जिउँदो देवीको हार
अरुले राष्ट्रिय चाड दसैं मनाइरहेको बेला एक्ली गंगामाया भने दिव्य नौ वर्षदेखि न्याय कुरेर वीर अस्पतालको कुनामा अनशन बसेकी छन्। उनका अनुसार माओवादीले हत्या गरेको छोराको निशाफ मागेर बसेका अधिकारी दम्पतीमध्ये नन्दप्रसादलाई जानाजान मारियो। उनको मृत शरीर अझै टिचिङ हस्पिटलको शवभण्डारमा छ। उनका लागि दसैंका मंगल धुन मृत्यु धुन भएका छन् भने माल श्री पनि प्रकारान्तरले काल श्री भएको छ। अज्ञात देवी र भगवतीका भक्तिमा डुबेको मुलुक जिउँदा देवीको शक्तिको उपासना गर्नबाट चुकिरहेको छ। अनि यो विजयादशमीमा पनि गंगामायाले असुरमाथि विजय पाउन सकिनन्।
२०६४ जेठ २४ गते १७ वर्षको कान्छो छोरा कृष्णप्रसादलाई मारेर छिमेकी रामप्रसाद अधिकारीले ‘तपाईंको छोरा दुर्घटनामा परेछ आठ–दस हजार बोकेर भरतपुर अस्पताल जानुपर्यो भनेर बुवालाई घरबाट सँगै लगेका थिए। अस्पताल पुग्दा ‘ए भाइ त मरिसकेछ भन्दै सतगत गर्न जाऔं’ भन्दै नारायणीको किनारमा लगेछन्। नन्दप्रसाद अचेत भइसकेका थिए। छोराको लास चितामा राख्दा पो टाउकोबाट रगत बगिरहेको रहेछ। हातखुट्टा लत्रेको देखेपछि मात्र मारेको थाहा पाए।
शोकाकूल नन्दप्रसाद काठकर्मीका रूपमा घर बनाउने काममै फर्कन खोज्दै थिए। तर छविलालको जत्थाले पानीसमेतको नाला काटिदिए। कतिसम्म भने पसलमा गएर फोन गर्नसमेत प्रतिबन्ध लगाए। पटकपटक छविलाल पौडेल, भीमसेनदास परशुराम पोखरेल, जानुका पौडेल आदि साँझबिहान आएर ‘तेरो छोरो सेनामा रहेछ। त्यही भएर हामीले मारेका हौं’ भन्दै थर्काउन थाले। गंगामाया पनि प्रमाणित गर्न चुनौती दिँदै थिइन्। अन्ततः नवौं आक्रमण थेग्न नसकेपछि पाकेको भात छाडेर हिँड्नुको विकल्प भएन। उनीहरूले नन्दप्रसादको पाँच तोलाको बेरुवा औंठी र नाडी घडी पनि बाँकी राखेनन्।
गंगामायाका अनुसार बाउआमा र जेठा छोरा सबैजसो प्रधानमन्त्रीकहाँ अपमानित हुँदै न्यायको भिक्षा मागे। गिरिजाप्रसादले चुनाउभरि जसोतसो गुजारा गर, त्यसपछि आउने सरकारले मात्र कारबाही गर्ने उधारो आश्वासन दिएर पठाए। प्रचण्डले प्रधानमन्त्री हुँदा भेटै दिएनन्। बाबुरामले ०६९ सालमा जेठो छोरा नुरप्रसाद र नन्दप्रसादलाई हत्कडी लगाएर गोर्खा धपाए। झलनाथ खनाल झन् कठोर भएर प्रस्तुत भए। माधव नेपाल भने कामले केही नगरे पनि कमसेकम मधुरो व्यवहारमा प्रकट भए। बरु मेरो मुद्दामा खिलराज रेग्मी सकारात्मक भए। अनि सुशील कोइरालाले त न्यायको ढोका उघारिदिए। मानव अधिकारकर्मी कनकमणि दीक्षित, सुदिप पाठक, सुबोध प्याकुरेलहरूले सुरुका दिनमा सघाए पनि अहिले टाढिएको र चरण प्रसाई, बाबुराम गिरी, देवी सुनुवार र बद्री भुसाल आदिको सहयोग र सल्लाह भने रहिरह्यो।
कतैबाट सुनुवाइ नभएपछि आमरण अनशन बसे अधिकारी दम्पती। केही महिना नबित्दै पति नन्दप्रसादलाई राज्यले मारिदिएको गंगामायाको ठम्याइ छ। उनको लास परिवारलाई जिम्मा लगाएर पानीमाथिको ओभानो हुने सरकारी दाउलाई आमाछोराले सफल हुन दिएनन्। त्यसैकारणले नन्दप्रसादको लास टिचिङ हस्पिटलको शवगृहमा सुरक्षित छ। पतिको लास हेर्न कतिपटक जानुभयो भन्ने जिज्ञासामा उनी भन्छिन्, ‘लास हेर्न त अहिलेसम्म गएकी छैन। तर मेरो पतिको एक टुक्रा हाड पनि तलमाथि हुन दिन्न।’
गंगामायाको अनवरत प्रयासपछि बल्लतल्ल प्रधानन्यायाधीश सुशीला कार्कीले किटान जाहेरी परेका झगडिया हाजिर हुन आदेश त दिइन्। तर आरोपीहरू फरार भए। उनले फेरि अनशन बसेको ४५ दिनपछि सरकारले ग्रान्डडिजाइन रच्यो। मुख्य आरोपी छविलालले आत्मसमर्पण गरे। उनलाई चारखाल, डिल्लीबजार खोरमा चितवनबाट अड्डासार गरेर ल्याइयो।
छविलालले पोलेपछि अरू आरोपीमाथि पनि कारबाही चलाउने भनियो। त्यसअनुसार सरकारका मन्त्रीले पाँचबुँदे प्रतिबद्धता व्यक्त गरे। सोअनुसार गंगामायाको उपचार, पुनस्र्थापना र पारिवारिक पुनर्मिलन गराउने प्रतिबद्धता गरियो। तत्कालै गंगामायाका नाममा एक करोडको कृषि बैंकमा अक्षयकोषको खाता खोलेको खुलासा सामाजिक सञ्जालमार्फत गरियो। तर त्यो कुरा पूर्णतः झूटो रहेछ। राहतको बदलामा चितवनका न्यायाधीश कुलप्रसादको इजलासले पक्राउ परेकालाई पनि छुटाएपछि फेरि न्यायको दियो निभ्यो। न्यायालयबाट पनि न्यायको बदलामा प्रताडना थपियो। उनी अनशनलाई निरन्तरता दिँदै संयुक्त राष्ट्रसंघको मानव अधिकार आयोग जेनेभामा गुहार माग्ने धोको पालिरहेकी छन्। उनको धोको पूरा होस्।
प्रतिक्रिया दिनुहोस !