सोच र संस्कारमा उद्यमशीलता !

सोच र संस्कारमा उद्यमशीलता !

महिलालाई पनि पुरुषलाई झैं अवसर सिर्जना भएको एउटा त्यस्तो भविष्यको कल्पना गरौं- यो एउटा अमूल्य विचार यथार्थमा परिणत भएको खण्डमा यसले विश्वको अर्थतन्त्रलाई पुनः परिभाषित गर्नेछ। पूर्ण सम्भावना परिचालित हुँदा श्रम बजारमा महिलाले पुरुषकै सरह महत्वपूर्ण भूमिका निर्वाह गर्छन्; सन् २०२५ सम्म विश्वको कुल गार्हस्थ्य उत्पादनमा २६ प्रतिशत अर्थात् २८० खर्ब अमेरिकी डलर विस्तार हुनेछ। म्याकिन्जी ग्लोबल इन्स्टिच्युटले विद्यमान लैंगिक खाडल अन्त्य गर्दा अमेरिका र चिनियाँ अर्थतन्त्रको आकारभन्दा ठूलो आर्थिक विस्तारको लाभ प्राप्त हुने औंल्याएको छ। तर, एक्काईसौं शताब्दीमा पनि हामी महिलाको भूमिकाका विषयमा बहस गरेर बसेका छौं। उनीहरू राष्ट्रिय अर्थतन्त्रका लागि महत्वपूर्ण योगदानकर्ता हुन् या सम्पत्ति सृष्टिकर्ता ?

यद्यपि महिलाहरू अनुभवी र लगनशील छन्। तर पनि उनीहरूले व्यवसायमा लैंगिक चुनौतीहरू सामना गरिरहेका छन्। दक्षिण एसियामा महिला उद्यमीहरूले सामना गरिरहेको साझा चुनौती भनेको सांस्कृतिक र सामाजिक अवरोधहरू हुन्। सबैभन्दा ठूलो चुनौती मानसिकता हो। महिला उद्यमशीलता विकास र सशक्तीकरणमा काम गर्दाको मेरो दुई दशकको अनुभव यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु।

हामीकहाँ महिलालाई हेर्ने दृष्टिकोणमा कमजोरी देखिन्छ। महिलालाई विगतदेखि नै गरिबीसँग जोडेर, सहयोग÷संरक्षण चाहिने वर्गका रूपमा व्याख्या गरिँदै आएको छ। कुनै पनि अल्पविकसित देशमा महिला र पुरुष दुवै गरिब हुन्छन्। गरिबीकै कारण उनीहरू अवसर खोज्न बिदेसिने गरेको वास्तविकता नकार्न सकिन्न। अर्थतन्त्रको विकासमा महिलाले ठूलो भूमिका खेलेका छन्। महिलाले गर्ने घरायसी कामको त अर्थतन्त्रमा गणना नै हुँदैन। लघु, घरेलु र साना उद्योगका क्षेत्रमा हेर्ने हो भने अधिकांश महिलाले सञ्चालन गरेका छन्।

उनीहरूलाई पनि नयाँ प्रविधि र लगानीको अवसर दियो भने अर्थतन्त्रमा उनीहरूको भिजिबिलिटी हुन्छ। पुरुषहरू पनि प्रविधि र लगानीको अवसरकै कारण अघि बढेका हुन्। तर हाम्रो समाजमा महिलालाई हेर्ने सोच र दृष्टिकोणको विकास हुन सकेन। निजी क्षेत्र भन्नेबित्तिकै पुरुषलाई मात्र सम्झिइन्छ। यो वास्तवमा संकुचित सोचको उपज हो। महिला उद्यमको क्षेत्रमा मात्र होइन, महिला सांसदहरू पनि राजनीतिक वृत्तमा, कानुन निर्माणमा हाम्रो आवाज सुनिएन भनिरहनुभएको छ। हरेक क्षेत्रमा महिलालाई उपेक्षा गर्ने, महिला आवाजलाई संकुचित सोचले मूल्यांकन गर्ने गरिएको दुःखद अनुभूति हामीले गरेका छौं।

अहिले कुनै पनि व्यवसाय गर्न ५० लाखदेखि १ करोड पुँजी आवश्यक हुन्छ। तर हाम्रो सरकारले महिलालाई लघु व्यवसायको वर्गीकरणमा राखेर ५ लाख रुपैयाँसम्म कर्जाको व्यवस्था गरेको छ। हामीले धेरै आवाज उठाएर निरन्तर दबाब दिएका कारण बल्लतल्ल विनाधितो समूह जमानीमा १५ लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था भएको छ। महिलाले चलाएका व्यवसायमा तुलनात्मक रूपमा स्थायित्व छ, तिनीहरू सबल छन् भनेर अध्ययनहरूले देखाएका छन्। यति हुँदाहुँदै पनि महिलालाई सीमित दायरामा छेकेर राखिराख्ने हो भने महिलाले आफ्नो सीप, दक्षता र क्षमताको उपयोग गरेर व्यवसायमा महिला सहभागिता बढाउने भन्ने अहम् सवाल छ। हामीले बाह्य मुलुकबाट सिक्न जरुरी छ।

दक्षिण एसियाली महिला विकास मञ्चको हालैको सम्मेलनमा भारतबाट साना मझौला उद्यम मन्त्रालयको कमिसनर आउनुभएको थियो। उहाँले भारतमा महिला उद्यमशीलता विकासका लागि भारत सरकारले के गरिरहेको छ भनेर प्रस्तुतीकरण दिनुभएको थियो। भारतमा साना तथा मझौला उद्यम (एसएमईज्) मन्त्रालय नै छ। त्यसमा पनि महिला उद्यमशीलता विकासका लागि धेरै कार्यक्रम सञ्चालन भएका छन्। हामीकहाँ महिलाको विकास कल्याणकारी र सामाजिक काममा सीमित छ। हाम्रो उद्योग मन्त्रालयले एसएमइजभन्दा ठूला उद्योगहरूलाई मात्र ध्यान दिएको देखिन्छ। सरकारसँग एसएमईजलाई लक्ष्यित नीति र उनीहरूलाई कस्तो व्यवहार गर्ने भन्ने स्पष्ट सोचको अभाव देखिन्छ।

जबसम्म हामीले महिला उद्यमशीलतालाई अर्थतन्त्रकै हिस्साका रूपमा लिँदैनौं, तबसम्म जतिसुकै कल्याणकारी र सामाजिक काम गरेर महिलाको उत्थान÷विकास सम्भव छैन। एकातिर हामी समावेशिताका चर्का कुरा गरिरहेका छौं। तर व्यवहारमा कहाँ छ त समावेशिता ? समावेशितालाई पनि हामीले कल्याणकारी काम र आरक्षण मात्र सोचेका छौं भने त्यो सही अर्थमा समावेशिता होइन। महिलालाई सहयोग, संरक्षण र आरक्षण दिनुपर्छ। त्यो एउटा पाटो भयो। महिलाको उत्थान र समावेशिताका लागि काम गरेको दुई दशक बितिसक्दा पनि हामीले महिलालाई व्यवहार गर्ने संकुचित दृष्टिकोणमा ठूलो सुधार पाउन सकेका छैनौं। जबसम्म सरकारबाट ठूलो सोच र उदार व्यवहार गरिँदैन भने महिला विकास, समावेशिता नारामा सीमित हुनेछ।

पछिल्ला वर्षहरूमा, महिलाले सञ्चालन गरेका उद्यमहरू विस्तारै विश्वभरि वृद्धि भइरहेका छन्। यिनीहरूले घरयासी आयलाई मात्र होइन, राष्ट्रिय अर्थतन्त्रको विस्तारमा समेत मद्दत गरिरहेका छन्। नोभेम्बर १९ लाई महिला उद्यमशीलता दिवस घोषणा गरिएको छ। महिला सशक्तीकरणको यस आन्दोलनको हामी एउटा भाग हौं- एउटा स्पष्ट सन्देश के हो भने महिला उद्यमशीलताले सुन्दर भविष्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ। महिलाले अर्थतन्त्र र समाजको विकासका लागि कसरी भूमिका निर्वाह गर्न सक्छन् भन्ने सम्बन्धमा उनीहरूको उद्यमशील क्रियाकलापबारे बुझ्न आवश्यक छ। महिला उद्यमशीलता विकासलाई संस्थागत कारणले प्रभाव पार्छन्।

सार्कद्वारा मान्यता प्राप्त दक्षिण एसियाली महिला विकास मञ्चले महिला उद्यमशीलता प्रवद्र्धनका लागि अनुकूल नीतिगत व्यवस्थाका पक्षमा वकालत गर्दै आइरहेको छ। नवप्रवर्तनमा आधारित परियोजना, प्रविधि तथा सीप हस्तान्तरण र साझेदारीमार्फत क्षेत्रीय र राष्ट्रिय स्तरमा महिला उद्यमशीलता प्रवद्र्धनका क्षेत्रमा यस संस्थाले काम गर्दै आएको छ। हालै सम्पन्न ‘आर्थिक सशक्तीकरणको उपयोग’ विषयक दक्षिण एसियाली महिला विकास मञ्चको पाँचौं महिला उद्यमशीलता सम्मेलनमा विभिन्न क्षेत्रका २२ देशका निजी र सार्वजनिक क्षेत्र, लगानीकर्ता, विकास अभियन्ता, सामाजिक उद्यमी, युवा तथा स्टार्टअप्सका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। यसको उद्देश्य लैंगिक उत्तरदायी उद्यमशीलताको इकोसिस्टम (पारिस्थितिक पद्धति) निर्माणका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगलाई सशक्त बनाउनु थियो। यसले राष्ट्रको नीति तथा कार्यक्रम निर्माणमा लैंगिक मूल प्रवाहीकरणमार्फत दिगो विकास लक्ष्यको पाँचौं लक्ष्य प्राप्तिमा सहयोग पुग्नेछ।

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल पुरस्कार विजेता स्वर्गीय कोफी अन्नानले भनेका छन्, ‘विकासका लागि महिला सशक्तीकरणभन्दा प्रभावकारी अर्को कुनै पनि औजार छैन।’ अब सार्वजनिक, निजी र सामाजिक क्षेत्र मिलेर कार्य क्षेत्र र समाजमा लैंगिक विभेद अन्त्य गर्ने समय आइसकेको छ। हामी सबै मिलेर महिलाको आर्थिक क्षमता उजागर गर्नेतर्फ काम गरौं।

-प्रमिला दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष हुन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.