लाजमर्दो सरकारी सेवा
बर्दिबास : भाडामा लिइएको सरकारी कार्यालयको सानदार पक्की घर छ। सेवाग्राहीलाई सेवा दिन कर्मचारी पनि सधैं आउँछन्। तर चार वर्षदेखि सेवाग्राही भने रित्तै हात फर्किन बाध्य छन्।
यस्तै लाजमर्दो अवस्था छ, महोत्तरीको बर्दिबासस्थित नापी कार्यालयको। सेवा दिन नसकेपछि कर्मचारीले झुन्डिएको कार्यालयको बोर्ड झिकेर कार्यालयभित्र राखेका छन्। नापीको सेवा दिन सेवाग्राही ४२ किलोमिटर टाढा जलेश्वर जान बाध्य छन्। १७ जेठ २०७२ मा नापी कार्यालय बर्दिबासको स्थापना भयो। नक्सा, पल्टबुक, श्रेस्ताजस्ता कागजपत्र कार्यालयमा छैनन्। निमित्त कार्यालयका प्रमुख राजकुमार पौडेल भन्छन्,‘ चार वर्षदेखि मासिक ३७ हजार घर भाडा तिर्दै आएका छौं। तर सेवाग्राहीले सेवा पाएका छैनन्।’ १५ जना कर्मचारीको दरबन्दी छ। काम नभएपछि बसेरै दिन काट्छन् कर्मचारी।
नापी कार्यालय बर्दिबासको कागजपत्र जलेश्वरमै छन्। जलेश्वर कार्यालयले बर्दिबासलाई कागजपत्र दिन मान्दैन। राजनीतिक सहमति नहुँदा नक्सा, पल्टबुक र श्रेस्ता आदि बर्दिबास आउन नसकेको हो। चार वर्षमा कार्यालयमा दुईजना कार्यालय प्रमुख काम नगरी सरुवा भएका छन्। २०७२ जेठ १७ गते दिनेशप्रसाद शर्मा प्रमुख भएर आए। सेवा दिन नपाएकोमा सेवाग्राहीको सामू लज्जित हुँदै २०७४ फागुन १९ गते सरुवा भएर गए।
शर्मा गएपछि सरोजबहादुर श्रेष्ठ आए। कागजपत्र ल्याउन पहल गर्दै गर्दा २०७६ साउन ३ मा नापी सर्वेक्षक राजकुमार पौडेललाई निमित्त कार्यालय प्रमुखको जिम्मा लगाउँदै नापी कार्यालय सिन्धुली सरुवा भए। २०७१ वैशाख १० गते सरकारले बर्दिबासमा नापी कार्यालय र मालपोत कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। मालपोतको सेवा बर्दिबासमा सञ्चालनमा छ। तर नापीको सेवा लिन स्थानीय जलेश्वर धाउन बाध्य छन्। बर्दिबासबाट जलेश्वर ४२ किलोमिटर टाढा पर्छ। ‘वर्षामा सडक हिलाम्य हुन्छ। हिउँदमा धुलाम्य हुन्छ। बाटोमा खाल्डैखाल्टा छन्’, बर्दिबास नगरपालिका–९ पशुपतिनगरका राजकुमार परियारले भने, ‘कित्ताकाट गराउन जलेश्वर जानुपर्छ, जग्गा रजिष्ट्रेसन गराउन बर्दिबास फर्किनु पर्छ। एक दिनमा हुने काममा पाँच दिनमा पनि हँुदैन। हदैसम्म सास्ती छ।’
नापीको सेवा लिन जलेश्वर पुग्ने सेवाग्राहीको दु:खै–दु:ख छ। राजकुमारका छिमेकी उपेन्द्र महतो भन्छन्, ‘कर्मचारीलाई भेटी चढाउनु पर्छ। नास्तापानी खान घुस नदिए काम अड्काइदिन्छन्। भोलि भन्दै घर फर्काइदिन्छन्।’ फेरि जानुभन्दा सेवाग्राहीले घुस खुवाउन बाध्य हुने गरेको उनले सुनाए। बर्दिबास नगरपालिकाको पशुपतिनगर, किसाननगर, बिजलपुरा, बर्दिबास, गौरीबास, खयरमारा, माइस्थान, हात्तिलेट र भंगहा नगरपालिकाको सीताभंगहा गाउँका स्थानीयलाई लक्षित गर्दै बर्दिबासमा नापी कार्यालयको स्थापना गरिएको हो।
‘नापी कार्यालयको त बेइज्जत भयो’, निमित्त प्रमुख पौडेल भन्छन्, ‘कार्यालय आएको दुई वर्ष पुग्न लागेको छ। केही काम गर्न पाएका छैनौं। एक प्रकारले सेवाग्राहीले दु:ख त पाएकै छन्, हामीलाई सजाय नै दिएजस्तो भयो।’ कात्तिक महिनाभित्र कागजपत्र आइपुग्ने गरी पहल थालिएको बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले बताए।
जलेश्वरमा यातायात व्यवस्था सेवा कार्यालयको सेवा, करदाता सेवा कार्यालय युनिट स्थापना गर्न र नापी कार्यालय बर्दिबासको कागजपत्र जलेश्वरबाट बर्दिबास पठाउन बर्दिबास, जलेश्वर र मठिहानी नगरपालिकाले एकअर्कालाई सघाउने निर्णय भएको मेयर कार्कीले जनाए।
प्रतिक्रिया दिनुहोस !