'अब नेपाल भूपरिवेष्ठित रहन्न'

'अब नेपाल भूपरिवेष्ठित रहन्न'

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई अब भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउन मद्दत गर्ने प्रतिबद्धता उद्घोष गरेका छन्। चिनियाँ राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार आयोजना गरेको रात्रिभोजमा उनले यसका लागि दीर्घकालीन र तत्कालका योजनाहरू अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। होटेल सोल्टीमा भएको रात्रिभोजमा राष्ट्रपति भण्डारीको स्वागत मन्तव्यपछि सीले ‘नमस्ते’ भन्दै सम्बोधन गरेका थिए।

‘मैले चिनियाँ भाषामा लेखेको ‘नमस्ते’ राम्रोसँग भन्न जानिनँ होला, सुनिएन होला,’ उनले भने, ‘नेपाल र चीनबीच कुनै समस्या नरहेको र मित्रता मात्र रहेको छ।’ राष्ट्रपति सीले चीनको सहयोगमा केरुङ–काठमाडौं सुरुङ मार्ग र रेल मार्गसम्बन्धी परियोजना अघि बढ्ने संकेत गर्दै आइतबार प्रधानमन्त्री केपी ओलीसँग हुने दुईपक्षीय छलफलमा यसबारेमा थप स्पष्टता आउने पनि बताए।

हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल विस्तार पनि अर्को पाटोको रूपमा हामीले व्याख्या गर्न सक्छौं भन्दै यसबाट दुवै मुलुक लाभान्वित हुने उनको धारणा थियो। नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६५ वर्षसम्म कुनै समस्या नभएको बताउँदै उनले भने, ‘शरद ऋतुमा नेपालमा सयौं फूल फुलेका छन्। यही मौसममा म पहिलोपटक काठमाडौंमा छु। यहाँ राजनीतिक स्थायित्व छ। पुराना र नयाँ मित्रहरू भेट्दै छु। म हर्षित छु र आशा जागेको छ।’

उनले सुविधाजनक र रणनीतिक सहकार्य, रेलमार्ग, अरनिको राजमार्गको विकास, सुरुङदेखि सडकमार्ग हुँदै काठमाडौं जोड्ने योजनालगायतले आफू खुशी भएको पनि बताए।

उनले हिमालय वारिपारि रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कार्य अघि बढाउने पनि बताए। अधिकतम नाका र पुराना सडकको स्तरोन्नतिमा जोड दिने पनि उनले बताए।

यसले दुई मुलुकका जनताबीचको सहकार्य बढ्ने पनि बताए। नेपाली नेताहरू सहकार्य गरेर यहाँसम्म आइपुगेको सुनाउँदै दुई मुलुक मिलेर सम्बन्धको नयाँ खाका कोर्ने काम भएको पनि उनले बताए।

‘दुवै मुुलुकका नेताहरू मिलेर बनाएको योजना पूरा गरौं। चीनमा पनि हामीले यस्तै गर्दै आएका छौं,’ उनले भने।

उनले राष्ट्रपति भण्डारी र आफूबीच चुनौती र कठिनाइको सामना गर्ने र विकास तथा समृद्धितिर जान सहकार्य गर्ने सहमति भएको समेत जानकारी दिए।

सीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न अधिकतम सहयोग गर्ने र चिनियाँ पर्यटकलाई नेपाल भ्रमणमा निस्कन उत्प्रेरित गर्ने बताए। साथै जलवायुबारे नेपालको चासोको समर्थन गर्ने र हिमालय क्षेत्रको रक्षामा सहयोग गर्ने धारणा पनि सीको थियो।

रात्रिभोजमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनताले केरुङ–काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग पुगेको हेर्न चाहेको बताइन्।

नेपाली जनताको यो चाहना छिट्टै पूरा हुने आशा समेत उनले व्यक्त गरिन्। उनले नेपालमा चिनियाँ लगानी बढाउन आग्रह गर्दै लगानीको सुरक्षाको लागि सरकार प्रतिबद्ध रहेको धारणा पनि बताइन्।

राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूभाग कुनै पनि छिमेकी मुलुकविरुद्ध उपयोग हुन नदिने स्पष्ट पारिन। गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्र बनाउन चीनको सहयोग आवश्यक रहेको बताउँदै भण्डारीले भनिन्, ‘नेपाल–चीन सम्बन्ध सागरझैं गहिरो र सगरमाथा जस्तै उच्च छ।’

पञ्चशीलमा आधारित दुई देशको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावना रहेको बताउँदै उनले बताइन्। ‘पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध घनिष्ठ, मजबुत तथा समस्यारहित छ,’ उनले भनिन्।

रात्रिभोजमा प्रधानमन्त्री, मन्त्री, पूर्व प्रधानमन्त्रीहरू, प्रमुख प्रतिपक्ष दलका नेता, संवैधानिक निकायका प्रमुख, उद्यमी तथा सरकार उच्च अधिकारी उपस्थित थिए।

यसअघि चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीसँग राष्ट्रपतिभवन शीतलनिवासमा भेटवार्ता गरेका थिए। त्यहाँ पनि उनीहरूले आआफ्ना धारणा राखेका थिए।

यो भेट वार्तामा भने उपप्रधान तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री, अन्य मन्त्री तथा सचिवको उपस्थिति थियो।

चीनका तर्फबाट सीसँग विदेशमन्त्री र अन्य उच्च नेतृŒवको सहभागी थियो। त्यहाँ पनि सीले नेपाल र चीनबीच आपसी सम्मान र विश्वास उचाइमा लग्दै सहकार्य अघि बढाउन चीनले चाहेको धारण व्यक्त गरेका थिए। उनले राष्ट्रपति भण्डारीसँगको दुईपक्षीय भेटवार्तामा ‘हिमाल झैँ अटल रहेको हाम्रो सम्बन्धको बलियो स्तम्भ पनि हिमाल नै रहेको’ बताउँदै नेपालको विकास कार्यमा चीन सहयोगी बन्ने धारणा व्यक्त गरेका थिए।

शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तका आधारमा दुवै मुलुक सफलतापूर्वक अघि बढेको भन्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

राष्ट्रपति सीले सुन्दर मुलुक नेपालमा दिइएको न्यानो आतिथ्य र सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै नेपालको राजनीतिक स्थायित्व र विकास चीनको चाहना रहेको बताए। उनले सहकार्यमा नै विकास अघि बढ्ने भन्दै यसमा नेपालको प्राथमिकतामा अडेर सहयोग र लगानी गर्न चीन तयार रहेको धारणा भण्डारीसँग व्यक्त गरेका थिए।

राष्ट्रपति सीले सबैको आआफ्नै प्रकारको चासो र प्राथमिकता हुने भन्दै दुवै मुलुकले एकअर्काको विषयलाई दृढताका साथ समर्थन गरिरहेको पनि बताए।

भारतमा २३ घण्टा बिताएर काठमाडौं ओर्लेका सी होटेल पुगेर केही बेर आराम गरेलगत्तै समकक्षीसँग भेटवार्ताका लागि राष्ट्रपतिभवन पुगेका थिए। उनले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता, अखण्डताको रक्षा गर्न र मुलुकको अवस्था अनुरूपमा विकास मार्ग अपनाउन नेपाललाई चीनले सधैँ साथ दिने र सहयोगी हात अघि बढाउने बताएको राष्ट्रपति कार्यालयमा वार्तामा रहेका नेपाली अधिकारीले उल्लेख गरेका छन्।

नेपाल एक चीन नीतिमा देखाएको प्रतिबद्धताप्रति चिनियाँ राष्ट्रपतिले सह्राना गर्दै नेपालको उक्त दृढताको सम्मान चीनले सधैँ गर्ने बताए।

चीनले अघि बढाएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका परियोजना अघि बढ्दै गर्दा लगानी बढ्ने उनको धारणा थियो। चीनबाट दैनिक औसत आठ उडान हुने गरेको विषयमा राष्ट्रपतिको ध्यानाकर्षण गर्दै उनले सहकार्यको माध्यम अनेक रहेको बताए।

नेपाल–चीन सम्बन्ध सुख र दुःख दुवैमा रहेको पनि उनले उल्लेख गरे। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि चीनले नेपाललाई गर्न सक्ने सबै प्रकारका सहयोग गर्ने बताउँदे उनले भने, ‘चिनियाँ र नेपाली जनताको सपना र भाग्य सँगै जोडिकाले आपसी सहयोगलाई सुदृढ पार्दै उज्ज्वल भविष्यका लागि संयुक्त प्रयासमा चीनले खुलेर साथ दिनेछ।’

त्यसका लागि उनले रणनीतिक सञ्चार, व्यावहारिक सहयोग विस्तार, जनस्तरीय आदानप्रदानको व्यापकता र सुरक्षासम्बन्धी सहकार्यमा जोड दिए। चीनले राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता, देशको अखण्डताको रक्षा गर्न र देशको अवस्थाअनुरूपमा विकास मार्ग अपनाउन नेपाललाई दृढतापूर्वक समर्थन गरेको पनि बताए।

नेपाललाई साढे तीन अर्ब आरएमबी दिने

राष्ट्रपति सीले विश्वविद्यालयका क्षेत्रमा पनि सहयोग गर्न तथा सुविधा विस्तारका लागि र नेपालीको जीवनस्तर उकास्न भन्दै सन् २०२० देखि २०२२ सम्मका लागि साढे तीन अर्ब आरएमबी सहयोग उपलब्ध गराउने बताएका छन्। सहयोगसम्बन्धी सहमति आइतबार विहान हुनेछ। वर्तमान सरकारले गरेको विकासका लागि शुभकामना दिँदै सम्बन्ध थप बलियो बनाएर अघि बढ्न सीले जोड दिएका छन्। उनले गरिबी निवारणका क्षेत्रमा चिनियाँ अनुभव उपयोगी हुने बताएका थिए।

हिमालपार रेलमार्ग निर्माण गर्न कठिन भए पनि यसको निर्माणका लागि काम गरिने आश्वासन राष्ट्रपतिलाई दिएका थिए। चीनले रेल निर्माणका क्षेत्रमा विश्वमै अग्रणी भूमिका खेलेको पनि बताएका थिए। चीनले नेपालको व्यापार असन्तुलनको विषयलाई पनि अध्ययन गरिरहेको जानकारी दिएका थिए।

सीले चिनियाँ राष्ट्रपतिले आगन्तुक पुस्तिकामा हस्ताक्षर समेत गरेका थिए।

सीको टोलीमा को–को छन् ?

राष्ट्रपति सीको भ्रमण टोलीमा चिनियाँ कम्युनिस्ट पार्टीका चार नेता सहभागी छन्। उपप्रधानमन्त्री सरह हैसियत भएका ती नेताहरू नेपालसँग परिचित छन्। चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय महानिर्देशक समेत रहेका डिंग सुईसियाङ, सीपीसी महासचिव एवं पूर्व विदेशमन्त्री तथा स्टेट काउन्सिलर रहेका याङ जेइछी, विदेशमन्त्री वाङ यी, राष्ट्रिय विकास र सुधार आयोगसम्बन्धी क्षेत्र हेर्ने मन्त्री ही लिफेंग र टोलीमा सीपीसी विदेश विभाग प्रमुख सोङ थाओ सहभागी छन्।

यीमध्ये वाङ र सोङ राष्ट्रपति सीको भ्रमण तय गर्न काठमाडौं आएका थिए। जेइछी नेपाल भ्रमण गरिसकेका विदेशमन्त्री हुन्। अन्य नेता पनि नेपालबारे जानकार छन्। नेपाल डेक्स हेर्ने कर्मचारी, सीपीसी भित्र रहेर यस क्षेत्र हेर्ने नेता तथा उच्च अधिकारीहरू गरी १०५ जनाको टोलीसहित सी नेपाल आएका हुन्।

दुई पक्षीय सम्झौतालाई अन्तिम रूप दिने एक टोली विहीबार साँझ काठमाडौं आएर शुक्रबार दिनभर त्यसमा खटेको छ। चिनियाँ टोलीले अन्य नेतासँग पनि घेटघाट गरिरहेका छन्। राष्ट्रपतिले दिएको रात्रिभोजमा पनि उनीहरूले छलफल गरिरहेका छन्। नेताहरूले आइतबार बिहान अधिकतम भेटवार्ता गर्नेछन्।

सम्झौता र समझदारीमा हस्ताक्षर आइतबार

प्रधानमन्त्री ओलीसँग हुने दुईपक्षीय वार्तामा दर्जन बढी सम्झौता र सहमतिमा हस्ताक्षर हुनेछ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन र नेपालबीचको सम्बन्धलाई थप उचाइमा लैजान यो भ्रमण उपयोगी हुने बताए। नेपालले अधिक गृहकार्य गरेर नै यसको तयारी गरेको धारणा पनि उनको छ। उनका अनुसार वार्तामा विकास र पूर्वाधारको विषयमा सहमति हुनेछ। त्यसमा तत्काल र दीर्घकालको विषय दुवै परेको पनि बताए।

चिनियाँ राष्ट्रप्रमुखको भव्य स्वागत

लामो समयको अन्तरालपछि हिमालपारीको छिमेकबाट आएका राष्ट्रप्रमुख सीलाई नेपालले भव्य स्वागत गरेको छ। सीलाई राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको ढोकैमा पुगेर स्वागत गरिन्। सी शनिबार ४ः४५ मा निकै प्रफुल्ल मुद्रामा विमानस्थलमा ओर्लेका थिए।

चाइना एअरलाइन्सको विशेष विमानबाट आएका सीलाई स्वागत गर्न राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल विमानस्थलमा पुगेका थिए। राष्ट्रपति सीलाई नेपाली सेनाले गार्ड अफ अनर (२१ तोपको सलामी) दिएको थियो। सीको स्वागतमा विमानस्थलमा संवैधानिक अंगका प्रमुखहरू, मन्त्री, केही सांसद, सुरक्षानिकायका प्रमुख र उच्चअधिकारी सहभागी थिए।

सीको स्वागतलगत्तै त्यहाँ उपस्थित सबैसँग परिचय गराइएको थियो। परिचयलगत्तै राष्ट्रपति सीले प्रधानमन्त्री ओलीसँग विमानस्थलमा केही समय एक्लै भेट गरेका थिए। विमानस्थलबाट सिधै सोल्टी होटेल प्रस्थान गरेका सीलाई सडक किनारामा स्वागत गर्ने सर्वसाधारणको लामो लाम थियो।

सीलाई कुरिलो, क्वाँटी र इलामे चिया

चिनियाँ राष्ट्रपति सीको सम्मानमा दिएको रात्रिभोजमा नेपाली कुरिलो र क्वाँटी सुप खुवाइएको थियो। त्यसका साथै उनलाई मोमो, बारा र साँदेको भटमाससहितको सलाद पनि राखिएको थियो। साथै उनलाई चिनियाँ र युरोपेली खानाले स्वागत गरिएको थियो। दुई राष्ट्रपतिले टोस्ट गरेपछि खाना सर्भ भएको थियो। उनका लागि चिनियाँ खाना बनाउने सेफ भने चीनबाटै ल्याइएको थियो।

रात्रिभोजमा सुप, स्टाटार, मेन कोर्ष र डेजर्ट गरी चार तहमा खानाको परिकार राखिएको र अन्तमा इलामको चिया उपलब्ध गराइएको थियो। मेन कोर्षमा भने चिनियाँ र युरोपेली खाना रहेको थियो। चिनियाँ खाना सीको सेफले नै बनाइएको जानकारी दिइएको छ। रात्रिभोजमा भ्रमण दलका चिनियाँ उच्च अधिकारी, उपराष्ट्रपति, प्रधानमन्त्री, नेकपाका अध्यक्ष, प्रमुख प्रतिपक्ष कांग्रेस सभापति, पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका नेता, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुख, केही पत्रकार र केही व्यवसायी सहभागी थिए।

राष्ट्रपति विद्यादेवी भण्डारी नेपालीले केरुङ–काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग पुगेको हेर्न चाहेका छन्। सी हिमालय वारिपारि रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कार्य अघि बढ्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.