले वीरगन्ज महनगरकै सौन्दर्य कुरुप बनाएको छ ।
अढाइ लाखसम्म असुल्छन् कर्मचारी
बीपीउद्यानको जग्गामा बनाइएका पसलका टहराहरु हटाउन महानगरपालिकाको कार्यालयले पटक पटक सूचना जारी गर्दै आएको छ । तर व्यापारी र पसलेरले भने जग्गा खाली गर्न अटेर गर्दै आएका छन्। 
महानगरपालिकाकै केही कर्मचारीले पसले र व्यपारीसँग अनाधिकृतरुपमा रकम असुल्दै आएकाले उद्यानको जग्गा खाली हुन नसकेको हो । कर्मचारीले उद्यानको जग्गामा टहरामा रहेका तरकारीका थोक व्यापारी र होटलवाला पसलेसँग महिनाको ५ हजार तथा भुँइमा पसल थापेका र ठेलावाला पसलेसँग दैनिक २५ रुपैयाँ असुल्दै आएका छन्।
नेपाल तरकारी तथा फलफूल खुद्रा व्यवसायी संघ वीरगन्जका अध्यक्ष जगु साह तुराहाका अनुसार बीपी उद्यानमा अहिले थोक तरकारीका पसल २५ वटा , खुद्रा तरकारीका पसल करिब एक सय वटा र खाजा नास्ताका पसल करिब एक दर्जन छन् ।
ती सबै पसलबाट महिनाको करिब २ देखि अढाइ लाख रुपैयाँ अनाधिकृत रुपमा कर्मचारीले उठाउने गरेको पसलेहरु बताउँछन् । यसबाहेक तरकारी मण्डीका थोक बिक्रेताले कर्मचारीलाई १०÷१५ हजार रुपैयाँ चाडपर्ब खर्च भनेर पनि दिनुपर्ने बाध्यता रहेको व्यापारी गुनासो गर्छन् ।
पसलेका अनुसार, टहरा र पसलबाट दैनिक रकम उठाउन वीरगन्जको छपकैयाका शीव नाम गरेका एक व्याक्तिले ५÷६ जनालाइ खटाउने गरेका छन् । बजारबाट उठेको रकम शीवले महानगरपालिकाको सरसफाइ शाखाका दुईजना कर्मचारी , केही अधिकृत र नगर प्रहरीका प्रमुखलाई भागबण्डा लगाएर दिने गरेको पसले बताउँछन्।
ठेलामा खाजा नास्ताको पसल थापेका एक पसलेले भने , ' दिनको २५ रुपैयाँ दिन्छौं , तर त्यसको रसिद पाइँदैन, पैसा उठाउनेले कापीमा लेखेर जान्छ। ' तीन महिना यतादेखि आफूले ठेलामा पसल थापेको भन्दै उनले ठेला राखे बापत दैनिक २५ रुपैयाँ दिँदै आएको बताए ।
महानगरपालिकाका कर्मचारीले गाउँबाट तरकारी लिएर बेच्न आउने किसानसँग पनि दैनिक २५ रुपैयाँ उठाउने गरेको खुद्रा तरकारी पसले सुरुजपति देवीले बताइन् । '५-६ जना छन्, उनीहरुले पसल पसलबाट रकम उठाउँछन्, उनले भनिन्, 'तर रसिद दिँदैनन् ,डायरीमा लेखेर जान्छन्। '
उद्यानको जग्गा खाली गर्न महानगरपालिकाले पटकपटक सूचना निकाल्दै आएको भएपनि केहि कर्मचारीले व्यापारी र पसलेलाई संरक्षण दिँदै आएका कारण खाली हुन नसकेको महानगरपालिका एक अधिकृतले नाम गोप्य राख्ने शर्तमा बताए ।
त्यो बजारबाट महिनाको २ लाखभन्दा बढी रकम उठ्दै आएको छ, उनले भने, 'त्यहि रकमका कारण महानगरले सूचना निकाले पनि सरसफाइ शाखाका कर्मचारी र नगर प्रहरीले उक्त सूचना कार्यान्वयन गर्न आलटाल गर्दै आएका छन्।'
उनले थपे,'मेयर साबले मेरै अगाडि उद्यानको जग्ग खाली गराउन कर्मचारीलाई पटकपटक निर्देशन दिनुभएको छ तर सम्बन्धित फाँटका कर्मचारीले आलटाल गर्दै टार्दै आएका छन्।'
बीपि उद्यानमा अनाधिकृत रुपमा बनाइएका टहरा र थापिएका पसल हटाउन पछिल्लो पटक जारी गरिएको सूचनाको म्याद असोज १४ मै सकिएको भन्दै महानगरपालिकाको सरसफाइ शाखाका प्रमुख राजकृष्ण ताम्रकारले भने, 'अब नगर प्रमुखसँग सल्लाह लिएर जग्गा खाली गराउँछौ। '
पसलेहरुबाट कर्मचारीले अनाधिकृत रुपमा रकम नअसुलेको दाबी गर्दै ताम्रकारले भने, 'महानगरको सरसफाइको ठेक्का लिएको ठेकेदारले बजारको सरसफाइका लागि पसलेबाट रकम उठाउने गरेका हुन्।'
छठ पछि जग्गा खाली गराउँछौं - मेयर सरावगी
नगर प्रमुख विजय सरावगीले उक्त जग्गामा एक सय २५ करोड रुपैयाँको लागतमा सुविधा सम्पन्न अन्र्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्रसहितको पार्क बनाउने गुरुयोजना रहेको बताए । पार्कको डिपीआर पनि तयार भइसकेको भन्दै सरावगीले अहिले चाडबाडका बेला भएकाले छठ पर्वलगत्तै त्यहाँको बजार र पसल हटाइने जानकारी दिए ।
उनले भने,'जग्गा खाली गराउन पटकपटक सूचना निकाल्दै आएका छौं, तर केही कर्मचारीको बदमासीका कारण पनि जग्गा खाली हुन नसकेको हो, तर अब छठलगत्तै महानगरपालिकाले जग्गा जसरी पनि खाली गराउँछ।' 
अहिले उद्यानको जग्गामा रहेको तरकारीको थोकमण्डीलाइ वीरगन्जको छपकैयामा सार्ने योजना रहेको भन्दै उनले त्यसका लागि पनि काम भइरहेको बताए । नेपाल तरकारी तथा फलफुल खुद्रा व्यवसायी संघका अध्यक्ष तुराहाले भने महानगरले उचित विकल्प नदिएकाले नै बजार सार्न व्यपारीले नमानेको बताए । महानगरपालिकाले विकल्प दिएको जग्गा उपलब्ध गराइ भौतिक संरचना बनाइ दिएको खण्डमा थोक तरकारी बजार सार्न व्यपारी तयार रहेको तुराहाले बताए ।
प्रतिक्रिया दिनुहोस !