‘समृद्ध कला समृद्ध राष्ट्रको आधार’
केके कर्माचार्य नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति हुन् । ०७५ पुसमा कुलपति नियुक्त भएका कर्माचार्य २०२१ सालदेखि चित्र साधनामा सक्रिय छन् । उनले आफ्ना चित्रमा मूर्त र अमूर्त शैली प्रयोग गरे । कला सिर्जनामा छुट्टै पहिचान बनाउन सफल कर्माचार्य यथार्थवादी कलाकारका रूपमा चिनिएका छन् । हुलाक सेवामा लामो समय काम गरेका कर्माचार्य हुलाक टिकट डिजाइनरका रूपमा पनि प्रख्यात छन् । उनले करिब चार सयको हाराहारीमा हुलाक टिकट डिजाइन गरेका छन् । उनीसँग नेपाली कला, ललितकला प्रज्ञाप्रतिष्ठानका भावी योजना र कामका विषयमा अजवी पौड्यालले गरेको कुराकानी :
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान कसरी चल्दैछ ?
केही चुनौती र अप्ठ्यारो अवस्थामा पनि हामीले धेरै काम सुरु गरेका छौं । ७६, ७७ को बजेट निकासा भर्खर हुँदैछ । यसले गर्दा पनि ठोस काम भइसकेको छैन । कला क्षेत्रको विकास, विस्तार तथा संरक्षण र सम्वद्र्धनका लागि ललितकला प्रज्ञाप्रतिष्ठान स्थापना भएको हो । पुरानै बजेटबाट कीर्तिपुरमा ढुंगा मूर्तिको वर्कसप सम्पन्न भयो । १६ जना कलाकारबाट २५ वटा ढुंगाका मूर्ति कीर्तिपुरमा तयार भएका छन् । कीर्तिपुर नगरपालिकाले आर्ट प्रवद्र्धनका लागि पार्क बनाउन लागेको छ । यी मूर्ति र अन्य आर्ट उक्त पार्कमा सजाइनेछ ।
इन्स्टलेसन, पफरमेन्स जस्ता आर्टका शैलीलाई कसरी लिनुहुन्छ ?
न्यु मिडिया अन्तर्गतका विधामा यी शैली समेटिन्छन् । केहीअघि पफरमेन्स आर्टको प्रदर्शनी र वर्कसप सञ्चालन गरेका थियांै । पोस्चर कम्पिटिसन पनि भएको थियो । सबै विभागले केही न केही काम गरिरहेका छन् । युवा पुस्ताको चाहना समेट्ने कोसिसमा छौं ।
तपाईंका योजना के के छन् त ?
अहिले त हामीसँग आफ्नै छुट्टै भवनसमेत छैन । धेरै कलाकार व्यक्तिगत रूपमा नै कला साधना गरिरहनुभएको छ । सबैभन्दा महŒवपूर्ण कुरा हामीसँग आर्ट ग्यालरी छैन । अन्तर्राष्ट्रियस्तरको आर्ट सो भइरहेको हुन्छ, निकै कलात्मक आर्ट पनि हामीसँग यसै थुप्रिएर बसेका छन् । अस्थायी टहरोमा कार्यालय बनाएर काम गरिरहेका छौं । स्वदेशी तथा विदेशी कलाकारलाई देखाउन ग्यालरीको अभाव छ । नेपाल आर्ट काउन्सिलकै भवनका कार्यक्रम गर्नुपर्ने बाध्यता छ । सातै प्रदेशमा ललितकला प्रतिष्ठानको शाखा खोलेर स्थानीय तहसँग पनि जोडिने योजना छ ।
कलाको पवित्र धरोहर ललितकलाको आँगनमा सबै कलाकार किन अटाउँदैनन् ?
आआफ्नो ढंगबाट अगाडि बढ्न खोज्नु मानवीय स्वभाव हो । यो हरेक क्षेत्रमा हुन्छ । हामीले आर्ट र सिर्जनासँग सम्बन्धित सबै समूह र व्यक्तिलाई समेट्ने कोसिस गरेका छौं । संस्थाले मान्छे खोज्दै हिँड्नेभन्दा पनि सिर्जनात्मक क्षमता भएकाहरू हामीसँग सहकार्यमा आउनुभयो भने दुवैलाई सजिलो हुन्छ । विभिन्न देशमा हुने कार्यक्रममा जान तथा नेपालकै विविध ठाउँमा कलाका कार्यक्रम गर्न पनि सम्बन्धित व्यक्ति हामीसँग सहकार्य गर्न आउनुहुन्छ । व्यक्तिगत रूपमा सबै कलाकारलाई आर्थिक सहयोग गर्न सक्ने अवस्थामा प्रतिष्ठान छैन । अन्य सहयोगका लागि हामी सधैं कटिबद्ध छांै ।
ललितकला प्रज्ञाप्रतिष्ठानले आयोजना गर्ने अधिकांश कार्यक्रम चित्रकारितासँग सम्बन्धित हुन्छ नि ? आर्ट भनेको चित्र बनाउनु मात्रै हो ?
चित्रकारिताको माध्यमबाट कलाकारले आफ्नो दृष्टिकोण एक्सप्रेसन गर्न सक्छ । विश्वभर नै यसको व्यापकता देखिन्छ । हस्तकला, मूर्तिकलामा आबद्ध हुनेभन्दा चित्रकारितामै लाग्ने कलाकारको संख्या बढी छ । यसको क्षेत्र पनि व्यापक छ । पछिल्लो समय चित्रको बिक्री पनि बढिरहेको छ । चित्र बेचेरै लाखौं कमाउने कलाकार पनि नेपालमा छन् । मूर्तिकला र हस्तकलाका कार्यक्रम पनि भइरहन्छ । हस्तकलाबाट उत्पादित सामग्री उल्लेख्य मात्रामा विदेश निर्यात हुन्छ । पछिल्लो समय नेपाली कलाकारले बनाएका मूर्तिको माग बढ्दो छ ।
विश्व कलाका आधारमा नेपाली कलाको स्थान कहाँ छ ?
परम्परागत चित्रकला हुन् या आधुनिक शैलीका आर्ट, विश्वका कलाकारको तुलनामा हामी पनि कम छैनांै । गुणात्मकताका दृष्टिले नेपाली कलामा परिपक्वता कमी छ । लामो समयदेखि कला साधनामा लागेका उत्कृष्ट कलाकार पनि नेपालमा छन् । आम्दानी गर्न सकिने क्षेत्रका रूपमा कला पछिल्लो समय विकास भइरहेको छ । हाम्रो कलाको इतिहास पुरानो हो तर हामीसँग अभिलेख र लेखाजोखा छैन ।
सरकारले कस्तो भूमिका खेल्नुपर्छ ?
विकसित मुलुकमा सरकारले नै कलालाई प्रमोट गरेको देखिन्छ । पर्यटक घुम्न जाँदा त्यहाँका ग्यालरी घुम्ने, कला र संस्कृति देखाउने गरिन्छ । नेपालले विदेशीलाई तान्ने भनेकै कला, संस्कृति, अनेकन चालचलन र रीतिरिवाज नै हो । तसर्थ कलाको विकासका लागि सरकारले प्रभावकारी कदम चाल्नु आवश्यक छ । सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाउँदै गर्दा कला र संस्कृतिमा पनि काम गर्नुपर्छ ।
नेपाल घुम्न काठमाडौं ओर्लंदै गरेको पर्यटकले एअरपोर्टको भित्तामा पेन्टिङ हेर्न पाउने गरी प्रदर्शनीमा राख्न पहल गरिरहेका छौं । एअरपोर्टमै खुला ग्यालरीको व्यवस्था गर्न सके आन्तरिक तथा बाह्य पर्यटक कलासँग प्रत्यक्ष जोडिन पाउँथे ।
आर्ट भिलेज पनि जरुरी छ जहाँ सबै कलाकार बस्न सक्छन् । एउटा यस्तो गाउँ जहाँ गएर कलाकारले चित्र बनाउन सकून्, कलाको अन्तरक्रिया गर्न सकून्, कलाकारिताबाट उत्पादन भएका सामग्रीको किनबेच हुने व्यवस्था होस् ।