कर्णालीका कारागार जीर्ण
सुर्खेत : गत चैत १९ गते राति एक्कासी डोल्पास्थित कारागारको पर्खाल भत्कियो। अग्लो पर्खाल भत्किएपछि कैदीहरू ज्यान जोगाउन सुरक्षित ठाउँतिर दौडिए। ०२५ सालमा बनेको उक्त भवन भत्किएला भन्ने त्रासमा कैदीहरू रातभर जाग्राम बसे। रुकुमपश्चिमको जिल्ला कारागारको अवस्था पनि दयनीय छ। ०४३ सालमा निर्माण गरिएको कारागारको कच्ची भवन वर्षा हुनेबित्तिकै चुहिन्छ। द्वन्द्वकालमा बेवारिसे छाडिएको यो कारागार शान्ति स्थापनासँगै ०६३ मा पुनःस्थापना भएको थियो। बेवारिसे छाडिएको यो कारागारको मर्मत तथा सुधार गरिएको छैन। जसकारण भवन कुनै पनि बेला भत्किने खतरा छ। तैपनि, यही भवनमा राखिएका कैदी राम्रोसँग निदाउन सकेका छैनन्।
कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत कारागारको अवस्था झन् बिजोग छ। पुरानो र जीर्ण भवनमा कैदी र थुनुवालाई कोचेर राखिएको छ। जीर्ण भवनले नपुगेपछि यहाँका कैदी वर्षौंदेखि कारागार परिसरभित्रै त्रिपाल टाँगेर बस्न बाध्य छन्। कारागारको यस्तो हालत हुँदा पनि ४६ वर्षदेखि मर्मत हुन सकेको छैन। ०२९ सालमा निर्माण भएको सुर्खेत कारागार जीर्ण बनेपछि जोखिम बढ्दै गएको हो। व्यवस्थित भवन अभावमा यहाँका कैदी त्रिपालमुनि रात काट्न बाध्य छन्।
कर्णालीका अधिकांश कारागारको हालत यस्तै छ। हावाहुरी चल्दा होस् या आकाशमा कालो बादल मडारिँदा। यहाँका कैदीलाई भवन भत्किने चिन्ताले सताउँछ। जीर्ण भवनमै क्षमताभन्दा बढी कैदी राखिएका छन्। यही कारण बेलाबेलामा यहाँका कारागारभित्रै कैदीबीच झडप नै हुने गरेको छ। कमजोर र जीर्ण भौतिक संरचनाका कारण कैदीहरू कारागार नै तोडेर भाग्ने घटना दोहोरिने गरेका छन्। सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुमपश्चिम, डोल्पा, कालिकोटर जुम्लाका कारागारमा शौचालयदेखि खानेपानीसम्म अभाव छ। यसले कैदीलाई दैनिक जीवनयापनमा पनि कठिनाइ हुने गरेको हो।
जीर्ण कारागार भवनमा क्षमताभन्दा दोब्बर कैदी र थुनुवा छन्। जाजरकोटका कारागारका जेलर तेजविक्रम शाहले २५ जना क्षमताको कारागारमा ५२ जना रहेको बताए। सोही क्षमताको डोल्पा कारागारमा क्षमताभन्दा बढी ४१ कैदी छन्। भवन अभावकै कारण महिला कैदीलाई नजिकै रहेका जिल्लामा पठाउनुपर्ने बाध्यता रहेको जेलर दिनेश राउतले बताए। रुकुमपश्चिममा पनि एक सय आठ जना कैदी छन्। जेलर गौमत पुनका अनुसार यो कारागार जम्मा २५ जना क्षमताको हो। सल्यान कारागारमा पनि क्षमताभन्दा तेब्बर कैदी छन्। जेलर बलबहादुर केसीले २५ जनाको क्षमता भए पनि यहाँ एक सय २५ जना कैदीबन्दी रहेको जानकारी दिए।
२५ जनाको मात्र क्षमता भएको कालिकोट कारागारमा ४६ जना कैदी छन्। डीएसपी श्यामबाबु ओलियाले भवन अभावमा क्षमताभन्दा बढी कैदी राख्नुपर्ने बाध्यता रहेको बताए। दैलेख कारागारमा पनि क्षमताभन्दा बढी एक सय ३७ कैदी छन्। जुम्ला कारागारमा भने खानेपानीको निकै समस्या रहेको जेलर गयाप्रसाद पाण्डेले सुनाए। यस्तै, सुर्खेत कारागारको क्षमता ५० जना अट्ने छ। तर, यहाँ दुई सय २७ जना कैदी र थुनुवा छन्। क्षमताभन्दा बढी कैदी हुँदा समस्या भएको कारागार प्रशासनले जनाएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कालिकोट र रुकुममा कारागार निर्माणका लागि चाँडै टेन्डर हुने बताए। मन्त्री भण्डारीले भने, ‘अबको केही महिनाभित्रै सबै कारागारका भवन निर्माण प्रक्रिया अगाडि बढ्नेछ।’