किसानले पाएनन् उखुको अनुदान

किसानले पाएनन् उखुको अनुदान

सिरहा : नरहा गाउँपालिका ३ मा रहेको हिमाल्य सुगर मिल्समा आर्थिक वर्ष ०७५-०७६ मा उखु बेचेका ६ हजार ८ सय ६२ किसानले सरकारी अनुदान अझै पाएका छैनन्। उनीहरूले पाउनुपर्ने ८ करोड ४१ लाख ६७ हजार रुपैयाँ मन्त्रालयबाट निकासा नै भएको छैन। किसान दैनिकजसो मिल्स धाउँदै आएका छन्। अनुदान रकम नपाउँदा उनीहरूलाई गर्न समस्या भएको छ।

मिल्समा ०७५-०७६ मा सिरहा, धनुषा, सर्लाही, सप्तरी र महोतरीका किसानले १२ लाख ८९ हजार ३ सय २६ क्विन्टल उखु बेचेका छन्। किसान, चिनी उद्योग र सरकारबीचको सम्झौतापछि गत वर्ष उखुको मूल्य ५ सय ३६ रुपैयाँ ६४ पैसा प्रतिक्विन्टल मूल्य तय गरेको थियो। यसमध्ये चिनी मिलले ४ सय ७१ रुपैयाँ २८ पैसा र सरकारले ६५ रुपैयाँ ३६ पैसा अनुदान दिँदै आएको थियो।

मिल्सले खुद भुक्तानी गर्ने रकम समयमै पाए पनि सरकारी अनुदानको अझै नपाएको नरहा गापा ३ खोरिया टोलका किसान ताहिर मियाँले गुनासो पोखे। उनले गत वर्ष २६ सय क्विन्टल उखु बेचेका थिए। ‘खेती गर्न मजदुर, मल खाद्य नगदी लाग्छ तर, उधारोमा बिक्री गर्नुपर्छ’, उनले भने, ‘मिल्सबाट उखु बेचेको ६ महिनामै पैसा पाए तर सरकारी अनुदान पाएको छैन।’

सरकारी अनुदान रकम पाउन झन्झटिलो प्रक्रिया भएको सोही ठाउँका अर्को किसान साहिद अन्सारीले बताए। ‘जग्गा ठेक्का लिएर खेती गरे। लगानी लाग्यो तर, उखु बेचेको अनुदान पाएको छैन्’, उनले भने, ‘न उखु गरेर उभो लाग्यो न त अन्य बाली।’ बर्सेनि ऋण सापटी लिएर खेती गर्नुपरेको उनले सुनाए। यहाँका उखु बेचेका किसानको आर्थिक वर्ष ०७४-०७५ को पनि ५३ लाख रुपैयाँ सरकारी अनुदान बाँकी छ।

आफूहरूले किसानको सम्पूर्ण विवरण कोष तथा लेखा नियन्त्रण कार्यालय र प्रमुख जिल्ला अधिकारी समक्ष बुझाइसकेको मिलका उखु महाप्रबन्धक अवधकिशोर यादवले बताए। ‘मिल्सले दिने रकम ०७६ असार मसान्तमै भुक्तानी गरिसकेका छौं। सरकारी अनुदान नपाएर किसान दैनिक ताकेदा गर्न आउँछन्’, उनले भने,‘हामीले सरकारी निकायमा विवरण पठाइ सकेको छौं।’

मिल्सले उपलब्ध गराएको विवरणअनुसार कृषि तथा पशुपंक्षी मन्त्रालयमा अनुदान रकमको लागि सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। ‘किसान विवरण प्राप्त भएको सोही आधारमा सिफारिस गरिएको छ’, उनले भने। मन्त्रालयबाट निकासा आए किसानको खातामा रकम पठाउने कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाका प्रमुख कोष नियन्त्रक राधेश्याम गिरीले बताए।

 मिल्सलाई उखु अपुग

यहाँका मिल्सलाई दैनिक २५ हजार क्युन्टल उखु आवश्यक पर्छ तर उत्पादन त्यति भइरहेको छैन्। ३ महिना मात्रै उत्पादनले धान्दै आएको उखु महाप्रबन्ध यादवले बताए। ‘कम उखु उत्पादन भएपछि खेती बढाउन किसान सहुलियत प्रदान गर्दै आएको छ’, उनले भने, ‘मल, कृषि उपकरण र विषादीमा सहयोग गर्दैछौं।’

मिल्ससँग समन्वय गरेर खेती गरिरहेका किसानलाई प्रतिबिघा एसएसपी मल २ बोरा, सडक पुगेको खेतमा थप १ बोरा युरिया, बीउ उपचारको औषधि निःशुल्क दिने गरेको यादवले बताए। यसैगरी मिल्सले कृषि उपकरणमा २५ प्रतिशत छुट दिने र बीउ बैंकमा निरब्याजी उखु राख्ने गरेको छ। यसवर्ष खेतीका लागि सात जना जेटीए (प्राविधिक) र २३ किसान गरी ३० जनालाई भारत तालिममा पनि पठाएको उनले सुनाए। सिरहामा ९० हजार बिघा खेतीयोग्य जग्गामध्ये हाल ३५ सय बिघामा उखुखेती हुने गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.