नेपालीले झैँ दशैँ मनाउने पर्यटक

नेपालीले झैँ दशैँ मनाउने पर्यटक

विदेशी पर्यटकलाई नेपालका हिमाल र पहाडले मात्र तान्दैन, दशैँतिहार, इन्द्रजात्रालगायत पर्वले पनि उनीहरूलाई लोभ्याउने गरेको छ। विदेशीलाई दशैँको माहौल विशेष लाग्ने गर्छ। जमरा, टीका र चंगा चेटमा उनीहरू रमाउने गरेका छन्।

म्याथ्यू ह्वाइटम्यान अमेरिकी नागरिक हुन्। ४३ वर्षीय उनी सात वर्षअघि तेस्रो पटक पर्यटकका रूपमा नेपाल छिरेका थिए। उनले लमजुङकी पूजा शर्मासँग बिहे गरे। ‘नेपाल आत्मीय लाग्यो,’ उनी भन्छन्, ‘त्यसैले यही बस्ने सोच बनाएँ।’ लामो नेपाल बसाइले आफू यसै समाजको एक हिस्सा भएको उनलाई लाग्छ। भन्छन्, ‘यहाँको धेरै कुरा सुन्दर लाग्छ। दशैँतिहारको माहौल झनै विशेष लाग्छ।’ सुरु–सुरुमा दशैँतिहार मनाउँदा कस्तो–कस्तो लाग्थ्यो उनलाई। ‘रातो टीका, जमरा, पिङ अनौठा लाग्थे,’ उनी भन्छन्, ‘अहिले यी सबै कुरासँग घुलमिल भइसकेँ।’

ससुरालीमा दशैँ मनाउँछन्, उनी। ‘त्यहाँ जसरी दशैँ मनाइन्छ, त्यसै गरी मनाउने गरेको छु,’ उनी भन्छन्, ‘गत वर्ष अमेरिकाबाट मेरो परिवारका अरू सदस्य पनि दशैँ मनाउन नेपाल आएका थिए। खानपिन, पिङ खेलेर रमाइलो गरी दशैँ मनाएका थियौँ।’ 

जर्मनी नागरिक डेनियल अन्नपूर्ण क्षेत्र भ्रमणका लागि नेपाल आएका छन्, दशैँको मुखमा। ‘सन् २०१७ मा मुस्ताङ भ्रमणका लागि काठमाडौँ आएकोे थिएँ,’ उनी सुनाउँछन्, ‘संयोगवश त्यसबेला दशैँ परेको थियो।’ मीठो खानेकुरा, आत्मीय पारिवारिक माहोलले आफूलाई लोभ्याएको उनी बताउँछन्। ‘टीका र जमरा लगाउने चलन असाध्यै मन पर्छ,’ उनी भन्छन्, ‘म पनि लगाउँछु।’ 

फ्रान्सेली नागरिक गे मुभ पियरो फुर्सदमा नेपाल घुम्न आइरहन्छन्। दुई वर्षअघि उनले नेपालीहरूसँग फ्रान्समै दशैँ मनाएका थिए। ‘दिउँसो कामबाट फुर्सद मिलेपछि राति टीका, जमरा थाप्ने, खानपिन गर्ने, म्युजिक बजाएर रमाइलो गरेका थियौँ,’ उनी भन्छन्, ‘नेपाली र युरोपियन शैली मिक्स गरेर दशैँ मनाउँदा झन् रमाइलो भएको थियो।’ यसपालि दशैं नेपालमै मनाउन पाउँदा उनी औधी खुशी छन्।

इजरायली नागरिक ओरी फ्रान्सिस्को पहिलो पटक नेपाल भ्रमणमा आएका छन्। उनले दशैँबारे सुनेका छन्। ‘मलाई लाग्थ्यो, नेपाल अग्ला पहाड र हिमालका लागि लोकप्रिय छ तर त्यति मात्र रहेनछ,’ उनी भन्छन्, ‘विभिन्न पर्वको थलो पनि रहेछ नेपाल। दशैँबारे सुन्दा रोचक लाग्यो।’ उनले नेपाली ट्रेकिङ गाइडसँगै एभरेस्ट बेस क्याम्पमा दशैँ मनाउने योजना बनाएका छन्। ‘यो मेरो पहिलो र नयाँ अनुभव हुनेछ,’ उनी भन्छन्।

स्कटल्यान्डकी लेज्ली आर्किटेक्ट इन्जिनियर हुन्। उनी पनि घुम्न नेपाल आएकी हुन्। तेस्रो पटक नेपाल भ्रमणमा रहेकी उनले प्रायः चाडपर्वको अवसर पारेर भ्रमण तालिका बनाउने गरेकी छिन्। ‘विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु,’ उनी भन्छिन्। यसअघि शिवरात्रि, होली, इन्द्रजात्रा र दशैँमा नेपाल आएकी थिइन्, उनी। ‘दशैँमा चंगा उडाउने, पिङ खेल्ने चलन मलाई असाध्यै मन पर्छ,’ उनी भन्छिन्, ‘यसपालि त म टीका पनि लगाउँछु।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.