कसरी अर्कैको मिर्गौला प्रत्यारोपण गरियो ?

कसरी अर्कैको मिर्गौला प्रत्यारोपण गरियो ?

काठमाडौं : एक व्यक्तिलाई तयार पारेर अर्कैको मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले ललितपुरस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विपेन्द्र प्रधानसिहत पाँचजनालाई पक्राउ गरेको छ। 

एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्ने स्वीकृति लिएर रामेछाप दोरम्बा घर भई हाल स्वयम्भू बस्दै आएका शंकरलाल लामालाई अर्कैको मिर्गौला प्रत्यारोपण गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा अस्पतालका कानुनी अधिकृत कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले र मिर्गौला ग्रहरण गर्ने लामा रहेका नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ। 

ब्यूरोले उनीहरूलाई बुधबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो। ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार लामाबाहेक चारै जनता अस्पतालको मिर्गौला प्रत्यारोपण गर्न स्वीकृति दिने समितिमा थिए। 

बुधबार पक्राउ परेका पाँचै जनामाथि मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। १८ भदौमा यस सम्बन्धि समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।   
  
‘आर्थिक प्रलोभनमा पारेर मिर्गौला झिकियो’
लामा मिर्गौला प्रत्यारोपणका लागि केही समयअघि निदान अस्पताल पुगे। अस्पतालमा आफन्तबाट मिर्गौला नाता प्रमाणित गरे पुग्ने जानकारी पाए। नाता बाहिरबाट पनि लामो कानुनी प्रक्रिया हुन्छ। 

त्यसकारण मिर्गौला दिनका लागि लामाले आफ्नै भाञ्जा संजीव घिसिङ तयार पारे। रामेछाप पुगेर भाञ्जासँगको नाता पनि प्रमाणित गरियो। तर, मिर्गौला प्रत्यारोपण गर्ने बेलामा अर्कै एक मजदुरको गरियो। ‘भाञ्जाको नाममा नाता प्रमाणित गरियो। त्यही प्रमाणका आधारमा नक्कली भञ्जा बनाएर ती मजदुरको मिर्गौला झिकियो’, एसपी थपलियाले भने, ‘सबै डकुमेन्ट उनकै उनकै भाञ्जाका नाममा छ तर, अप्रेसनमा लानेबेला अर्कै मान्छे लगियो।’

सबै कागजात लामाकै भाञ्जाको भएको र मिर्गौला दिने व्यक्ति फरक परेपछि अस्पतालमा लामो विवाद भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

‘लामो विवाद हुँदा पनि उसैको फोटो हो तर अहिले दुब्लाएर यस्तो भएको भन्दै टारेछन्’, थपलियाले भने, ‘यो घटना बाहिर मिडियामा आएपछि ढाकछोप गर्न कागजातमा फोटोचाहिँ ती मजदुरको राखियो तर, अन्य सबै विवरण भने बिरामीकै भाञ्जाको थियो।’ 

त्यति मात्रै हैन प्रत्यारोपणपछि कर्तुत बाहिरने डरले ती युवालाई भक्तपुरको एक घरमा ‘बन्धक’ बनाएर राखिएको समेत प्रहरीले दाबी गरेको छ। ‘घटना बाहिर आउने डरले भक्तपुरको गल्लीभित्र रहेको घरको अँध्यारो कोठामा उनलाई लुकाएर राखेको पाइयो’, ब्यूरोका डीएसपी राजकुमार सिलवालले भने, ‘चिसोमा बस्दा उनको स्वास्थ्य अवस्था पनि प्रतिकुल बन्दै गएको रहेछ।’

ती युवा दैनिकी चलाउन दैनिक ज्याला मजदुरी गर्दै आएका थिए। मिर्गौला दिएमा दैनिकी चलाउन पैसा पनि दिने भन्दै उनलाई आर्थिक प्रलोभनमा पारेर मिर्गौला प्रत्यारोपण गराइएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।
 
‘उनको आर्थिक अवस्था निकै कमजोर रहेछ। आर्थिक प्रलोभनमै परेर उनले मिर्गौला दिएको पाइयो’, एसपी थपलियाले भने, ‘अहिलेसम्म उनले बैंकिङ कारोबारमार्फत तीन लाख रुपैयाँ लिएको पाइएको छ। थप पैसा पनि पाएको हुनसक्छ। अनुसन्धान हुँदैछ।’ 

ती युवाले आफ्नो परिवारमा समेत मिर्गौलन दिएको जानकारी नगराएको प्रहरीले जनाएको छ। मिर्गौला जो कोहीले दान गर्न सक्ने भए पनि पैसाको लेनदेनमा मिर्गौला दिन नहुन थपलियाले बताए। ‘ती युवाले मलाई झुक्याएर कहाँ–कहाँ सही गराए थाहा छैन भन्ने प्रतिक्रिया दिएका छन्’, डीएसपी सिलवालले भने। 

यी सबै काम मिलाउने विचौलिया पनि रहेको प्रहरीको आशंका छ। ती विचौलियाले मोटो रकम लिएको हुनसक्ने आशंका प्रहरीको छ। ती विचौलियाको नाम पत्ता लागे पनि अन्य कुनै विवरण पत्ता नलागेको भन्दै प्रहरीले सार्वजनिक गरेन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.