स्क्रब टाइफस फैलिँदै
बैतडी : बैतडीको सुर्नया गाउँपालिका ६ का हरिश अवस्थीलाई गत महिना एक्कासी ज्वरो आयो। स्थानीय स्वास्थ्य चौकीमा गरेको औषधोपचारले सञ्चो नलागेपछि उनी डडेल्धुरा अस्पतालमा पुगे। डडेल्धुरा अस्पतलामा चेकजाँच गर्दा उनलाई स्क्रब टाइफस भएको पुष्टी भयो।
स्क्रब टाइफसको पुष्टी भएपछि उनी औषधि सेवनले निको भए। जिल्लाको पाटन नगरपालिका ४ की हेमन्ती भट्ट (नाम परिवर्तन) लाई गएको हप्तादेखि ज्वरो आयो। नजिकको स्वास्थ्य संस्थाको औषधि ज्वरो नरोकिएपछि उनी उपचारका लागि जिल्ला अस्पताल बैतडी पुगिन्। त्यहाँ चेकजाँच गर्दा उनलाई पनि स्क्रब टाइफस भएको पुष्टी भयो। उनी अहिले पनि उपचारमै छन्। असारयता बैतडीमा ३९ जनामा स्क्रब टाइफसको संक्रमण भएको पुष्टी भएको छ।
जिल्ला अस्पताल बैतडी र डडेल्धुरामा उपचारका लागि पुगेका नागरिकमा स्क्रब टाइफसको संक्रमण देखिएको हो। गएको जेठ यता सुदूरपश्चिमका विभिन्न जिल्लाका २३७ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार सबैभन्दा बढी डडेल्धुरामा ३९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो। बैतडीमा ३९, कैलालीमा ६४, कञ्चनपुरमा १८, अछाममा २, बझाङमा ९, बाजुरामा १, दार्चुलामा ५ र डोटीमा ८ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो।
मुसामा हुने किर्ना अर्थात् माइटका कारणले मानिसमा स्क्रब टाइफस सर्ने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। उनले भने, ‘पछिल्लो समयमा पहाडी जिल्लामा पनि स्क्रब टाइफसको संक्रमण बढ्दै गएको छ। यसका बिरामी बढ्ने क्रम अझै पनि जारी रहेको छ।’
बैतडीको सबैभन्दा बढीमा पाटनमा २३ जनामा स्क्रब टाइफस देखिएको छ। सुर्नया गाउँपालिकाका ८, सिगासका ६ र पुरचौंडी नगरपालिका तथा पञ्चेश्वर गाउँपालिकाका एक जनामा स्क्रब टाइफसको संक्रमण देखिएको भट्टले जानकारी दिए।
पछिल्लो समयमा स्क्रब टाइफस जाँच गर्ने किट उपलब्ध भएपछि जिल्ला अस्पताल बैतडीमा स्क्रब टाइफसका बिरामीको पहिचान हुन थालेको जिल्ला अस्पतालका प्रमुख डा. जगदीशचन्द्र बिष्टले जानकारी दिए। ‘पहिला पनि हामी लक्षण र चिह्नका आधारमा उपचार गर्दै आएका थियौं। अहिले किट उपलब्ध भएपछि उपचारमा सजिलो भएको छ’, उनले भने, ‘समयमै बिरामी अस्पतालमा पुग्न सके स्क्रब टाइफस सजिलै निको हुन्छ। तर बिरामी थलिएर अस्पतालमा पुगेमा उपचारमा पनि समस्या हुने गर्दछ।’
स्क्रब टाइफसको संक्रमण भएमा ज्वरो आउने, शरीरमा रात दाग देखिने, टाउको दुख्ने लगायतका लक्षण देखा पर्ने गरेका छन्। यो रोगबाट बच्न बस्दा खाली जमीनमा बस्न नहुने, झाडी र झ्याङहरूमा जाँदा बुट लगाएर जाने गरेमा यो रोगमा कमी आउने स्वास्थ्यकर्मीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !