सवारी साधनबाट ठगिएका १ सय ३६ यात्रुको रकम फिर्ता
![सवारी साधनबाट ठगिएका १ सय ३६ यात्रुको रकम फिर्ता](https://annapurnapost.prixacdn.net/media/albums/rakam-_20191015060751_BlG4KqUVlV.jpg)
उदयपुर : सवारी साधनबाट ठगिएका उदयपुरका १ सय ३६ यात्रुलाई जिल्ला ट्राफिक कार्यालयले रकम फिर्ता गरिदिएको छ । चाडबाडको मौका छोपी सरकारले तोकेभन्दा बढी यात्रुसँग भाडा असुल्ने १० सवारी साधनलाई ट्राफिक प्रहरीले छड्के चेकजाँचका क्रममा नियन्त्रणमा लिई २० हजार १ सय रकम फिर्ता गरिदिएको हो।
प्रहरीले विभिन्न संघको टिकट काटी यात्रुसँग बढी भाडा असुल्ने, टिकट काटी यात्रुलाई अलपत्र पार्ने त्रियुगा नगरपालिका ११ का ५० वर्षीय बाबु राई, सोही ठाउँका ३५ वषीय राजु थापा, ३५ वर्षीय विमल बस्नेत, वडा नं ६ का ३३ वर्षीय बिरेन्द्रकुमार बस्नेत र सप्तरी सुरुङ नपा १ का २९ वर्षीय भोजराज पौडेललाई नियन्त्रणमा लिई छाडिएको ट्राफिक प्रहरी इन्चार्ज दिनेशकुमार चौधरीले जानकारी दिए।
१५ दिनको अवधिमा सरकारले तोकेको भाडाभन्दा बढी लिएको र जथाभावी कम्पनीको नाममा टिकट काटी यात्रुलाई ठगि गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान पछि यातायात नियमावलीअनुसार जरिवाना गरी पुनः नदोहोर्याउने शर्तमा छाडिएको उनले बताए ।
ट्राफिक प्रहरीले नियम उल्लंघन र लापरवाही गर्ने ६ सय १६ सवारी साधनबाट ३ लाख ५७ हजार ५ सय रुपैयाँ राजश्व असुली गरेको जनाएको छ ।यसरी कारवाहीमा पर्नेमा कागजपत्र साथमा नबोकेका २ सय ५७ यात्रुबाट १ लाख १९ हजार, लापरवाही गरी सवारीसाधन चलाउने २ सय १५ चालकबाट १ लाख २६ हजार, क्षमताभन्दा बढी यात्रु तथा मालसामान बोकेको १ सय १ यात्रुबाट ६६ हजार ५ सय जरिवाना गरिएको ट्राफिक प्रहरी हवल्दार भेषबहादुर थापाले बताए।
त्यसैगरी बिना रुढ इजाजत बेगर सवारी चलाएको १२ यात्रुबाट १५ हजार, सवारी चालक अनुमती बेगर संचालनमा ल्याइएका ३० जनाबाट ३० हजार र मादकपदार्थ सेवन गरी सवारी चलाउने १ जनाबाट १ हजार राजश्व असुली गरेको उनले बताए ।
उनीहरु सबैलाई जिल्ला ट्राफिक कार्यालयबाट विभिन्न ठाउँमा खटिएको टोलीले चेकजाँचका क्रममा फेला पारी कारवाही गरिएको उनको भनाई छ । दसैंअघि स्थानीय प्रशासन, व्यवसायी र सरोकारवाला निकायको समन्वयात्मक बैठकले तोकेको भाडाभन्दा बढी भाडा नलिने सहमति भएपनि व्यवसायीले आफूखुशी गर्न थालेपछि चेकजाँच र कारवाहीलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले बताए ।
दसैं मनाएर राजधानी काठमाडौं फर्किने क्रममा सवारी साधनले मन लाग्दी भाडा असुल्ने गरेको यात्रुहरुको भनाई छ। सरकारले गाईघाटदेखि काठमाडौंको भाडा ८ सय ८९ रुपैयाँ कायम गरेकोमा व्यवसायीले १ हजार ४ सयसम्म लिने गरेको पाइएको ट्राफिक हबलदार तिलक पौडेलले बताए।उनले भने, 'बस एउटा टिकट अर्कैको दिइएको पाइयो भने कतिले रिजर्भको बोर्ड टास्दै बढी भाडा असुलेको देखियो।'
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)